धुलिखेल अस्पतालले गत जेठ १७ गतेदेखि रोकेको स्वास्थ्य बिमा सेवा साढे दुई महिनापछि भदौ १ गतेदेखि पुनः सुचारु गर्ने भएको छ। भदौ १ गतेदेखि स्वास्थ्य बिमाअन्तर्गतको बहिरंग (ओपिडी) सेवा मात्र सुचारु गर्ने भएको हो। शुक्रबार पत्रकार सम्मेलन गर्दै बिमा बोर्डले सेवा शुल्कमा गरेको परिमार्जन, आर्थिक सहजता र भुक्तानीको प्रतिबद्धता आएपछि अस्पतालले बिमा सेवा पुनः सञ्चालन गर्न लागेको अस्पतालका निर्देशक प्राडा बलराम मल्लले जानकारी दिए।
बिमा सेवाको दर र भुक्तानी रोकिँदा अस्पतालको न्यूनतम सञ्चालन खर्चसमेत अभाव हुने अवस्था आएपछि जेठ १६ गतेदेखि अस्पतालले आकस्मिक सेवाबाहेक बिमाअन्तर्गतका सेवाहरू स्थगित गरेको थियो। ‘विगतमा ७० करोड भुक्तानी बाँकी हुँदा सरकारी अस्पतालले सेवा हटाउँदा पनि स्वास्थ्य बिमा लागू नै गरेका थियौँ।’ प्राडा मल्लले भने, ‘जनशक्ति भए पनि सामान नै रित्तिएपछि सेवा बन्द गर्न बाध्य भएका थियौँ।’
उनका अनुसार शनिबार, आइतबार र सार्वजनिक बिदाका दिनमा बाहेक अन्य दिन बिहान ७ बजेदेखि नै ओपिडीमा बिमा लागू हुनेछ। केही प्रयोगशाला परिक्षण र औषधि पनि बिमाअन्तर्गत नै उपलब्ध हुने उनले जानकारी दिए। बिमा सेवा लिन आउने बिरामीहरूले यसअघिको साबिकको प्रथम सेवा विन्दुबाट रिफरल पुर्जी अनिवार्य रूपमा ल्याउनुपर्ने अस्पतालले जनाएको छ ।
अस्पतालका प्रशासकीय निर्देशक डा. विराजमान कर्माचार्यका अनुसार स्वास्थ्य बिमा थैलीमा ४० भन्दा बढी प्रयोगशाला परीक्षण र तीन सयभन्दा बढी प्रकारका औषधिको शुल्क न्यूनतम मूल्यभन्दा कम तोकिएको छ। ‘हामीले घाटा भए पनि बिरामीको अत्यावश्यक औषधि र सेवा रोक्नुहुँदैन भनेर बिमा लागू गरिरहेका थियौँ,’ उनले भने, ‘मुटुको शल्यक्रिया गर्दा राख्ने स्टेनदेखि शल्यक्रिया कक्षमा चाहिने पञ्जा र गज पिससम्मको अभाव भएपछि बाध्य भएर केही समयका लागि बिमा सेवा रोक्नुपरेको थियो।’
बिमा बोर्डले धुलिखेल अस्पताललाई दिन बाँकी २८ करोड मध्ये ८ करोड हालै भुक्तानी गरेको अस्पतालले जानकारी दिए। अझै करिब २० करोड बक्यौता बोर्डबाट अस्पताललाई भुक्तानी गर्न बाँकी रहेको अस्पताललका सूचना अधिकारी प्राडा सुमनराज ताम्राकारले जानकारी दिए। बिमा बोर्डले तोकेको बहिरंग सेवामा २५ हजार सिलिङमा रहेर सेवा सुरु गर्ने तयारी भएको उनको भनाइ छ। आकस्मिक सेवा र बहिरंग सेवाबाहेक अन्य सेवामा अझै बिमा सेवा लागू गर्न बिमा बोर्डले थैली र दररेट परिमार्जन भएपछि मात्र लागू गर्ने मनस्थितिमा अस्पताल रहेको छ।