जाजरकोटमा बाढीपहिरोका कारण अवरुद्ध बनेको जाजरकोट–डोल्पा सडक अर्थात् भेरी करिडोर तत्काल सञ्चालनमा ल्याउन प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बुढाले भेरी करिडोर डोल्पावासीको ‘जीवनरेखा’ भएकाले सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको बताए। उनले तत्काल अस्थायी पुनर्निर्माण गरी सडक सञ्चालनमा ल्याउन तथा आवश्यक परे वैकल्पिक मार्गको व्यवस्था गर्न सरकारसँग माग गरे।
जाजरकोटका विभिन्न स्थानमा केही दिनअघि आएको बाढीपहिरोले भेरी करिडोर अवरुद्ध हुनुका साथै ठुलो मानवीय तथा भौतिक क्षति पुगेको छ। बुढाले बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारको व्यवस्था गर्नसमेत सरकारसँग आग्रह गरे।
यसैबिच, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका विभिन्न गाउँमा टेलिफोन सेवा अवरुद्ध रहेको भन्दै उनले सञ्चार सेवा तत्काल पुनः सञ्चालन गर्न माग गरे। माथिल्लो डोल्पामा अझै सञ्चार सेवा नपुगेको उल्लेख गर्दै त्यहाँ आवश्यक सञ्चार पूर्वाधार विस्तार गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।