इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, कम्तीमा ३८ जनाको मृत्यु

आइतबार, ३१ साउन, २०८३
डिजिटल संस्करण

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ३८ जनाको मृत्यु भएको छ । शनिबार बिहान गएको सो भूकम्पमा कैयौँ हराइरहेका देशको विपत् व्यवस्थापन निकाय (बिएनपबी)ले जनाएको छ ।

इन्डोनेसियाको मौसम विज्ञान तथा भू–भौतिकी निकायका अनुसार शनिबार स्थानीय समयअनुसार बिहान पाँच बजेभन्दा केहीअघि फ्लोरेस टापुमा भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु १५ किलोमिटरको गहिराइमा रहेको थियो । केन्द्रबिन्दु कम गहिराइको भएकाले ठुलो क्षति भएको अनुमान गरिएको छ । भूकम्प र त्यसपछि आएका दर्जनौँ परकम्पका कारण प्रभावित क्षेत्रका भवनमा क्षति पुगेको छ । फ्लोरेस क्षेत्रमा  शक्तिशाली परकम्प महसुस गरिएको थियो ।

माउमेरे बन्दरगाहमा खिचिएको भिडियोमा टर्मिनल भवनबाट कंक्रिटको ठुलो टुक्रा खसेर टापुहरूबिच चल्ने फेरी चढ्न पर्खिरहेका यात्रुमाथि परेको देखिन्छ । जहाजमा चढ्न प्रयोग गरिने बाटो भत्किँदा केही मानिस समुद्रमा खसेका बिबिसीले जनाएको छ । खोज तथा उद्धार कार्य अघि बढ्दै गर्दा मृतकको आधिकारिक संख्या बढिरहेको छ । 

भूकम्पलगत्तै सुनामीको चेतावनी जारी गरिएको भए पनि समुद्रको सतहमा कुनै उल्लेखनीय वृद्धि नदेखिएपछि पहिलो धक्काको करिब तीन घण्टापछि सो चेतावनी हटाइयो । अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेपछि मानिसको लर्को मोटरसाइकलमा चढेर जमिनको भित्री भागतिर गइरहेको देखिन्थ्यो । विपत् व्यवस्थापन निकायका अनुसार दुई हजार मानिस आफैँ सुरक्षित स्थानमा सरेका थिए । उक्त निकायका अनुसार सिक्का प्रान्तमा तीन, मंगराई प्रान्तमा ६ र पूर्वी मंगराई प्रान्तमा पाँचजनाको मृत्यु भएको पुष्टि भएको छ ।

अमेरिकी भूकम्प सर्वेक्षण निकाय युएसजिएसका अनुसार पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा रहेका पाँच लाखभन्दा बढी मानिसले निकै शक्तिशाली कम्पन महसुस गरेका थिए भने सोभन्दा फराकिलो क्षेत्रका अन्य लाखौँ मानिसले मध्यमदेखि शक्तिशाली कम्पन महसुस गरे ।

See More On

सुझावित समाचार