बाढीपीडित ज्येष्ठ नागरिकलाई सुरक्षित बसोबासको व्यवस्था गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

शनिबार, २० भदौ, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका ज्येष्ठ नागरिकलाई सरकारले कहिल्यै अलपत्र नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री शाहले केहीबेर अघि सामाजिक सञ्जाल फेसबुकमार्फत नुवाकोटको विदुर–१०, वेत्रावतीमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार गरेको घटनाले देशमा आशा जगाएको बताएका छन्। उनले खोज तथा उद्धार कार्य अझै निरन्तर भइरहेको उल्लेख गरेका छन्।

उनका अनुसार बाढी प्रभावित क्षेत्रबाट चन्द्रिका श्रेष्ठको उमेर समूह तथा त्योभन्दा माथिका धेरै ज्येष्ठ नागरिकको उद्धार भइसकेको छ। बाढीका क्रममा कतिपय ज्येष्ठ नागरिकले आफ्नै ज्यानको परवाह नगरी नातिनातिनालाई च्यापेर सुरक्षित स्थानतर्फ भाग्नुपरेको उनले स्मरण गरेका छन्। भोटेकोशीको विनाशकारी बाढीले घर, खेतबारी, पशुचौपाया तथा आफन्त गुमाउनुपरेका नागरिकको पीडा असह्य रहेको भन्दै प्रधानमन्त्री शाहले बाढीले ज्येष्ठ नागरिकको जीवनमा गम्भीर मानसिक र शारीरिक आघात पुर्याएको बताएका छन्।

बाढीका कारण नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको विदुर भवनसमेत क्षतिग्रस्त भएको उनले जानकारी दिएका छन्। त्यहाँ रहेका ज्येष्ठ नागरिकमध्ये सातजनालाई काठमाडौंको म्हैपीस्थित नेपाल सिनियर केयरमा र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्ण प्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको शाहले बताएका छन्। उद्धार गरिएका ज्येष्ठ नागरिकलाई हिँडडुलका लागि ह्विलचियर तथा वाकर उपलब्ध गराइएको र मानसिक तथा शारीरिक पीडा कम गर्न विशेष टोलीमार्फत स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श सेवा सञ्चालन भइरहेको प्रधानमन्त्रीको भनाइ छ।

अस्थायी शिविरमा बसाइलाई सकेसम्म छोटो बनाएर ज्येष्ठ नागरिकका लागि छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने उनले प्रतिबद्धता जनाएका छन्। ‘हजुरहरूले आफूलाई एक्लो नठान्नुहोला। जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौँ,’ शाहले भनेका छन्, ‘हजुरहरूसँग यो राज्य छ, यो सरकार छ।’

प्रधानमन्त्री शाहले बाढीले ज्येष्ठ नागरिकको घर, ओत र जायजेथा बगाए पनि उनीहरूको स्वाभिमान, अनुभव र मार्गदर्शनको महत्त्वलाई बगाउन नसक्ने बताएका छन्। ज्येष्ठ नागरिकलाई देशको जग र मार्गदर्शकको संज्ञा दिँदै उनले कठिन परिस्थितिमा मन दह्रो बनाउन आग्रह गरेका छन्।

बाढीका क्रममा धेरै ज्येष्ठ नागरिकको मृत्यु भएकाप्रति दुःख व्यक्त गर्दै शाहले उनीहरूलाई परिवारको मूल खम्बा, संस्कार र ज्ञानका स्रोतका रूपमा स्मरण गरेका छन्। उनले दिवंगतप्रति सामूहिक श्रद्धाञ्जलीसमेत अर्पण गरेका छन्।

यस्तै, आफन्त गुमाएका नागरिकको आक्रोश स्वाभाविक भएको प्रधानमन्त्री शाहले बताएका छन्। एकै क्षणमा संसार गुमाएका नागरिकको आक्रोश पीडा व्यक्त गर्ने माध्यम भएको उल्लेख गर्दै उनले पीडितको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्नेमा जोड दिएका छन्।

पीडामा रहेका नागरिकमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने वा थप पीडा दिने प्रयास गर्नेहरूप्रति सरकार निर्मम हुने चेतावनीसमेत शाहले दिएका छन्।

प्रधानमन्त्री शाहले बाढीपछि सुरक्षाकर्मीहरू जोखिम मोलेर उद्धार तथा खोजी कार्यमा निरन्तर खटिरहेको उल्लेख गर्दै उनीहरूप्रति हृदयदेखि कृतज्ञता व्यक्त गरेका छन्। सुरक्षाकर्मीको आत्मबल बढाउनु सबैको कर्तव्य भएको उनको भनाइ छ।

सुझावित समाचार