२०औँ एसियाडको ‘क्लोज क्याम्प’ सुरु

प्रतियोगिता सुरु हुन ४१ दिन बाँकी रहँदा सरकारले होटेलमा सारेर प्रशिक्षण गराउन थालेको हो

शनिबार, २३ साउन, २०८३
डिजिटल संस्करण
२०औँ एसियाडको ‘क्लोज क्याम्प’ सुरु

प्रशिक्षणका लागि भारत जाने बक्सिङ टोली ।

जापानको नागोया र आइचीमा हुने २०औँ एसियाली खेलकुदको ‘क्लोज क्याम्प’ सुरु भएको छ । यसअघि प्रशिक्षणमा मात्रै सीमित रहेका खेलाडी तथा प्रशिक्षकलाई सरकारले सिनामंगलस्थित रोयल बुटिक र गौशालास्थित पशुपति बुटिकमा ‘क्लोज क्याम्प’ राखेको हो । सरकारले चीनमा आयोजना भएको १९औँ एसियाली खेलकुद प्रतियोगिता सम्पन्न भएलगत्तै ‘मिसन २६’ सुरु गरेको थियो । 

तत्कालीन सदस्यसचिव टंकलाल घिसिङले विगतको भन्दा प्रभावकारी सहभागिता बनाउने उद्देश्यसहित पहिलो चरणको प्रशिक्षणमा पाँच खेल (तेक्वान्दो, बक्सिङ, जुडो, कराँते र उसु)लाई प्रशिक्षणमा समावेश गरेका थिए । त्यसपछि सरकारले विभिन्न समयमा विभिन्न खेलसंख्या बढाउँदै लगेको थियो । त्यसवेलादेखि नै खेलाडी आफ्नौ खर्च र व्यवस्थापनमा प्रशिक्षणमा आउने गरेका थिए । सरकारले प्रशिक्षणमा सहभागी खेलाडी तथा प्रशिक्षकलाई खुराक खर्चका रूपमा दैनिक तीन सय रुपैयाँ र आठ हजार रुपैयाँबराबरको किट्स सेट उपलब्ध गराउँदै आएको थियो । 

अब भने प्रतियोगिता सुरु हुन करिब ४१ दिन बाँकी रहँदा सरकारले होटेलमा सारेर प्रशिक्षण गराउन थालेको हो । २०औँ एसियाली खेलकुद ३ असोजबाट सुरु हुँदै छ । नेपालबाट २२ खेलमा ८० पुरुष र ५६ महिला गरी कुल एक सय ३६ खेलाडी प्रतियोगितामा सहभागी हुनेछन् । यद्यपि, छनोट भएर पनि सरकारको लापरबाहीका कारण स्पोर्टस् प्रतियोगितामा सहभागी हुन पाएनन् । 

यी हुन् ‘क्लोज क्याम्प’ रहेका खेल
सरकारले रोयलमा जुडो, उसु, महिला भलिबल, बक्सिङ, कराँतेको काता टोली, डान्स स्पोर्टस्, साइक्लिङ, गल्फ, एथलेटिक्स र आर्चरीका खेलाडी र प्रशिक्षकलाई राखेको छ । पशुपतिमा कराँतेको कुमुते टोली, तेक्वान्दो, सफ्ट टेनिस, टेनिस, पौडी, स्क्वास, ब्याडमिन्टन र टेबलटेनिस टोलीलाई व्यवस्थापन गरेको जनाएको छ । यी १५ खेलमध्ये उसु, साइक्लिङ, गल्फ, तेक्वान्दो, टेनिस, पौडी र टेबलटेनिसका केही खेलाडी वैदेशिक प्रशिक्षणमा छन् । त्यस्तै, स्केटबोर्ड, कुस्ती, क्यानोइङ र पुरुष–महिला कबड्डीका सबै खेलाडी वैदेशिक प्रशिक्षणमा रहेका छन् । 

बक्सिङ टोलीले भारतमा प्रशिक्षण गर्ने 
बक्सिङले २०औँ एसियाली खेलकुदको तयारी भारतको आसामस्थित गुवाहटीमा गर्ने भएको छ । त्यसका लागि सात खेलाडीसहित नौ सदस्यीय नेपाली टोली सोमबार भारत जाँदै छ । एसियाली खेलकुदमा चार पुरुष र तीन महिलाले नेपालको चुनौती पेस गर्नेछन् ।

पुरुष ५५ केजीमुनि चन्द्रबहादुर थापा, ६० केजीमुनि खगेन्द्र रोकामगर, ७० केजीमुनि दानबहादुर दर्लामी र ९० केजीमुनि रविन नेपालले प्रतिस्पर्धा गर्नेछन् । महिला ५१ केजीमुनि रमिशा श्रेष्ठ, ५४ केजीमुनि अस्मिता तामाङ र ६५ केजीमुनि कुसुम तामाङ सहभागी हुनेछन् ।

खेलाडीले स्पोर्टस् अथोरिटी अफ इन्डिया (साई)अन्तर्गत नेसनल सेन्टर अफ एक्सिलेन्समा ४० दिन तयारी प्रशिक्षण गर्ने नेपाल बक्सिङ महासंघका सचिव पुष्करराज पन्तले जनाएका छन् । टोली त्यतैबाट जापान जानेछ । टोलीलाई नेपाल ओलम्पिक कमिटी र राखेपले फरक–फरक रूपमा बिदाइ गरेका छन् । रविनबाहेक सबैको पहिलो एसियाड सहभागिता हो । रविनले १९औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए । चन्द्र सन् २०२५ मा दुबईमा भएको आइबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता पनि हुन् । चन्द्रको कांस्य पदक नेपाली बक्सिङको इतिहासमा हालसम्मकै ठुलो हो । 

प्रशिक्षकमा राज श्रेष्ठ तथा दीपक महर्जन छन् । व्यवस्थापकमा नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारी रहेका छन् । भण्डारी पछि भारत जानेछन् । एसियाली खेलकुदमा समग्रमा बक्सिङले तीन फरक संस्करणमा हालसम्म ६ कांस्य पदक जितेको छ । 

बक्सिङले दक्षिण कोरियाको सिओलमा सन् १९८६ मा भएको १०औँ संस्करणमा पहिलोपटक पदक जितेको थियो । त्यसवेला दलबहादुर रानामगर, तुलबहादुर थापा, सुशील पोखरेल र मनोजबहादुर श्रेष्ठले कांस्य पदक जितेका थिए । बाँकी दुई संस्करणमा बक्सिङले पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको थियो ।

सन् १९९० मा चीनको बेइजिङमा भएको ११औँ संस्करणमा चित्रबहादुर गुरुङ तथा सन् २०१० मा चीनकै ग्वाङझाउमा भएको १६औँ एसियाडमा हालका टोलीका प्रशिक्षकमध्येका दीपकले नेपाललाई कांस्य पदक दिलाएका थिए । दक्षिण कोरियाको इन्चोनमा भएको १७औँ संस्करणदेखि बक्सिङ पदकविहीन छ । 

सुझावित समाचार