उद्योगमन्त्रीमा दीपक साह, राष्ट्रपतिले गराए शपथ
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई शपथ गराएका हुन्।
ग्यास उद्योगीलाई पाता कस्नुपर्ने विवादित अभिव्यक्ति दिएपछि गौरीकुमारी यादवले आज बिहीबार पदबाट राजीनामा दिएकी थिइन्। गौरीकुमारीको राजीनामासँगै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले सुनसरीका सांसद साहलाई नियुक्त गरेका हुन्।
बाढीपछिको पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब रुपैयाँ खर्च लाग्ने आकलन
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनअनुसार विपतबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै ४ खर्ब ७३ अर्ब ५७ करोड १९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपत् पुनरुत्थान आवश्यकताको ७५ प्रतिशत हिस्सा हो।
स्वास्थ्य बिमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी
स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा अस्पताललाई २ अर्ब १ करोड ४५ लाख ११ हजार ७४० रुपैयाँ भुक्तानी गरेको छ।
बोर्डले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका ३८३ वटा स्वास्थ्य संस्था तथा अस्पताललाई स्वीकृत दाबीबापत उक्त रकम भुक्तानी गरेको हो। भुक्तानी पाउने संस्थामा विभिन्न जिल्लाका सरकारी, निजी तथा सामुदायिक अस्पताल रहेका छन्।
बागमती प्रदेशका कर्मचारीकाे तलबमान अब संघसरह
बागमती प्रदेश सरकारले संघीय सरकारसँग मेल खाने गरी प्रदेशमातहतका कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिकृत ११औँ तहदेखि कार्यालय सहयोगीसम्मका सबै राष्ट्रसेवक कर्मचारीको तलबमान संघीय सरकारको निर्णयअनुसार कायम गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै संघीय सरकारले हालै लागू गरेको तलब वृद्धिसँग नबाझिने गरी प्रदेशका कर्मचारीको तलबमान निर्धारण गरिएको जानकारी दिए। उनका अनुसार प्रदेशमातहतका कार्यालयमा कार्यरत कर्मचारीले संघीय सरकारसरह तलब सुविधा पाउने गरी निर्णय गरिएको हो।
भदौभित्रै कृष्णभिरमा यातायात सञ्चालन गर्ने सरकारकाे लक्ष्य, निर्माण तीव्र
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा अवरुद्ध सडक भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने लक्ष्यसहित सरकारले निर्माण कार्य तीव्र पारेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधन गर्दै भदौ मसान्तसम्ममा कृष्णभिरको सडक निर्माण सम्पन्न गरी यातायात सहज बनाउने लक्ष्य रहेको बताएका थिए। सोही लक्ष्यअनुसार निर्माण कार्यलाई तीव्रता दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कृष्णभिरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी परिचालन गरिएको छ। निर्माण क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालले फ्लडलाइट जडान गरिदिएपछि रातको समयमा समेत काम भइरहेको छ। हाल दैनिक १२ देखि १४ घण्टासम्म निर्माण कार्य भइरहेको जनाइएको छ।
नयाँ ट्रयाक निर्माणसँगै पहिरो रोकथामका लागि सडकको माथिल्लो र तल्लो दुवै भागमा काम भइरहेको छ। साथै, पृथ्वी राजमार्गका अन्य पाँच स्थानमा गएको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन गर्ने काम पनि समानान्तर रूपमा अघि बढाइएको छ।
जलवायु न्यायको माग गर्दै प्रदर्शन (तस्बिरहरू)
राष्ट्रिय जेन–जी नागरिक अभियानले काठमाडौंमा जलवायु न्यायको माग गर्दै प्रदर्शन गरेको छ । प्लेकार्डसहित माइतीघर मण्डलामा भेला भएर अभियानमा संलग्न रहेकाहरूले जलवायु न्यायका लागि प्रदर्शन गरेका हुन् ।
यही महिना गएको भोटेकोशी बाढी अन्य देशका कारण उत्पन्न जलवायु परिवर्तनका कारण भएको र यसको मारमा नेपाल परेको भन्दै उनीहरूले क्षतिपूर्ति माग गर्दै प्रदर्शन गरेका हुन् ।
आजको मन्त्रिपरिषद् बैठकले के निर्णय गर्यो ?
आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको विदेश भ्रमण स्वीकृत गर्ने, मिटरब्याजसम्बन्धी विधेयकलाई सैद्धान्तिक स्वीकृति दिने, विभिन्न स्थानीय तहका गरिब घरपरिवारको सूची स्वीकृत गर्ने तथा कर्मचारी सरुवा, बढुवा र नियुक्तिको निर्णय गरेको छ।
अस्पताल परिसरबाहिर प्रसूति घटना छानबिन गर्न समिति गठन
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति जिल्ला प्रशासन कार्यालय सप्तरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
घटनाको विस्तृत छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न तीन सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।
कोरला नाकाबाट ढुवानी गरी जिडब्ल्युएमका ‘ओरा ५’ र ‘जोलियन म्याक्स इभी’ डेलिभरी सुरु
नेपालमा जिडब्ल्युएमको आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालिले ओरा ५ इभी र हावाल जोलियन म्याक्स इभीको डेलिभरी प्रक्रिया अघि बढाएको छ। कम्पनीले बुकिङ गरेका ग्राहकसम्म गाडी पुर्याउने तयारी तीव्र बनाएको जनाएको छ।
भोटेकोशी बाढीका कारण रसुवागढी नाकातर्फको सडकमार्ग प्रभावित भएपछि गाडी ढुवानीमा वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गरिएको कम्पनीले जनाएको छ। यसबाट सडक अवरोधका बिच पनि गाडीको ढुवानी तथा डेलिभरी प्रक्रिया निरन्तर राख्न सहज भएको कम्पनीको भनाइ छ।
नेप्से १३ अंकले घट्दा चार अर्बको सेयर कारोबार
बिहीबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से १३.८५ अंकले घटेर दुई हजार ५३१.५५ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २.४० अंकले घटेको छ।
नेप्सेसँगै कारोबार रकममा समेत सामान्य गिरावट आएको छ। बुधबार चार अर्ब १९ करोडको सेयर खरिद–बिक्री भएकोमा बिहीबार चार अर्ब नौ लाखमा सीमित भएको हो। आज ३४१ कम्पनीका एक करोड पाँच लाख कित्ता सेयर किनबेच भए।