रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार हाल कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात छ। कोषमा जम्मा भएको रकममध्ये नाैवटा वाणिज्य बैंकका खातामा आठ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ रहेको छ।
त्यस्तै, दुईवटा वाणिज्य बैंकका खातामा दुई करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको छ।
बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट एक अर्ब रुपैयाँ राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ।
भोटेकोशी नदीमा आएको बाढीपछि सरकारले प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो। सरकारको आह्वानपछि स्वदेश तथा विदेशबाट प्राप्त सहयोग रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा दाखिला गरिएको हो।
सरकारले कोषमा जम्मा भएको रकमलाई विपत् प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा उपयोग गर्ने जनाएको छ।