रोल्पाको उवामा पहिरोमा परी दुईको मृत्यु, १० बेपत्ता

बिहिबार, २८ साउन, २०८३
डिजिटल संस्करण

रोल्पाको थबाङ गाउँपालिका– ५, उवा कोटलभारामा गएराति आएको पहिरोमा परी दुईजनाको ज्यान गएको छ भने १० जना बेपत्ता भएका छन् । गएराति करिब ८:४० बजे आएको पहिरोले आधा दर्जन घर तथा गोठ बगाएको प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले जानकारी दिए । मृत्यु हुनेहरूमा १८ वर्षीया शान्ति पुनमगर र ६० वर्षीय कमलबहादुर पुनमगर रहेका छन् ।

पहिरोमा पुरिएका २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगरको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीको भनाइ छ । पहिरोमा परी नेपाल मगर संघका पूर्व केन्द्रीय अध्यक्ष नवीन रोकामगरकी आमा हस्तमा रोकामगरको पनि मृत्यु भएको छोराद्वारा पुष्टि गरिए पनि प्रहरीले केही बताएको छैन । 

पहिरो खसेको थाहा पाएलगत्तै प्रहरी त्यसतर्फ हिँडे पनि राति करिब १०:४५ बजे मात्र घटनास्थल पुगेको थियो । पहिरोमा परेर १० जना बेपत्ता भएको र उनीहरूको खाेजी जारी रहेको प्रहरी नायब उपरीक्षक बाखुले जानकारी दिए ।

बिहीबार बिहानसम्म प्रहरी र स्थानीयको सक्रियतामा खाेजी कार्य जारी रहेको छ । सुलिचौर–थबाङ सडकखण्डको उवा पहिरोको उच्च जोखिम क्षेत्रका रूपमा मानिन्छ । सडक बिग्रेका कारण घटनास्थलसम्म हिँडेर पुग्नुपर्ने र उद्धार गरिएकाहरूको उपचारका लागि पनि बोकेर सुलिचौर ल्याउनुपर्ने भएकाले घाइतेहरू पनि जोखिममा नै परेका छन् ।

सुझावित समाचार