नेसनल लाइफको ब्रान्च म्यानेजर्स कन्फेरेन्स

मंगलबार, २६ साउन, २०८३
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले ब्रान्च म्यानेजर्स कन्फेरेन्स गोरखामा सम्पन्न गरेको छ । ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजना गरिएको चारदिने सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, भावी रणनीति, प्रतिस्पर्धात्मक बिमा बजारका चुनौतीलगायतका विषयमा छलफल गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीकी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले जीवन बिमा व्यवसाय प्रतिस्पर्धात्मक हुँदै गइरहेको उल्लेख गर्दै कर्मचारीलाई एआईबारे समेत प्रशिक्षण दिने गरी डिजिटल मार्केटिङलाई प्रवर्द्धन गर्नुपर्ने बताइन् । त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशप्रसाद खत्रीले चालू आवको सुरुवात केवल क्यालेन्डर परिवर्तन नभई सोच, प्रतिबद्धता र भविष्यलाई अझ उचाइमा पुर्याउन प्रण गर्ने शुभ अवसर रहेको बताए ।

नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणका निर्देशक शम्भुराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण प्रदान गरे । जीवन बिमाका माध्यमबाट समेत सम्पत्ति शुद्धीकरण हुने सम्भावना बढ्दै गएको भन्दै उनले कम्पनीमा कार्यरत सबै तहका कर्मचारीहरू यस विषयमा विशेष चनाखो हुनुपर्नेमा उनको जोड थियो । प्रशिक्षक विश्वराज पौडेलले एआईसम्बन्धी प्रशिक्षण दिए । प्रतिस्पर्धात्मक बिमा बजारमा व्यवसाय विस्तारका चुनौती सामना गर्दै व्यावसायिक सफलता हासिल गर्ने विषयमा श्रीलंकाबाट आएका प्रशिक्षक सुरन डी सिल्भाले पनि प्रशिक्षण दिए ।

सम्मेलनमा गत आवमा शाखा सञ्चालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालयलाई सम्मान गरिएको थियो । साथै, अधिकतम प्रथम बिमाशुल्क संकलन, अधिकतम सक्रिय अभिकर्ता उत्पादन र अधिकतम बिमालेख संख्याका आधारमा उत्कृष्ट तीन शाखा कार्यालयलगायत चेयरपर्सन क्लब योजना र सिइओ क्लब योजनामा सबैभन्दा धेरै अभिकर्तालाई छनोट गराउन सफल उत्कृष्ट एक–एक शाखा कार्यालयलाई कम्पनीका अध्यक्षले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

सुझावित समाचार