इतिहासमा आज

बुधबार, २० साउन, २०८३
डिजिटल संस्करण

सन् २०१९ : भारत सरकारले संविधानको धारा ३७० खारेज गर्दै कस्मिर राज्यको विशेषाधिकार खोस्यो । योसँगै सरकारले राज्यको हैसियतसमेत खोस्दै सो क्षेत्रलाई ‘जम्मु–कस्मिर’ र ‘लद्दाख’ दुई युनियन टेरिटोरी घोषित गर्यो ।

सन् १५८३ : हम्फ्रे गिलबर्टले ‘न्युफाउन्डल्यान्ड’ कब्जा गरेर अंग्रेज राजाको भएको घोषणा गरे । योसँगै उत्तर अमेरिकाको पहिलो ब्रिटिस उपनिवेश कायम भयो । 

सन् १७७२ : पोल्यान्डको पहिलो विखण्डनमा अस्ट्रिया, प्रुसिया र रुसले यसको झन्डै एकतिहाइ भूमि आफूमा बाँडेर लिए ।

सन् १८५८ : अमेरिका र बेलायतबिच सम्पर्क स्थापित गर्ने गरी आन्द्र महासागरको पिँधमा टेलिग्राफ केबल बिछ्याइयो । एघार दिनपछि यसै केबलमार्फत ब्रिटिस महारानी भिक्टोरिया र अमेरिकी राष्ट्रपति जेम्स बुकननले एक–अर्कालाई बधाई दिए ।

सन् १८६१ : गृहयुद्धबिच राजस्व बढाउन राष्ट्रपति अब्राहम लिंकनले पहिलो अमेरिकी आयकर कानुन पारित गर्दै ८०० डलरमाथिका आयमा तीन प्रतिशत कर लगाए ।

सन् १९२१ : इस्तानबुलका सुल्तानले देशलाई टुक्य्राउने गरी मित्रशक्तिसँग सम्झौता गरेपछि प्रतिद्वन्द्वी संसद् (ग्रान्ड नेसनल एसेम्ली) अंकरामा बस्यो । संसद्ले मुस्तफा केमललाई आफ्नो सैन्य तथा कार्यकारी प्रमुख तोक्यो । केमलको नेतृत्वमा टर्कीले मित्रशक्तिविरुद्ध जित हासिल गरेसँगै इस्तानबुलको सुल्तान अपदस्थ भए र देश गणतन्त्र बन्यो ।

सन् १९६० : बुर्किना फासो (तत्कालीन अपर भोल्टा)ले फ्रान्सको उपनिवेशबाट स्वतन्त्रता प्राप्त गर्यो । २४ वर्षपछि देशको नाम बुर्किना फासोमा बदलिएको थियो ।

सन् १९६२ : दक्षिण अफ्रिकी रंगभेदविरोधी अभियन्ता नेल्सन मन्डेलालाई जोहानेसबर्गको उपनगर रिभोनियामा सरकारले गिरफ्तार गर्यो । एक वर्ष लामो सुनुवाइपछि मन्डेलालाई कुख्यात रोबेन टापु जेलमा कैद गरियो, जहाँ उनले अर्को १८ वर्ष बिताए ।

सन् १९६३ : अमेरिका, सोभियत संघ र बेलायतले ‘आंशिक आणविक परीक्षण प्रतिबन्ध सन्धि’मा हस्ताक्षर गरे । सन्धिले भूमिगत रूपमा बाहेक जमिन, पानीमुनि वा अन्तरिक्षमा आणविक हतियारको परीक्षण गर्न प्रतिबन्ध लगायो ।

सन् २०२४ : विद्यार्थी आन्दोलन चर्किंदै गएपछि सेनाले साथ छाडेसँगै बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिइन् र छिमेकी भारतको शरणमा लागिन् । 
 

सुझावित समाचार