सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

मुख्यमन्त्री शाहले राजीनामा दिएपछि शुक्रबार बिहान ११ बजेभित्र मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुखले दिए समय

शुक्रबार, २९ साउन, २०८३
डिजिटल संस्करण

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । अल्पमतमा परेको ३०औँ दिनमा मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष बिहीबार राजीनामा दिएका हुन् । मुख्यमन्त्रीको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको छ ।

प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर शुक्रबार बिहान ११ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् । नेकपा संसदीय दलका नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्ने तयारीमा छन् । भट्ट प्रदेश सभाको यो कार्यकालको पाँचौँ मुख्यमन्त्री हुनेछन् ।

प्रदेश सभामा विश्वासको मत पाउने सम्भावना नरहेपछि मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिएका हुन् । प्रदेश प्रमुखलाई राजीनामापत्र बुझाउनुअघि उनले प्रदेश सभालाई सम्बोधन गर्दै आफूले राजीनामा दिन लागेको जानकारी गराएका थिए । प्रदेश सभालाई सम्बोधनपछि सरकारका मन्त्रीहरूसहित सिधै प्रदेश प्रमुखको कार्यालय पुगेर उनले राजीनामापत्र बुझाए ।

कांग्रेस र एमालेबिच बजेट भागबन्डाको विवाद चर्किएपछि कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहले गत ३१ असारमा एमालेका चार मन्त्रीलाई बर्खास्त गरेका थिए । एमालेले त्यही दिन समर्थन फिर्ता लिएसँगै उनी अल्पमतमा परेका हुन् । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उक्त व्यवस्थाअनुसार शाहले विश्वासको मत लिनुपर्ने अन्तिम समय सीमा बिहीबार थियो ।

एक निलम्बितसहित हाल ५२ सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्छ । कांग्रेसका १८ सांसद छन् । कांग्रेस सांसद प्रकाश देउवा करिब ११ महिनादेखि अमेरिकामा छन् । प्रदेश सभाको सबैभन्दा ठुलो दल नेकपाका एक निलम्बितसहित २१, एमालेका ११ र राप्रपाका एक सांसद छन् । सभामुख भीमबहादुर भण्डारी नेकपाबाट निर्वाचित हुन् ।

सत्ता सहकार्यको सहमति गरेका नेकपा र एमालेले शुक्रबार मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् । नेकपा संसदीय दलका नेता भट्ट एमालेको समर्थनमा मुख्यमन्त्री बन्ने तयारीमा छन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार शुक्रबार नै नवनियुक्त मुख्यमन्त्रीको शपथ हुनेछ । ‘भोलि दाबी पेस गर्छौँ । मुख्यमन्त्रीको शपथसँगै केही मन्त्रीको पनि शपथ गर्ने गरी दुई दलबिच छलफल भइरहेको छ,’ नेकपा संसदीय दलका उपनेता प्रकाश रावलले भने ।

सुदूरपश्चिममा चार वर्षमा पाँचौँ सरकार बन्दै
शाह नेतृत्वको सरकारको बहिर्गमनसँगै राजनीतिक अस्थिरताका कारण सुदूरपश्चिममा प्रदेश सभाको दोस्रो कार्यकालको चार वर्ष नपुग्दै पाँचौँ सरकार गठन हुँदै छ । प्रदेश सभाका दुईतिहाइ सांसद मन्त्री बनिसकेका छन् । केन्द्रमा हुने राजनीतिक समीकरण फेरबदलसँगै प्रदेशमा पनि सरकार गठन र विघटनको खेलले चार वर्ष नपुग्दै पाँचवटा सरकार गठन हुने स्थिति बनेको हो । पटक–पटक फेरबदल हुँदा प्रदेश सरकारले काम गर्न नसकेको जनगुनासो बढ्दो छ । विकास निर्माणका कामसँगै प्रदेश सभाका विधायिकी काम पनि प्रभावित हुँदै आएका छन् । प्रदेशको बजेट खर्च बढ्न सकेको छैन । यद्यपि, समीकरण फेरबदल भए पनि दुईपटक मुख्यमन्त्री बनेका शाहले तीन वर्षभन्दा बढी समय सरकारको नेतृत्व गरेका छन् ।

०७९ मंसिरमा भएको निर्वाचनपछि गठन भएको प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल २७ पुसमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त हुँदा समर्थन गरेको तत्कालीन नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि रावल नेतृत्वको सरकार एक महिनामै ढल्यो ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठुलो दलको हैसियतले २६ माघमा शाह मुख्यमन्त्री नियुक्त भए । शाह मुख्यमन्त्री नियुक्त हुँदा उनले प्रदेश सभाबाट विश्वासको मत पाउने स्थिति थिएन । तर, त्यही बिचमा कांग्रेस र तत्कालीन माओवादी केन्द्रबिच केन्द्रमा सत्तासमीकरण बन्यो । शाहलाई नागरिक उन्मुक्तिले समेत मत दियो ।

केन्द्रमा सत्ता समीकरण पुनः फेरियो । एमाले, माओवादी र तत्कालीन एकीकृत समाजवादीको समीकरण बनेपछि अल्पमतमा परेका शाहले २२ चैत ०८० मा पदबाट राजीनामा दिए । तीन दलीय समीकरणका आधारमा ६ वैशाख ०८१ मा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी मुख्यमन्त्री बने । तर, सोडारी मुख्यमन्त्री बनेको तीन महिनामै केन्द्रमा कांग्रेस र एमालेबिच समीकरण बनेपछि शाहले २० साउन ०८१ मा दोस्रोपटक मुख्यमन्त्री बन्ने अवसर पाएका थिए ।

बजेट विवादका कारण गत असारमा एमालेसँग गठबन्धन टुटेपछि शाह अल्पमतमा परे । राजनीतिक अस्थिरताका कारण प्रदेश दुईपटक बजेट शून्यतामा गइसकेको छ । प्रदेश सभामा प्रस्तुत भएको बजेट अलपत्र परेपछि सुदूरपश्चिम अहिले बजेट शून्यताको अवस्थामा छ । 

सुझावित समाचार