भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावितहरूको उद्धार तथा जोखिममा रहेका बासिन्दाको सुरक्षाका लागि प्रधानमन्त्री बालेन्द्र शाहले आपतकालीन बैठक बोलाएका छन्। प्रधानमन्त्री शाहले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी, सुरक्षा निकायलगायत सम्बन्धित निकायका अधिकारीहरूलाई बैठकमा बोलाएका हुन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिनुका साथै तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्रधानमन्त्रीले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। भोटेकोशीको जलस्तर तथा बाढीको अवस्थाबारे निरन्तर निगरानी राख्दै जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्ने तयारीसमेत भइरहेको जनाइएको छ।