स्थानीयलाई अंकित मूल्यमै आइपिओ दिलाउन अर्थ समितिको निर्देशन

शुक्रबार, २२ साउन, २०८३
डिजिटल संस्करण

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई १०० रुपैयाँ अंकित मूल्यमै अनिवार्य रूपमा १० प्रतिशत सेयर उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ९ को उपनियम ४ मा संगठित संस्थाले आफ्नो जारी पुँजीको १० प्रतिशतसम्म सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याउनुपर्ने स्पष्ट व्यवस्था छ । तर, सो व्यवस्थाबमोजिम जलविद्युत् आयोजना प्रभावित क्षेत्रका नागरिकले पाउनुपर्ने सेयर प्राप्त गर्न नसकेको भन्दै सरोकारवालाले गुनासो गर्नुका साथै अर्थसमितिमा उजुरीसमेत दर्ता गराएका थिए ।

स्थानीय बासिन्दाको हक खोसिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समितिले नियमअनुसारको हक तत्काल सुनिश्चित गर्न निर्देशन दिएको हो ।

समितिको बैठकले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय नागरिकलाई नियमावलीको सोही व्यवस्थाबमोजिम १० प्रतिशत सेयर अंकित मूल्य सय रुपैयामै उपलब्ध गराउने व्यवस्था तत्काल कार्यान्वयन गर्न र गराउन अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई स्पष्ट निर्देश गरेको छ ।

संसदीय समितिको यो निर्णयसँगै अब जलविद्युत् कम्पनीहरूले आयोजना प्रभावित स्थानीयका लागि छुट्याइने सेयर अंकित मूल्यमै जारी गर्नुपर्ने भएको छ । 

See More On

सुझावित समाचार