रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन गरेकाे प्रधानमन्त्रीद्वारा जानकारी

एसएमएस तथा कलमार्फत स्थानीय बासिन्दालाई सम्भावित जोखिमबारे जानकारी गराउँदै सुरक्षित स्थानमा जान सचेत

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ। प्रभावित क्षेत्रतर्फ अन्य जिल्लाबाट समेत थप जनशक्ति पठाइएको प्रधानमन्त्री बालेन्द्र शाहले  जानकारी दिएका छन्।

उनका अनुसार विपत् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टिम, नेपाल स्काउट, रेडक्रसलगायतका निकायसँग समन्वय गरी आवश्यक उद्धार तथा राहतका काम अघि बढाइएको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र मेडिकल जनशक्ति पठाउने प्रक्रिया पनि सुरु गरिएको छ।

बाढीको जोखिम रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। साथै, एसएमएस तथा कलमार्फत स्थानीय बासिन्दालाई सम्भावित जोखिमबारे जानकारी गराउँदै सुरक्षित स्थानमा नजान सचेत गराइएको छ।

सम्भावित उद्धार तथा राहतका लागि सबै हेलिकाेप्टरलाई स्ट्यान्डबाईमा राख्न निर्देशन दिइएको छ। निजी हेलिकाेप्टर कम्पनीलाई समेत आवश्यक परेको अवस्थामा तत्काल परिचालन गर्न तयारी अवस्थामा रहन जानकारी गराइएको प्रधानमन्त्रीले बताएका छन्।

बाढीपछिको अवस्थाबारे थप आवश्यक निर्णय लिन केहीबेरमै उच्चस्तरीय बैठक बोलाइएको छ। प्रधानमन्त्रीले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेमा सम्बन्धित सरकारी निकायबाट आउने उद्धार तथा राहतसम्बन्धी सूचनाको प्रतीक्षा गर्न अनुरोध गरेका छन्। थप जानकारी तथा राहतसम्बन्धी समन्वयका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।

सुझावित समाचार