रसुवा टिमुरेका गिरिलाल बुढाथोकीले महाराजगन्जस्थित टिचिङ अस्पतालको बेडबाट घटना सुनाए, ‘बिहान ९ बजेतिर छिमेकीकहाँ गएर घरतिर फर्किँदै थिएँ । घरनजिकै पुग्न लाग्दा चट्याङ परेजस्तो आवाज आयो । भुइँ थर्किन थाल्यो । घरनजिकै पुगेको थिएँ, पछाडिबाट बाढी आएको देखेपछि बटारिएका खुट्टा बल्लतल्ल टेक्दै रुखबिरुवा समात्दै माथिल्लो भागतिर लागेँ । घरमा दुई छोरी र दुई छोरासहित श्रीमती थिइन् । मैले उनीहरूलाई बोलाउनसमेत पाइनँ । माथि डाँडामा पुगेर तल हेर्दा घर भएको ठाउँमा ठुलो बाढी गडगडाइरहेको थियो । मैले आफू एक्लिएको महसुस गरेँ ।’
भागदौडका क्रममा टाउको, छाती र खुट्टामा चोट लागेका उनले चिनजानको साथीलाई फोन गरेर आफू रहेको ठाउँबारे जानकारी दिएका थिए । केही बेरमा हेलिकोप्टरले उनको उद्धार गरेर टिचिङ अस्पताल ल्याएको थियो । उनको टाउकामा आठ टाँका लगाइएको छ ।
‘म त बाचैँ, तर सबथोक गुमाएको महसुस भइरहेको छ,’ उनले भने, ‘मेरोसहित त्यस क्षेत्रका म बस्नेसहित ५० भन्दा धेरै घर बगाएको छ । म त एक्लो हुने भएँ ।’ उनका अनुसार आफ्ना भान्जाभान्जी, दिदीबहिनी, सालासाली पनि बेपत्ता रहेको बताए । ‘घरबाहिर रहेकाहरू त भागेर पनि जोगिने सम्भावना रह्यो, घरभित्र रहेकाहरू त सबैलाई लग्यो होला,’ उनले भने । बुढाथोकी फोहोर ढुवानीको कन्टेनर चलाउँछन् । आफूले चलाउने कन्टेनर पनि बाढीले बगाएको उनको भनाइ छ ।
टिमुरेकै कर्मु श्रेष्ठले पनि भागेर ज्यान जोगाइन् । तर, उनका बुबाआमा सम्पर्कविहीन छन् । यो खबरले उनी विछिप्त छिन् । उनको हातखुट्टामा भन्दा मनमा गहिरो चोट लागेको छ । ‘म त भागेर बाचेँ, तर बाआमा भाग्न सक्नुभएन, कहाँ हुनुहुन्छ पत्तो छैन ।’
नुवाकोट पिपलटारका विवेक कुमाल विदुरमा सेप्टिक ट्यांकी सफाइको काम गर्दै थिए । उनी ट्यांकीभित्र थिए, बाहिरबाट सबैले चिच्याउँदै ‘भाग्–भाग्’ भने । बल्लतल्ल ट्यांकीबाट त निस्किए, तर भाग्नुअघि नै बाढीले लछारेर केही पर पुर्यायो तुरुन्त पुगेको प्रहरीले उनको उद्धार गर्यो । टाउको, घाँटी र हातमा चोट लागेका उनको ट्रमा सेन्टरमै उपचार भइरहेको छ । ‘म भाग्न सक्ने अवस्था नै भएन, केही बेरमा बाढीले हुत्याएर लग्यो, धन्न प्रहरीहरूले बेलैमा बचाउनुभयो,’ उनले भने ।
३६ घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । १९ को टिचिङ, ८ को ट्रमा सेन्टर, ९ को सैनिक अस्पतालमा उपचार भइरहेको छ । रसुवा जिल्ला अस्पतालमा ३७ र नुवाकोटको त्रिशूली प्रादेशिक अस्पतालमा १६ जनाको उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले ती अस्पतालमा काठमाडौंबाट मेडिकल सामानसहित १५ जनाभन्दा धेरैको चिकित्सक टोली पठाइएको र उनीहरूकै मद्दतमा उपचार चलिरहेको बताए । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चुनावकोटमा ११ को उपचार जारी छ । सेना र निजी कम्पनीका हवाईजहाज प्रयोग गरेर घाइतेहरूको उद्धार भइरहेको छ ।
‘यो विपत्को क्षण भएकाले हाम्रो स्वास्थ्य संरचना पूरै विपत्केन्द्रित भएर काम गरिरहेको छ, हामीले उपचार र उद्धारमा कमी नहोस् भनेर स्रोतसाधन पठाएका छौँ, प्रदेश सरकारबाट पनि उत्तिकै मात्रामा चिकित्सकसहितको टोली त्रिशूली अस्पतालमा पुगेको छ,’ अधिकारीले भने, ‘ट्रमा सेन्टरबाट ७ डाक्टरसहितको टोली त्यहाँ पुगेर उपचार गरिरहेको छ, सबै घाइतेहरूको निःशुल्क उपचार जारी छ ।’
स्वास्थ्य मन्त्रालयले आपत्कालीन स्वास्थ्यसम्बन्धी सहयोग तथा जानकारीका लागि ११२४ हेल्पलाइन नम्बर २४सै घण्टा खुला राखेको छ । रातिको समयमा पनि उक्त फोनमा आएका गुनासाहरू समाधान गर्न मन्त्रालयको टोली खटिने जनाइएको छ । घाइतेको उपचारका लागि ट्रमा र वीर अस्पतालमा मात्रै १०० शङ्ढया छुट्याइएको छ । इमर्जेन्सी र अपरेसन थिएटरमा राखेर घाइतेको उपचार गरिएको छ । बाढीपछिको उपचार र उद्धारको लागि विश्व स्वास्थ्य संगठनबाट पनि चिकित्सकको टोली प्रभावित क्षेत्रमा पठाइएको छ । बाढी प्रभावित ठाउँमा सफा खानेपानी र औषधि सहज रूपमा पठाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसयराले बाढीमा परेर आएका घाइतेको उपचार अस्पतालकेन्द्रित भइरहेको बताए । ‘हाम्रो टिम २४सै घण्टा खटिरहेको छ, भएभरको जनशक्ति अस्पतालभित्र उपलब्ध छ, जहाँ जे पर्छ सोहीअनुसार उपचार प्रक्रिया चलिरहेको छ, यहाँ आएका घाइतेमध्ये अधिकांश लछारपछार भएका र टाउकामा चोट लागेका छन्,’ उनले भने, ‘घाइते आउनेक्रम जारी रहेकाले हामीले बेडहरू खाली राखेका छौँ, उपचारमा चाहिने मेडिकल सामानसमेत तयारी अवस्थामै छ ।’
ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले घाइतेहरूको अवस्थालाई ध्यानमा राखेर विपत् तथा आपत्कालीन उपचार प्रोटोकलअनुसार घाइतेहरूको उपचार भइरहेको बताए । ‘यहाँका नियमित बिरामीको उपचार यथावत् राख्दै बाढीका घाइतेहरूलाई प्राथमिकतामा राखेर उपचार भइरहेको छ,’ उनले भने ।
आफन्त खोज्दै अस्पतालमा भिड
बाढीमा परेर सम्पर्कमा नआएका घाइतेलाई अस्पतालमा ल्याइएको छ कि भनेर खोज्दै आउने आफन्तको भिड देखिन्छ । परिवारका सदस्य हराएको भन्दै रुवाबासी गर्दै अस्पताल पुग्नेहरू घाइतेको सूची हेरेपछि झन् चिच्याउने गर्छन्, किनभने त्यहाँ आफ्नो मान्छेको नाम हुँदैन ।
भन्सारमा कार्यरत भाइ विपिन तामाङ हराएपछि पासाङ तामाङ बुधबार दिनभर टिचिङ दौडधुप गरिरहेकी देखिन्छिन् । उद्धार गरिएका घाइतेको सूचीमा भाइको नाम नदेखेपछि उनले हेल्लो सरकार र गृह मन्त्रालयमा पनि विवरण पठाइन् ।
‘भाइले त्यहाँ काम गर्न थालेको ३–४ वर्ष भयो । हिजोसम्म कुराकानी भइरहेको थियो, तर बिहानदेखि फोन अफ भयो,’ उनले भनिन्, ‘अहिलेसम्म कुनै अवस्था थाहा छैन, उद्धार गरेर अस्पताल ल्याएको छ कि भनेर यहाँ आएकी भेटिनँ,’ उनी बुबाआमासहित काठमाडौंमै बस्छिन् ।
रसुवाकी याङछिङ तामाङ पनि टिचिङमा हस्याङफस्याङ गर्दै थिइन् । उनका सासु, ससुरासहित परिवारका सदस्यहरू हराएका छन् । ‘कतै उद्धार गरेर यहाँ ल्याएको छ कि भनेर आएको, तर ल्याएको रहेनछ,’ उनले भनिन् ।
रसुवा टिमुरेमा राकीमाया तामाङका श्रीमान्सहित दुई छोरी र एक छोरा गरी परिवारका चार सदस्य बेपत्ता छन् । उनलाई पनि उद्धार गरेर ल्याइएको छ कि भनेर खोज्दै बुधबार त्रिवि शिक्षण अस्पतालमा पुगेकी थिइन् । ‘म त कामले काठमाडौं आएको थिएँ, तर गाउँमा बिजोग भयो, घरका सबै बेपत्ता छन्,’ उनले भनिन्, ‘बिहान ७ बजेतिर कुरा भएको थियो, त्यसपछि फोन अफ छ । अब यो संसारमा मेरो को छ ?’