रघुगंगाले राहुपारेमा डोजर लगाएर अस्थायी बस्ती हटायो

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुपारेमा सामुदायिक वन क्षेत्रमा पर्ने सार्वजनिक जग्गामा बस्दै आएका बैँसरीका पहिरोपीडितहरुले बस्ती खाली गरेपछि गाउँपालिकाले अस्थायी टहरा हटाएको छ। पटकपटक ताकेता गरी अस्थायी टहरामा बस्दै आएकाहरुलाई बस्ती खाली गर्न लगाएपछि गाउँपालिकाले मंगलबार डोजर परिचालन गरेर टहरा हटाएको हो।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेल, वडा नम्बर ३ का वडा अध्यक्ष खिमबहादुर शाहीसहितको टोली राहुपारे पुगेर अस्थायी टहराका संरचनामा डोजर लगाएका हुन्।

२०७२ जेठ १० गते गएको बैँसरी पहिरोबाट विस्थापित भएकाहरु राहुपारेमा अस्थायी टहरा बनाएर बसोबास गर्दै आएको र उनीहरुको वैकल्पिक बसोबासको व्यवस्था अन्यत्रै गर्न लगाएर बस्ती खाली गर्न लगाइएको पालिकाले जनाएको छ।

गाउँपालिकाको असार ३१ गतेको कार्यपालिका बैठकको निर्णयबमोजिम राहुपारे क्षेत्रमा सार्वजनिक जग्गा, सडकको अधिकार क्षेत्र तथा सार्वजनिक उपयोगका लागि छुट्याइएको स्थानलाई अतिक्रमित गरी निर्माण गरिएका टहरा हटाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए।

‘पटक पटकको ताकेतापछि अस्थायी रुपमा बसोबास गर्दै आएकाहरुले बस्ती छाडेर गएपछि त्यहाँ रहेका टहरालाई हटाइएको छ। गाउँपालिकाभित्र सार्वजनिक जग्गा अतिक्रमण भएका अन्य ठाउँको समेत खोजी गरी त्यसलाई अतिक्रमणमुक्त बनाउने अभियानमा गाउँपालिका लागेको छ,ʼ प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने।

राहुपारेमा बसोबास गर्दै आएका बैँसरीका पहिरो पीडितहरुको अन्यत्र बैकल्पिक बसोबास गर्ने ठाउँ भएपछि गाउँपालिकाले सार्वजनिक सूचना र मौखिक रुपमा समेत ठाउँ खाली गर्न अनुरोध गरेको थियो। पछिल्लो पटक गाउँपालिका र अस्थायी टहरामा बसोबास गर्दै आएकाहरुबिच साउन मसान्तभित्र राहुपारे अस्थायी बस्तीलाई खाली गर्ने सहमती भएको थियो।

११ वर्षदेखि सार्वजनिक जग्गामा अस्थायी टहरा बनाई बसोबास गर्दै आएकाहरुलाई आफ्नै घरजग्गामा फर्कन अनुरोध गरे बमोजिम बस्ती छाडेर गएपछि त्यहाँ रहेका टहरा भत्काउने र भौतिक संरचनाको फोहोरलाई व्यवस्थित गर्ने काम गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिए। अन्नपूर्ण गाउँपालिका– ८ काफलडाँडाको पहाडबाट खसेको पहिरोले बैँसरी बस्ती पुरिएपछि विस्थापित २६ घरमध्ये केहि बैँसरीमै फर्किएका थिए भने केही गलेश्वर, बेनी पोखरालगायतका ठाउँमा बसोबास गर्दै आएका थिए। चार परिवार राहुपारेमा बस्दै आएका थिए।

सुझावित समाचार