फक्ताङलुङका कृषकलाई चार लाख ४४ हजार अलैँचीकाे बिरुवा वितरण

आइतबार, ३१ साउन, २०८३
डिजिटल संस्करण

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका कृषकहरुलाई अलैँचीका बिरुवा वितरण गरिएको छ। पालिकाका सातमध्ये अलौँची उत्पादन हुने ६ वटा वडाका किसानलाई चार लाख ४४ हजार बिरुवा वितरण गरिएको हो।

‘एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत किसानलाई अलैँचीको बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी दिए। इलामबाट ल्याइएका भर्लाङ, रामसाई र डम्बर साई जातका अलैँचीका बिरुवा वितरण गरिएको अध्यक्ष लिम्बूले बताए।

त्यसमध्ये भार्लाङ जातको अलैँचीको बिरुवाको संख्या सबैभन्दा धेरै तीन लाख १७ हजार ६ सय रहेका छ। त्यस्तै, रामसाई जातका ८६ हजार ६ सय र डम्बर साई जातका ४० हजार सात सय बिरुवा वितरण गरिएको अध्यक्ष लिम्बूले जानकारी दिए।

अध्यक्ष लिम्बूले गत आर्थिक वर्षमा प्रदेश सरकारबाट प्राप्त ५० लाख रुपैयाँ र गाउँपालिकाले प्रत्येक वडालाई उपलब्ध गराएको सात लाख रुपैयाँ बजेटबाट किसानलाई सहयोग गरिएको बताए। प्रदेश सरकारको बजेटबाहेक गाउँपालिकाबाट प्राप्त हुने सात लाख रुपैयाँका लागि वडाले आफ्नो कुल बजेटको १० प्रतिशत कृषि क्षेत्रमा छुट्याउनुपर्ने व्यवस्था गरिएको थियो।

ताप्लेजुङ नेपालमै सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्लामध्ये एक हो। जिल्लाका अधिकांश किसानको आम्दानीको मुख्य स्रोत अलैँची खेती भएकाले गाउँपालिकाले उत्पादन बढाउने उद्देश्यले बिरुवा वितरणलाई प्राथमिकता दिएको जनाएको छ।
 

सुझावित समाचार