- बाढीयता १४ दिनमा तीन सय ६३ उद्धार उडान, राहत सामग्री ल्याएर विभिन्न मुलुकबाट ३२ अन्तर्राष्ट्रिय चार्टर उडान
१० भदौमा रसुवामा गएको भीषण बाढी प्रभावित क्षेत्रमा काठमाडौंबाट सञ्चालित उद्धार उडानमार्फत आठ सय ३३ जना नागरिकको उद्धार गरिएको छ । उद्धार कार्यका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल तीन सय ६३ वटा हेलिकोप्टर उडान गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले रसुवामा भएको विपत्पछि उद्धार तथा राहतका लागि हेलिकोप्टर उडानलाई सहज बनाउन क्यानले नियामकीय प्रावधानमा लचकता अपनाएको बताए । प्राधिकरणले हेलिकोप्टरको अनुमति प्रक्रिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाटै छिटोछरितो बनाउनुका साथै उद्धारबाहेकका चार्टर उडानमा समेत रोक लगाएको छ ।
१० भदौमा रसुवामा ठुलो विपत् भएपछि लाङटाङ, रसुवा, नुवाकोट र त्रिशूली क्षेत्रमा उद्धारका लागि हेलिकोप्टर नै मुख्य हवाईसाधन बनेको छ । उनले भने, ‘लाङटाङमा विगतमा विमानस्थल भए पनि अहिले सञ्चालनमा छैन । उक्त क्षेत्रमा ठुलो विमानस्थल नभएकाले घाइते, यात्रु तथा विपत्मा परेका व्यक्तिको उद्धारमा हेलिकोप्टरको प्रयोग गर्नुपरेको थियो ।’
भुलका अनुसार यसअघि हेलिकोप्टर उडानको अनुमति प्रधान कार्यालयबाट दिने व्यवस्था रहेकामा अहिले त्यसलाई टिआइएमा केन्द्रित गरिएको छ । यसबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै छिटोछरितो उडान अनुमति दिने व्यवस्था गरिएको उनले बताए ।
उद्धार क्षेत्रमा पुगेपछि हेलिकोप्टरका पाइलटलाई काठमाडौंसँग निरन्तर सम्पर्क गर्न कठिन हुने भएकाले हेलिकोप्टर–हेलिकोप्टरबिचको सञ्चार र ट्राफिक व्यवस्थापनका लागि छुट्टै ‘इन्टर पाइलट फ्रिक्वेन्सी’समेत तयार गरिएको उनले जानकारी दिए । यसबाट एउटा हेलिकोप्टरले अर्को हेलिकोप्टरको अवस्थाबारे जानकारी लिन सक्ने र आर्मी तथा सिभिलियन हेलिकोप्टरबिच उडानलाई सहज रूपमा सञ्चालन गर्न सकिएको भुलले बताए ।
उद्धारमा सबै हेलिकोप्टर केन्द्रित
विपत्को समयमा उद्धार कार्यलाई प्राथमिकतामा राख्दै सम्बन्धित कम्पनीसँग रहेका सबै हेलिकोप्टरलाई उद्धारमा केन्द्रित गरिएको छ । त्यस अवधिमा सामान्य चार्टर उडानका लागि हेलिकोप्टर प्रयोग गर्न नदिइएको र विशेष प्रकृतिको चार्टर उडान आवश्यक भए गृह मन्त्रालयको विशेष अनुमतिमा मात्र सञ्चालन गर्न सकिने व्यवस्था गरिएको भुलले बताए ।
मनसुनको समय भएकाले सामान्य अवस्थामा लागू हुने उडानसम्बन्धी विभिन्न सर्कुलर पनि विपत्को अवस्थामा लचिलो बनाइएको छ । उनले भने, ‘विशेषगरी दुईजना पाइलट आवश्यक पर्नेलगायतका प्रावधानमा मानवीय आवश्यकतालाई ध्यान दिँदै केही रिल्याक्सेसन गरिएको छ । तर, यस क्रममा उडान सुरक्षामा भने सम्झौता गरिएको छैन ।’
ड्रोन उडान पनि एकीकृत व्यवस्थापन
विपत् प्रभावित क्षेत्रमा सर्वेक्षण तथा उद्धारका लागि ड्रोन उडानलाई समेत एकीकृत रूपमा व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ । नेपालमा दर्ता भएका ड्रोनलाई गृह मन्त्रालय, विपत् व्यवस्थापन प्राधिकरण वा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको कार्यालयको अनुमतिमा सञ्चालन गर्न दिइएको थियो ।
यसबाट काठमाडौंको हवाई ट्राफिकमा समेत असर नपर्ने गरी प्रभावित क्षेत्रमा ड्रोन सञ्चालन गर्न सकिएको भुलको भनाइ छ । उद्धारमा प्रयोग हुने हेलिकोप्टरमार्फत प्रभावित व्यक्तिलाई विभिन्न स्थानमा ‘सटल’ गरेर सुरक्षित स्थानमा लैजाने व्यवस्था पनि गरिएको थियो ।
उद्धारका लागि आवश्यक हवाई इन्धनको व्यवस्थासमेत सम्बन्धित क्षेत्रमा नै गरिएको थियो । नेपाल आयल निगममार्फत आवश्यक स्थानमा इन्धनका ट्यांकर राखेर हेलिकोप्टरलाई तत्काल इन्धन उपलब्ध हुने व्यवस्था मिलाइएको भुलले बताए ।
प्राधिकरणले नेपाली सेना, गृह मन्त्रालय, विपत् व्यवस्थापन प्राधिकरण तथा निजी क्षेत्रका सम्बन्धित निकायसँग समन्वय गरेर उद्धार उडान सञ्चालन गरिरहेको जनाएको छ । विपत्को अवस्थामा नियामकीय प्रावधानलाई आवश्यकताअनुसार खुकुलो, छिटोछरितो र व्यावहारिक बनाउँदै उडान सुरक्षामा समेत सम्झौता नगरी आफ्नो नियमकीय दायित्व पूरा गरिरहेको भुलको भनाइ छ ।
कहिले कति उडान ?
विपत्को पहिलो र दोस्रो दिन सरकारी रेस्क्यु उडानमा हेलिकोप्टर मुख्य रूपमा उद्धार र अनुगमनमा सक्रिय देखिएका छन् । पहिलो दिन ४१ र दोस्रो दिन ३८ गरी दुई दिनमै ७९ वटा सरकारी उडान भएका थिए । कुल १४ दिनमा भएका तीन सय ७८ उडानमध्ये ५२.३ प्रतिशत अर्थात् एक सय ९८ उडान सरकारी उडान भएका छन् ।
भदौ १२ गतेदेखि निजी हेलिकोप्टर पनि व्यापक रूपमा सञ्चालनमा आए । १४ दिनको अवधिमा निजी क्षेत्रले कुल १०० उडान (२६.५ प्रतिशत) गर्दै नागरिक उद्धारमा ठुलो योगदान पुर्याएको छ । त्यसैगरी, सेनाले १४ दिनमा कुल ८० उडान (२१.२ प्रतिशत) सम्पन्न गरेको छ ।
उद्धारकार्यको विश्लेषण गर्दा भदौ १५ गते सोमबार एकै दिन सबैभन्दा धेरै एक सय २६ जनाको सफल उद्धार गरिएको थियो । त्यस दिन सरकारी २४, निजी नौ र सेनाका पाँच गरी कुल ३८ वटा उडान भएका थिए । सम्पूर्ण १४ दिनको तथ्यांक हेर्दा कुल तीन सय ७८ उडानमार्फत आठ सय ३३ जना नागरिकको उद्धार भएको छ, जसअनुसार प्रतिउडान औसत २.२ जनाको उद्धार भएको देखिन्छ ।
अन्तर्राष्ट्रिय उडानतर्फ विभिन्न मुलुकबाट यसबिच ३२ वटा चार्टर उडान भएको प्राधिकरणको तथ्यांक छ । चीन, भारत, अमेरिका, ओमन, कोरिया, माल्टा र कतारबाट उडान भएको उल्लेख छ ।