बाढीपहिरोमा परी घाइते भएकाहरूको उपचारका लागि काठमाडौं उपत्यकाका ठुला अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सम्भावित घाइतेको उपचारका लागि आवश्यक जनशक्ति, औषधि तथा स्रोतसाधन तयारी अवस्थामा राखिएको हो। मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र नेपाली सेनाको अस्पतालमा घाइतेको उपचारका लागि आवश्यक तयारी गरिएको छ।
बाढीपहिरो प्रभावित क्षेत्रबाट घाइतेलाई काठमाडौं ल्याउने क्रमसमेत सुरु भइसकेको डा. अधिकारीले जानकारी दिए। प्रभावित क्षेत्रबाट ल्याइएका घाइतेको अवस्था हेरेर सम्बन्धित अस्पतालमा उपचार गरिनेछ।
यसैबिच राष्ट्रिय ट्रमा सेन्टरबाट चिकित्सकसहितको स्वास्थ्य टोली बाढीपहिरो प्रभावित रसुवा र नुवाकोटतर्फ गएको छ। आवश्यक औषधि तथा एम्बुलेन्ससहित चिकित्सक टोली प्रभावित क्षेत्रमा पुगेर घाइतेको उपचार तथा स्वास्थ्यसम्बन्धी आवश्यक सहयोग गर्नेछ। मन्त्रालयले बाढीपहिरोबाट प्रभावित तथा घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको जनाएको छ।