भाेटेकाेशी बाढीपीडितलाई सिन्धुपाल्चोक प्याब्सनकाे १० लाख सहयोग

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)  सिन्धुपाल्चोकले भाेटेकाेशी बाढीपीडितका लागि १० लाख ४८ हजार पाँच  सय सहयोग गरेकाे छ  ।

उक्त रकम केन्द्रीय प्याब्सनको खातामार्फत  प्रधानमन्त्री दैवीप्रकोप उद्धार काेषमा जम्मा हुनेछ । बाढीपीडितका लागि देशभर रहेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले १० कराेड सहयोग गर्ने घाेषणा गरेकाे थियाे। जुन रकम सरकारलाई आजै हस्तान्तरण गरिने कार्यक्रम छ।

सिन्धुपाल्चोक प्याब्सनका अध्यक्ष बुद्धिप्रसाद आचार्यले दिएको जानकारीअनुसार जिल्लामा रहेका १९ विद्यालयमध्ये १७ विद्यालयबाट सहयोग संकलन गरिएको हाे । निजी विद्यालयले संस्थागत रकम संकलन गरेका छन् भने साना बालबालिका र स्टाफले  स्वस्फूर्त सहयोग गरेका छन् ।

विद्यालय स्टाफले पारिश्रमिकबाट रकम कट्टा गरेका र बालबालिकाले  खाजा र पकेट खर्च घटाएर सहयोग गरेकाे आचार्यले बताए । ‘हामीले गरेकाे सानाे सहयोग बाढीमा परेर मृत्यु र बेपत्ता भएका पीडित परिवारसम्म पुग्ने विश्वास लिएका छाैँ,’ आचार्यले भने ।

भाेटेकाेशी बाढीमा परेर अभिभावक  गुमाएका  सिन्धुपाल्चोकका पीडित बालबालिकालाई निजी तथा आवासीय विद्यालयले कक्षा नर्सरीदेखि १० सम्म नि:शुल्क शिक्षा प्रदान गर्ने घाेषणा पनि प्याब्सन सिन्धुपाल्चोकले गरेकाे छ ।

बाढीमा जिल्लाका २३९ व्यक्ति बेपत्ता भएका छन् । प्याब्सनअन्तर्गका विद्यालयमा पढिरहेका २९ बालबालिकाले बाढीमा आफ्ना अभिभावक गुमाएका छन् । ती बालबालिकालाई आवासीय सुविधासहित पूर्णछात्रवृत्ति प्रदान गर्न प्याब्सनले मातहतका विद्यालयलाई निर्देशन गरेकाे छ । त्यसैगरी बाढीमा परेर अभिभावक गुमाएका जिल्लाभरका केही बालबालिकालाई पनि नि:शुल्क शिक्षा प्रदान गर्ने प्याब्सनले बताएको छ ।

सुझावित समाचार