महाकाली नदीमा बेपत्ता भएका कञ्चनपुरका एक बृद्धको सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ। बुधबार महाकालीमा बेपत्ता भएका दोधाराचाँदनी नगरपालिका– ९ का ७२ वर्षीय मानबहादुर गुरुङको जीवितै उद्धार गरिएको हो।
देउरालीघाट क्षेत्रबाट महाकालीमा डुबेका गुरुङलाई सशस्त्र प्रहरी बलले उद्धार गरेर अस्पताल पुर्याएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हे.क्वा शैलेश्वरीका गणपति एसपी प्रेमप्रकाश सिग्देलका अनुसार बिहान १०ः५० बजेतिर गुरुङ बेपत्ता भएको खबरपछि खटिएको सशस्त्रको टोलीले ११ः५५ बजेतिर जीवितै फेला पारेर दोधारा नगर अस्पताल पुर्याएको हो।
डिएसपी प्रभातकुमार गौतमको नेतृत्वमा खटिएको विपत् व्यवस्थापन टोलीले वृद्धलाई उद्धार गरेर अस्पताल पुर्याएको थियो। नदीकिनारमा भेटिएको चप्पलका आधारमा सशस्त्रले खोजीकार्य गरेको थियो।