प्रायः पार्टी नेतृत्वले आफ्नो सम्मानजनक बहिर्गमनको ढोका नै देख्न नचाहनुको कारण के होला ?
यो रोग हामीकहाँ मात्र होइन, प्रायः दक्षिण एसियाकै राजनीतिमा फैलिएको देखिन्छ । सडकबाट दबाब दिने ‘पिपुल्स फोर्सेज’ कमजोर भएको मौकामा स्वार्थको राजनीति हाबी हुन्छ । सिद्धान्तको राजनीति भइदिएको भए निश्चित समयपछि नेतृत्वबाट बहिर्गमनको बाटो खोजिन्थ्यो । तर, स्वार्थको राजनीतिमा जति पद ओगटेर बसियो, त्यति नै फाइदा हुन्छ । यतिखेर राजनीति सेवा होइन ‘बिजनेस’ बनेको छ । त्यसैले, नेतृत्वले आन्दोलनमा होइन, चुनावमा मन खोलेर लगानी गर्छ । आन्तरिक लोकतन्त्र कमजोर भई गुटतन्त्र हाबी भएको समयमा सुप्रिमोकै गुट बलियो हुन्छ । योग्यता र क्षमता भएरै पार्टीमा लामो समयसम्म रहनु गलत होइन, तर यहाँ त कमाउन पाइन्छ भनेर पदमा टाँसिइरहने प्रवृत्ति मौलाएको देखिन्छ ।
एमाले अध्यक्ष ओलीले पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन ‘होल्ड’ गर्नुले के संकेत गरेको छ ?
यो सब नेतृत्वको ‘अटोक्रेसी’ हो । कार्यकर्ताले प्रश्न उठाएपछि उनीहरूको आवाज मत्थर पार्न कार्यदल बन्यो । तर, प्रतिवेदन तयार भइसकेपछि भने त्यसलाई अनेक बहाना बनाएर आन्तरिक छलफल टार्ने र सार्वजनिक पनि नगर्ने नीति अख्तियार गरियो । नेतृत्वले यस्तो प्रतिवेदनलाई पार्टीभित्रका आफ्ना विरोधीहरूबारे सूचना संकलन गर्ने मौकाका रूपमा लिएको पनि हुन सक्छ । त्यसमा आएका सूचनाहरूका आधारमा पछि डन्डा चलाउने सोच पनि हुन सक्छ ।
नेतृत्वको यस्तो प्रवृत्तिबिच पार्टी पुनर्गठन सम्भव होला त ?
अहिले संसारभर नै लोकतन्त्र कमजोर हुँदै छ । राजनीतिमा ‘पोस्ट मोर्डनिज्म’ हाबी हुँदै छ । पिपुल्स फोर्स आफैँमा विभाजित छन् । अवसरवादीहरू हाबी भएका छन् । पार्टीहरूको अस्तित्व खतरामा छ । यस्तो अवस्थामा तत्कालका लागि एमालेको रूपान्तरणको सम्भावना देखिन्न । तर, आगामी निर्वाचनपछि भने केही सुधार हुन सक्छ ।