बाढी प्रभावितलाई पर्साका तीन पालिकाको एक करोड २१ लाख सहयोग

आइतबार, १४ भदौ, २०८३
डिजिटल संस्करण
बाढी प्रभावितलाई पर्साका तीन पालिकाको एक करोड २१ लाख सहयोग

बाढीले बगर बनेको नुवाकोटको त्रिशूली बजार ।

पर्साका तीन पालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्ने भएका छन्। वीरगन्ज महानगरपालिका, संखुवा प्रसौनी गाउँपालिका र जगरनाथपुर गाउँपालिकाले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका हुन्।

वीरगन्ज महानगरपालिकाले एक करोड ११ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। शनिबार बसेको कार्यपालिकाको आकस्मिक बैठकले बाढीपीडितका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। महानगरपालिकाले आन्तरिक स्रोतबाट रकम जुटाएर सहयोग गर्ने जनाएको छ।

निर्णयअनुसार महानगरपालिकाअन्तर्गतका प्रत्येक वडा कार्यालयले एक लाख २५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराउनेछन्। त्यस्तै, महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिले एक महिनाको तलब तथा सेवा–सुविधाबराबरको रकमसमेत बाढीपीडितका लागि प्रदान गर्नेछन्। महानगरपालिकामा कार्यरत कर्मचारीको तलबबाट पनि मुख्यसचिवस्तरीय निर्णयअनुसार तोकिएको रकम कट्टा गरी सहयोग रकम जुटाइने बैठकले निर्णय गरेको छ।

यसैगरी, सखुवा प्रसौनी गाउँपालिकाले बाढी प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। गाउँपालिका अध्यक्ष जसवन्त यादवले रसुवामा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित बाढीपीडितका लागि गाउँपालिकाको तर्फबाट उक्त रकम सहयोग गर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।

यस्तै, जगरनाथपुर गाउँपालिका कार्यालयले पाँच लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले बताए। उनका अनुसार पालिकामा निर्वाचित जनप्रतिनिधिहरूले एक महिनाको तलबबराबरको सुविधा पनि सहयोग गर्ने निर्णय भएको छ। पालिकामा कार्यरत करारका कर्मचारीहरूमध्ये अधिकृतस्तरको सुरु तलब स्केलको पाँच दिनबराबर र सहायक तथा श्रेणीविहीन कर्मचारीले तीन दिनको तलब उपलब्ध गराउने उनले बताए।

सुझावित समाचार