गत १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मकवानपुरका चारजनाको मृत्यु भएको छ भने ५८ जना बेपत्ता छन्। विपतमा परेका जिल्लाका ४५ जनाको उद्धार भएको छ।जिल्ला विपत् व्यवस्थापन समिति मकवानपुरले असोज २ गतेसम्म अद्यावधिक गरेको एकीकृत प्रतिवेदनअनुसार भदौ १० गतेको विपतमा जिल्लाका विभिन्न स्थानीय तहका चारजनाले ज्यान गुमाएका हुन्। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिकाका तीन र भीमफेदी गाउँपालिकाका एकजना छन्।
मृत्यु हुनेमा हेटौँडा- ५ का उद्धव खड्का, हेटौँडा- १५ का सुमन गोले र रमेश मगर तथा भीमफेदी गाउँपालिका–२, तिलटारका २८ वर्षीय सबिन राना छन्। विपतपछि जिल्लाका विभिन्न स्थानीय तहबाट प्राप्त विवरण एकीकृत गर्दा ५८ जना अझै बेपत्ता रहेको पाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।
हेटौँडा र थाहाका मात्रै ४१ जना बेपत्ता
जिल्लामा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकाका २१ जना बेपत्ता छन्। हेटौँडापछि थाहा नगरपालिकाका सबैभन्दा धेरै २० जना बेपत्ता छन्। थाहाका विभिन्न वडाबाट रसुवाको टिमुरे र घट्टेखोला क्षेत्रमा पुगेका नागरिक विपद्पछि बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरको प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रतिवेदनमा बेपत्तामध्ये कतिपय सवारीचालक, कामदार तथा रोजगारीका सिलसिलामा रसुवा पुगेका व्यक्ति रहेको उल्लेख छ। यस्तै, बेपत्ता हुनेहरूमा मनहरी गाउँपालिकाका चार, मकवानपुरगढी र बकैया गाउँपालिकाका तीन–तीनजना रहेका छन्। यसैगरी भीमफेदी, इन्द्रसरोवर र कैलाश गाउँपालिकाका दुई–दुई जना तथा राक्सिराङ गाउँपालिकाका एकजना बेपत्ता रहेको प्रतिवेदनमा उल्लेख छ। बाढीपहिरोमा परेका मकवानपुरका ४५ जनाको विभिन्न स्थान र निकायबाट उद्धार भएको छ।