व्यावहारिक एआई शिक्षाको खाँचो

आइतबार, २४ साउन, २०८३
डिजिटल संस्करण
  • अबका दिनमा एआई शिक्षा कुनै बैंकिङ वा ‘फिनटेक’ क्षेत्रका लागि मात्र नभई सम्पूर्ण व्यावसायिक क्षेत्रमा लक्षित गरिनुपर्छ

कृत्रिम बुद्धिमत्ता (एआई) अहिले विश्वभर तीव्र रूपमा विस्तार भइरहेको प्रविधि हो । नेपालमा पनि एआई र डिजिटल रूपान्तरणप्रति चासो बढ्दै गएको छ । तर, एआई अझै पनि आइटी क्षेत्रका व्यक्तिका लागि मात्र आवश्यक विषय हो भन्ने धारणा व्यापक छ । वास्तविकता भने फरक छ । एआई कुनै निश्चित पेसा वा विषयमा मात्र सीमित नभई दैनिक जीवनदेखि व्यापार, व्यवस्थापन, शिक्षा, स्वास्थ्य, बैंकिङ, बिमा, उद्योग र सेवाक्षेत्रसम्म सबैका लागि उपयोगी साधन बनिसकेको छ । 

दैनिक कामलाई छिटो, सहज र प्रभावकारी बनाउन एआईले ठुलो भूमिका खेल्न सक्छ । रिपोर्ट तयार पार्ने, डाटा विश्लेषण गर्ने, प्रस्तुतीकरण (प्रेजेन्टेसन) बनाउने, सूचना व्यवस्थापन गर्ने तथा नियमित प्रशासनिक कामलाई छिटो र गुणस्तरीय बनाउन यसको प्रयोग बढिरहेको छ । जसरी मोबाइल फोनले मानिसको जीवनलाई सहज बनाएको छ, त्यसरी नै एआई पनि काम गर्ने शैली परिवर्तन गर्ने एउटा शक्तिशाली उपकरणका रूपमा विकसित हुँदै गएको छ ।

यही आवश्यकतालाई ध्यानमा राख्दै एआई शिक्षा र डिजिटल लिडरसिपका कार्यक्रमको उद्देश्य प्रविधि सिकाउने मात्र होइन, एआईका विभिन्न टुल्स प्रयोग गरेर व्यवसायको उत्पादकत्व बढाउने, दैनिक कामलाई सहज बनाउने, बढी प्रतिफल प्राप्त गर्ने तथा अरूभन्दा बढी प्रभावकारी र नतिजामुखी बन्ने सिप विकास गर्नु हो । डिजिटल लिडरसिपले संस्था र व्यवसायलाई डिजिटल माध्यमबाट कसरी रूपान्तरण गर्ने, सञ्चालन प्रणालीलाई कसरी डिजिटाइज गर्ने र प्रतिस्पर्धी बनाउने भन्ने विषयमा केन्द्रित हुन्छ ।

विश्वका धेरै मुलुकमा एआईको प्रयोग विभिन्न क्षेत्रमा भइसके पनि नेपालमा यसको प्रयोग अझै च्याटजिपिटीबाट सामग्री लेख्ने वा भाषण तयार पार्ने सीमित अभ्यासमै केन्द्रित देखिन्छ । यसभन्दा बाहिर गएर एआईलाई व्यावसायिक, व्यवस्थापकीय र औद्योगिक काममा कसरी प्रयोग गर्ने भन्ने ज्ञान र अभ्यासको नितान्त अभाव छ ।

नेपालमा अधिकांश संस्थाले एआईका नाममा अनलाइन वा सैद्धान्तिक कक्षा सञ्चालन गरिरहेका छन् । तर, विद्यार्थीले प्रत्यक्ष अभ्यास गर्न सक्ने भौतिक एआई ल्याबको व्यवस्था लगभग छैन । अनलाइन भर्चुअल ल्याबहरू उपलब्ध भए पनि ती प्रयोग गर्न महँगा पर्न सक्छन् र सबै विद्यार्थीका लागि सहज हुँदैनन् । त्यसैले, आफ्नै भौतिक एआई ल्याब स्थापना गरेर विद्यार्थीलाई प्रत्यक्ष अभ्यास गराउनु आवश्यक छ । आवश्यक परेमा विद्यार्थीले अनलाइन भर्चुअल ल्याबको सुविधा पनि प्रयोग गर्न सक्नेछन् ।

अहिले कम्प्युटरको भौतिक क्षमता सीमित भए पनि क्लाउड प्रविधिमार्फत आवश्यकताअनुसार भर्चुअल कम्प्युटिङ स्रोत प्रयोग गर्न सकिन्छ । त्यसैले, एआई शिक्षामा सिद्धान्त पढाउनु मात्र पर्याप्त हुँदैन । विद्यार्थीले ल्याबमै बसेर कम्प्युटरमा अभ्यास गर्दै परिणाम आफैँ अनुभव गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छ ।

नयाँ प्रविधि प्रयोग गर्दा सुरुमा डर लाग्नु स्वाभाविक हो । त्यसैले, विद्यार्थीलाई प्रविधिसँग सहज बनाउन प्रत्यक्ष अभ्यासको वातावरण महत्वपूर्ण मानिन्छ । ल्याबमा बसेर प्रयोग गर्दा उनीहरूले आफ्नै प्रयासबाट सिक्ने अवसर पाउँछन् । पहिलो प्रयास सफल नभए पनि निरन्तर अभ्यासबाट सिप विकास हुँदै जान्छ ।

एआईलाई व्यवस्थापन शिक्षासँग जोडेर पढाउँदा यसको माग बजारमा स्वतः सिर्जना हुने विश्वास गरिएको छ । सही सिप भएको व्यक्तिले उद्योगमा आफ्नो आवश्यकता आफैँ निर्माण गर्न सक्छ । अहिलेको प्रमुख उद्देश्य नयाँ जनशक्ति उत्पादन गर्नु मात्र नभई विभिन्न क्षेत्रमा कार्यरत जनशक्तिलाई नयाँ प्रविधिअनुसार ‘अपस्किल’ गर्नु हो । रोजगारीमा रहेका व्यक्तिले पनि आफ्नो कामलाई सहज, छिटो र प्रभावकारी बनाउन एआईको प्रयोग गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ ।

शिक्षण प्रणालीमा पनि परिवर्तन आवश्यक देखिन्छ । विशुद्ध शैक्षिक क्षेत्रका शिक्षकसँगै उद्योग तथा व्यवसायमा कार्यरत विज्ञलाई पनि शिक्षण प्रक्रियामा सहभागी गराएर ब्लेन्डेड मोडल अपनाउनुपर्ने आवश्यकता छ । सिद्धान्तले मात्र पुग्दैन, वास्तविक उद्योगमा काम गर्ने अनुभव पनि विद्यार्थीले प्राप्त गर्नुपर्छ ।

हाल धेरै कलेजले एआई वा आइटीका कार्यक्रम सञ्चालन गरिरहेको दाबी गरे पनि बजारमा पूर्ण विश्वास सिर्जना हुन सकेको छैन । एआई सुरुवातमा अत्यधिक चर्चामा आउँदा यसले संसार नै परिवर्तन गरिदिन्छ वा एआई नजान्ने व्यक्ति भविष्यमा सफल हुन सक्दैन भन्ने धारणा फैलिएको थियो । तर, एआईको वास्तविक गहिराइ, यसको सोच्ने तरिका र व्यावसायिक प्रयोगबारे धेरैले अझै बुझ्न सकेका छैनन् । धेरैको सोच च्याटजिपिटी प्रयोगमै सीमित छ ।

यस्तो अवस्थामा नेपालका शैक्षिक संस्थाले आफ्नै सर्भर र आवश्यक कम्प्युटिङ पूर्वाधारसहित भौतिक एआई ल्याब स्थापना गरेर विश्वासको वातावरण बनाउनुपर्ने आवश्यकता देखिएको छ । अहिलेसम्म नेपालका अधिकांश कलेजले यस्तो पूर्वाधार तयार गरेका छैनन् । भर्चुअल ल्याबमा मात्र निर्भर रहँदा नियमित व्यावहारिक अभ्यास महँगो र प्राविधिक रूपमा चुनौतीपूर्ण हुन सक्छ । एआईको प्रयोग कुनै एक क्षेत्रमा मात्र सीमित छैन । बिमा, स्वास्थ्य, बैंकिङ, शिक्षा, उद्योग, सरकारी कार्यालय वा अन्य कुनै पनि संस्थामा डाटा प्रशोधन, रिपोर्ट निर्माण, विश्लेषण तथा व्यवस्थापकीय निर्णयमा यसको उपयोग बढ्दै गएको छ । एआईले कामलाई छिटो, वस्तुनिष्ठ र विश्वसनीय बनाउन सहयोग पुर्याउँछ ।

एआई आएपछि जागिर खोसिने डर पनि व्यापक रूपमा व्यक्त गरिन्छ । तर, उपलब्ध तथ्यांकअनुसार सन् २०३० सम्म एआईले करिब ९२ मिलियन रोजगारी विस्थापित गर्ने र करिब १७० मिलियन नयाँ रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ । त्यसैले मुख्य चुनौती जागिरभन्दा पनि सिपको हो । समयअनुसार आफूलाई अपस्किल गर्दै नयाँ प्रविधिमा दक्ष बन्न सके जागिर गुम्ने जोखिम घट्छ । विगतमा टाइपराइटरबाट कम्प्युटरतर्फ रूपान्तरण भएझैँ अहिले एआई प्रयोग गरेर कामलाई अझ गुणस्तरीय र प्रभावकारी बनाउने समय आएको छ ।

एआई शिक्षा कुनै एउटा बैंकिङ वा ‘फिनटेक’ क्षेत्रका लागि मात्र नभई सम्पूर्ण व्यावसायिक क्षेत्रमा लक्षित गरिनुपर्छ । जहाँ व्यवस्थापन, डाटा प्रशोधन, रिपोर्टिङ र निर्णय प्रक्रिया हुन्छ, त्यहाँ एआई उपयोगी बन्न सक्छ ।

अहिले सामान्य आइटीसम्बन्धी ज्ञान धेरैका लागि आधारभूत आवश्यकता बनिसकेको छ । एआई शिक्षाले जनशक्तिलाई अपस्किल गर्ने लक्ष्य लिनुपर्छ । विद्यार्थीलाई अध्ययनसँगै कम्पनीमा काम गर्ने (स्टडी एन्ड वर्क) अवसर उपलब्ध गराउन उद्योगसँग सहकार्य गर्नुपर्छ । यसबाट विद्यार्थीले सिकेको ज्ञान तत्काल व्यवहारमा लागू गर्न सक्नेछन् । कम्पनीहरूले पनि आफ्ना कर्मचारीलाई तालिम दिएर निश्चित अवधिसम्म संस्थामै टिकाइराख्ने (बन्ड र रिटेन्सन) अवसर प्राप्त गर्न सक्छन् । तर, विद्यार्थीमा नामका पछि मात्र दौडिने प्रवृत्ति पनि चुनौतीका रूपमा देखिएको छ । नयाँ विषय बजारमा आएलगत्तै त्यसको वास्तविक गुणस्तर नहेरी नाम र प्रचारका आधारमा कलेज छनोट गर्ने प्रवृत्ति बढेको छ । अहिले धेरै संस्थाले एआई पढाइरहेको दाबी गरे पनि सबैसँग दक्ष जनशक्ति, आवश्यक पूर्वाधार र वास्तविक एआई ल्याब छैन । कतिपयले सर्भरबिनै ‘एआई ल्याब’ भएको भन्दै प्रचार गर्ने गरेका उदाहरणसमेत छन् । वास्तवमा एआई ल्याबका लागि सामान्य कम्प्युटर मात्र नभई उच्च क्षमताको विशेष सर्भर आवश्यक हुन्छ ।

विश्वभर एआई अहिले ठुलो व्यावसायिक अवसर बनेको छ । दैनिक नयाँ सेमिनार र कार्यक्रम भइरहेका छन् । तर, यसको वास्तविक उपयोग, सीमितता तथा मानवीय मनोविज्ञान र भावनासँगको सम्बन्धबारे अझै धेरै अध्ययन हुन बाँकी छ ।

एआईसँगै नयाँ जोखिम पनि बढेका छन् । नक्कली फोटो, नक्कली भिडियो, मानिसले नबोलेका कुरा बोलेजस्तो देखाउने डिपफेक सामग्रीजस्ता प्रविधिको दुरुपयोग बढ्दै गएको छ । त्यसैले सरकारले एआई नीति वा आइटी नीतिअन्तर्गत स्पष्ट कानुनी व्यवस्था र प्रभावकारी नियमन ल्याउनुपर्ने आवश्यकता छ, ताकि यसको प्रयोग अपराध वा गलत उद्देश्यका लागि नहोस् ।

सुरक्षा निकायलाई पनि एआईद्वारा सिर्जित सामग्री र वास्तविक सामग्री छुट्याउन सक्ने क्षमता विकास गर्न तालिम आवश्यक छ । साथै, सिनेमा हल वा सुर्तीजन्य पदार्थमा दिइने चेतावनीजस्तै एआईको दुरुपयोग गर्दा कानुनी कारबाही र जेल सजाय हुन सक्ने विषयमा व्यापक जनचेतना फैलाउनुपर्ने आवश्यकता छ । विद्यालय तहदेखि नै विद्यार्थी र प्रविधिसँग कम परिचित नागरिकलाई सही र गलत एआई सामग्री छुट्याउन सक्ने डिजिटल साक्षरता दिनुपर्ने आवश्यकता पनि उत्तिकै महत्वपूर्ण मानिएको छ ।

एआई ल्याबमा विद्यार्थीलाई जेमिनाई, च्याटजिपिटीलगायत टुल्समा प्रभावकारी ‘प्रम्प्ट’ लेख्ने, डाटा विश्लेषण गर्ने, क्विज बनाउने, कोडिङ गर्ने तथा विभिन्न एआई सफ्टवेयर प्रयोग गर्ने व्यावहारिक सिप सिकाउनुपर्छ । यसका दुई पाटा छन् ।

कलेज छनोट गर्दा शुल्क वा प्रचारका आधारमा निर्णय नगरी विद्यार्थी स्वयं कलेज पुगेर पाठ्यक्रम, प्रयोगशाला, पूर्वाधार र सिकाइको गुणस्तर मूल्यांकन गरेर मात्र भर्ना हुनुपर्छ । एआई शिक्षाको सफलताका लागि नामभन्दा बढी गुणस्तर, व्यावहारिक अभ्यास र विश्वासयोग्य पूर्वाधार नै निर्णायक हुनेछ । 

सुझावित समाचार