खाडीका अन्य गठबन्धनभन्दा भिन्न ‘मक्का सम्झौता’

आइतबार, ३१ साउन, २०८३
डिजिटल संस्करण
  • पाकिस्तान, साउदी अरब र  टर्किएबिचको यस सम्झौताले खाडीमा क्षेत्रीय सुरक्षाको गहन रूपान्तरणलाई दिशानिर्देशन गर्न सक्छ

गत साता मक्कामा साउदी अरब, टर्की र पाकिस्तानले एक संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरे । यो पहिले नै धेरै गठबन्धन रहेको मध्यपूर्वमा अर्को एउटा नयाँ गठबन्धनको प्रवेश मात्र होइन । यसको महत्व यसको प्रावधानमा कम र खाडी राज्यहरूले आफ्नो सुरक्षालाई कसरी हेर्छन् भन्ने संकेतमा बढी झल्किन्छ ।

पछिल्लो समय साउदी र खाडीमा उसका छिमेकी आफ्ना रणनीतिक सुरक्षाको विषयमा कुनै एक देशमाथि मात्र निर्भर पर्न नहुने निष्कर्षमा पुगेझैँ देखिन्छन् । यसको विकल्प साझेदारीको फराकिलो सञ्जाल हो, जसले विकल्प मात्र नभई क्षमता र कदम चाल्न सक्ने अवस्थालाई फराकिलो बनाउँछ । अर्थात्, पछिल्लो सम्झौताले संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको व्यवस्थाको अन्त्य गर्दैन, बरु यसले त अधिक बहुलवादी प्रणालीतर्फको क्रमिक रूपान्तरणलाई संकेत गर्छ । यो यस्तो प्रणाली हो, जसमा क्षेत्रीय शक्तिले सुरक्षा आयात गर्नुको सट्टा उत्पादन गर्नेछन् । यो अवस्था आउनुमा थोरबहुत अमेरिकाकै भूमिका छ । अमेरिकाको घट्दो उपस्थित र बढ्दो अस्थिरताविरुद्ध देशहरू आआफ्नै नीति अपनाउन लागेका छन् । मक्का सम्झौतामा क्षेत्रीय सुरक्षामा ठुलो रूपान्तरण सुरु गर्ने सबै क्षमता देखिन्छ ।

अमेरिकामाथिको निर्भरता घटाउने प्रयास
गत दशकका विभिन्न घटनाक्रमले खाडी क्षेत्रमा केही गतिशीलता परिवर्तन गरेका छन् । कुनै एउटा देशले दसौँ अर्ब डलरको अमेरिकी हतियार किन्दा  वा आफ्नो भूमिमा अमेरिकी सैन्य आधार र अमेरिकी सेनालाई राख्दा वा  वासिंटनसँग गहिरो सम्बन्ध विकास गर्दा किन नहोस्, अमेरिकी कदम उक्त देशको घरेलु राजनीति र भूराजनीतिक गणनाले व्याख्या गर्दो रहेछ । अर्थात्, अमेरिकाले कदम चाल्दा आफ्ना खाडी सहयोगी देशको सुरक्षालाई ख्याल गर्दैन । पटक–पटक यस्तो देखे भोगेका खाडी शासकले अहिले अमेरिकासँगको साझेदारी जतिसुकै गहिरो भए पनि त्यसले सुरक्षाको स्वतः ग्यारेन्टी नदिने निष्कर्ष निकालेका छन् ।

यस बुझाइबाट उनीहरूले सीधा निष्कर्ष निकालेका छन्, वासिंटनसँग गठबन्धन जारी राख्ने, तर त्यसभन्दा बाहिर पनि विकल्प बनाउने । यो अमेरिकी शिविरबाट चिनियाँ, रुसी वा टर्किस शिविरतर्फको स्थानान्तरण होइन । यो खासमा कुनै एक शिविरमा मात्र रहनुपर्छ भन्ने तर्कविरुद्ध जाने प्रयास हो । साथै पश्चिम एसियाबाट भविष्यमा अमेरिकाले सेना फिर्ता गर्ने चर्चामाझ यी प्रयास त्यस दिनका लागि आफूलाई तयार गर्ने कदम हुन् । यस परिदृश्यमा क्षेत्रीय सुरक्षाको सबैभन्दा संवेदनशील आयाम शक्ति सन्तुलनसँग सम्बन्धित छ । भोलि अमेरिकी भूमिका घट्दा उसले छाडेको शून्यता कसले भर्न सक्छ भनेर सबै सचेत देखिन्छन् ।

इरानले आफ्नो सिमानाभन्दा बाहिर क्षेत्रीय प्रभाव निर्माण गर्न दशकौँ समय खर्चिएको छ । पछिल्लो समय अमेरिकाले आक्रमण गरेपछि उसले खाडी र अरब राजधानीमा मिसाइल र ड्रोनहरू हान्न अहिलेसम्म रोकेको छैन । इजरायलले सैन्य र गुप्तचर श्रेष्ठता प्रदर्शन गरेरर सम्पूर्ण क्षेत्रमा शक्ति प्रक्षेपण गर्न सक्षम बनेको छ । साथै, यसले अरब राज्यहरू विशेषतः प्यालेस्टाइन, सिरिया र लेबनानविरुद्ध अतिक्रमण र बसोवास विस्तारको नीति अपनाएको छ । यस नीति कार्यान्वयन गर्न ऊ सैन्य कारबाही गर्नसमेत हिचकिचाउँदैन । अमेरिकी महत्व घट्दा यस क्षेत्रको नियम तय गर्ने यिनै दुई अभिनेता अर्थात् इजरायल र इरान हुन सक्ने खतरा छ ।

मक्का सम्झौता दुईपछि तेस्रो ध्रुव निर्माण गर्ने प्रारम्भिक प्रयास हुन सक्छ । यो तेस्रो समूह (ब्लक)लाई कुनै बाह्य शक्तिसँग लड्नभन्दा यस क्षेत्रमाथि एकाधिकार विकासको प्रयास रोक्ने पर्याप्त कदम हुनेछ । त्यसैले, उद्देश्य कुनै शक्तिविरुद्ध जित नभई अन्य पक्षको प्रभुत्व रोकथाम हुनेछ । भौगोलिक कारणले पनि इरानलाई खाडी समीकरणबाट बाहिर राख्न सकिँदैन । तेहरानसँग टर्किएको सम्बन्धले सहयोग र प्रतिद्वन्द्विता निम्त्याउँछ, पाकिस्तान र इरानबिच लामो सीमा भएकाले उसले स्थायी मोर्चा खोल्नेछैन । त्यसैले, गठबन्धनको सबैभन्दा उपयोगी कार्य तनाव उत्पन्न हुन रोक्नु हो, अर्थात् कुनै एक सदस्यमाथि आक्रमण गर्दा लागत बढ्ने डरले प्रतिद्वन्द्वी एकपटक हच्कनेछ ।

सुरक्षा उपभोक्ताका रूपमा खाडी
दशकौँसम्म, खाडी एक सुरक्षा उपभोक्ता थियो । उसले उन्नत हतियार किन्यो । विदेशी सेनालाई आधार दियो । पश्चिमा–डिजाइनको गुप्तचर, सञ्चार र सुरक्षा नेटवर्कमाथि मात्र भर पर्यो । यस मोडेलले धेरै हिसाबले काम पनि गर्यो । तर, संरचनात्मक त्रुटि बोकेका कारण अन्तिम निर्णय प्रायः बाहिर हुन थाले । मक्का सम्झौताले यही कमजोरीलाई उल्ट्याउँदै प्रतिरक्षाको स्थानीयकरणलाई तीव्र पार्न सक्छ । यसले यो सम्झौता कुनै मानक सैन्य गठबन्धनभन्दा पनि घरेलु क्षमता निर्माण गर्ने प्रयास हो । यो सम्झौताले पूरक शक्तिहरू भएका तीन क्षेत्रीय शक्तिलाई जोड्छ, साउदी अरेबियाले पुँजी, भौगोलिक अवस्थिति, राजनीतिक वजन र पर्याप्त रक्षा बजार प्रदान गर्छ । टर्किएले विशेषगरी ड्रोन, मिसाइल, नौसेना प्लेटफर्म र इलेक्ट्रोनिक प्रणालीमा उन्नत सैन्य–औद्योगिक आधार योगदान गर्छ । पाकिस्तानले विशाल र अनुभवी सैन्य, महत्वपूर्ण रणनीतिक क्षमता थप्छ । साथै, पाकिस्तान यस गठबन्धनको एक मात्र आणविक–सशस्त्र सदस्य पनि हो ।

एक–अर्काको पूरक क्षमता भएका देशबिचको सम्झौता भएकाले यसको सफलता उनीहरूबिचको घनिष्टतामा मापन हुनेछ । अर्थात्, उनीहरूले संयुक्त हवाई रक्षा, प्रारम्भिक चेतावनी प्रणाली, गुप्तचर, हतियार, साइबर रक्षासम्बन्धी संयुक्त कमान्डलाई कसरी अगाडि बढाउनेछन्, त्यसमा उनीहरूको सफलता निर्भर हुनेछ । टर्की र पाकिस्तानी प्रणाली खरिद गर्नेदेखि साउदी अरबभित्रै ती प्रणालीको सह–उत्पादन र सह–विकास गर्नेसम्बन्धी रक्षा सहयोग पनि त्यति नै महत्वपूर्ण हुनेछ । सम्झौताको समुद्री आयाम पनि महत्वपूर्ण हुनेछ ।

खाडी सुरक्षा अब यस क्षेत्रको सिमानामा मात्र सीमित हुँदैन । यसको रक्षा खाडीदेखि लालसागरसम्म र स्ट्रेट अफ हर्मुजबाट बाब अलमन्डेबसम्म फैलिएको छ । यिनै समुद्र भएर यस क्षेत्रको ऊर्जा व्यापारको अधिकांश भाग र विश्वव्यापी वाणिज्यको महत्वपूर्ण हिस्सा अघि बढ्छ । यदि सम्झौता व्यवस्थित समुद्री सहयोगमा विकास भयो भने यसले पश्चिमी जहाजमाथिको अहिलेको निर्भरताविनै बन्दरगाह, ढुवानी र ऊर्जा मार्गहरूको सुरक्षा गर्ने व्यवस्था तयार गर्न सक्छ । भविष्यमा अमेरिकी सुरक्षा कटौती हुँदा यस क्षेत्रलाई आवश्यक पर्ने क्षमता यही नै हो ।

गठबन्धनको वास्तविक परीक्षण
खाडी क्षेत्रमा कहिल्यै सम्झौताको अभाव देखिँदैन, तथापि अधिकांश गठबन्धनमा साझा राजनीतिक जगको अभाव देखिन्छ । सन् २०१५ मा यमनविरोधी अरब गठबन्धन युद्धलाई लिएर सदस्यका भिन्न विचारका कारण अन्ततः कमजोर भयो । त्यही वर्ष स्थापना गरिएको इस्लामिक सैन्य आतंकवादविरोधी गठबन्धनमा ठुलो संख्यामा सहभागीहरू त जोडिए, तर त्यो संख्या एकीकृत क्षमतामा बदलिन सकेन ।

राज्यहरूलाई एकसाथ ल्याउनु भनेको उनीहरूको हितलाई पंक्तिबद्ध गर्नुजस्तो मात्र होइन । मक्का सम्झौता स्वायत्त क्षेत्रीय सुरक्षा व्यवस्थाको पहिलो गम्भीर खुड्किलो बन्न सक्छ । यसको परिणाम रक्षा बजेट वा सदस्यता संख्याबाट निर्धारण हुनेछैन । यो त खासमा हस्ताक्षरकर्ता एक–अर्काको रक्षाको लागत वहन गर्न साँच्चै इच्छुक छन् कि छैनन् भन्ने प्रश्नको जवाफले निर्धारण हुनेछ । यदि जवाफ सकारात्मक रह्यो भने यस क्षेत्रले अन्ततः सन्तुलन निर्माण गर्न सुरु गर्न सक्छ, जुन अहिलेसम्म पूर्ण रूपमा सात समुद्रपारिबाट आउने शक्तिमाथि निर्भर रहँदै आएको थियो ।

(डा. अल–जबेर ‘मिडल इस्ट काउन्सिल अन ग्लोबल अफेयर्स’का कार्यकारी निर्देशक हुन् )

अलजजिराबाट

See More On

सुझावित समाचार