विपतमा सरकारसँग सहयोग र समन्वय गर्न निजी क्षेत्र तयार

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीले अकल्पनीय मानवीय तथा भौतिक क्षति पुर्याएको छ । राष्ट्रलाई बिपद परेको समयमा मलम लगाउन निजी क्षेत्रले आफूहरू तयार रहेको बताएका छन् ।

उद्योगीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले एक विज्ञप्ति जारी गर्दै विपत्तिमा आफ्ना तर्फबाट सहयोग गर्न प्रतिबद्ध रहेको बताएको हो । ‘विनाशकारी विपत्बाट सर्वसाधारणका घर, उद्योगी व्यवसायीहरूको पसल, निजी तथा सार्वजनिक सवारीसाधन, मालवाहक सवारीसाधन तथा भन्सार यार्डमा रहेका सावरीसाधन पुल, जलविद्युत् गृहलगायतका भौतिक संरचनामा धेरै ठुलो क्षति पुगेको छ,’ महासंघले भनेको छ, ‘भविष्यमा गर्नुपर्ने पुनर्स्थापनाको कार्यमा पनि महासंघ सदैव साथमा छ ।’ महासंघले सम्पूर्ण जिल्ला/नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघहरू तथा सम्पूर्ण उद्योगी–व्यवसायीलाई स्थानीय प्रशासन, सुरक्षा निकायसँग आवश्यक समन्वय गरी उद्धार, राहतमा सहयोग गर्न पनि अपिल गरेको छ । 

आवश्यक सहयोगका लागि तत्पर छौँ : नाइमा
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले विज्ञप्ति जारी गर्दै दुःखद घडीमा सरकारी तथा सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न तयार रहेको बताएको छ । ‘यस कठिन परिस्थितिमा प्रभावित  समुदायसँग साथमा रहँदै उद्धार, राहत तथा पुनर्स्थापनाका प्रयासमा सम्बन्धित सरकारी तथा सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न तयार छौँ,’ विज्ञप्तिमा उल्लेख छ । साथै, नाइमाले सबैको सुरक्षा तथा प्रभावित क्षेत्रको शीघ्र पुनर्स्थापनाको कामना पनि गरेको छ ।

प्याकेज घोषणा गर्न माग 
नेपाल घरेलु तथा साना उद्योग महासंघले राहत तथा पुनर्स्थापनाको प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ । रसुवामा आएको बाढीबाट व्यवसायमा पुगेको क्षतिको यथार्थ विवरण संकलन गरी विशेष राहत तथा पुनर्स्थापनाको प्याकेज घोषणा गर्न महासंघले माग गरेको हो । साथै, महासंघले यो विपत्को घडीमा सरकारसँग सहयोग र समन्वय गर्न तयार रहेको पनि बताएको छ ।

त्यस्तै नेपाल तयारी पोसाक उद्योग संघले विपत्का वेला उद्धार तथा राहतमा जुट्न आग्रह गरेको छ । संघले विषम परिस्थितिमा प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगका लागि सबै पक्ष एकजुट भई सहकार्य गर्न अनुरोध गरेको छ । 

एनआरएनएको पाँच करोडबराबरको सहयोग
गैरआवसीय नेपाली संघ (एनआरएनए)ले  बाढीबाट प्रभावित परिवारको उद्धार, राहत एवं अन्य आवश्यक सहयोगसमेत गरी तत्काल पाँच करोड रुपैयाँबराबरको सहयोग गर्ने घोषणा गरेको छ । एनआरएनएका अध्यक्ष डा. हेम राज शर्माको संयोजकत्वमा ‘रसुवा बाढी प्रभावितको लागि राहत तथा उद्धार’ मूल समिति गठन गरेको छ । 

See More On

सुझावित समाचार