सिराहाकाे गोलबजारमा थप नौ घण्टाका लागि कर्फ्यु खुकुलो

आइतबार, १७ साउन, २०८३
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय सिराहाले गोलबजार क्षेत्रमा आइतबार थप नौ घण्टाका लागि कर्फ्यु खुकुलो बनाइएको  छ । सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गर्दै आइतबार बिहान १० बजेदेखि राति ७ बजेसम्मका लागि कर्फ्यु थप खुकुलो बनाइएको जनाएका छन् । ‘स्थानीय परिस्थितिको थप विश्लेषण गरी कर्फ्यु थप खुकुलो पार्ने वा फिर्ता लिने सम्बन्धमा पुनः सूचित गरिनेछ,’ सूचनामा भनिएको छ ।

उक्त अवधिमा गोलबजार क्षेत्र हुँदै सञ्चालन हुने लामो दूरीका सवारीसाधन सञ्चालनमा आवश्यक सहजीकरण गर्न, कर्फ्यु खुकुलो पारिएको अवधिमा पाँचजनाभन्दा बढी समूहमा भेला नहुनसमेत सूचनामार्फत सचेत गराइएको छ ।

यसअघि जिल्ला प्रशासनले स्थानीय सुरक्षा अवस्थाको विश्लेषण र आमसर्वसाधारणले दैनिक उपभोग्य सामग्री व्यवस्थापन गर्न शनिबार अपराह्न ३ बजेदेखि साँझ ५ बजेसम्म कर्फ्यु खुकुलो गरेको सूचना जारी गरेको थियो ।

स्थानीय प्रशासनले गत बिहीबार दिउँसो २ बजेदेखि गोलबजार क्षेत्रमा कर्फ्यु घोषणा गरेलगत्तै गोलबजार- ४, क्याम्पस चोकनजिक भएको प्रदर्शनमा सिराहाको औरही गाउँपालिका- २, तुलसीपुरका १७ वर्षीय गाणेश यादवको मृत्यु भएपछि प्रदर्शन उग्र भएको थियो ।

प्रदर्शनको क्रममा एबी मलसहित एक दर्जन निजी घर, पसल, २० थान मोटरसाइकल र एउटा टेम्पोमा आगजनी भएको थियो । प्रदर्शनकारीले हानेको ढुंगा लागेर २२ सुरक्षाकर्मी र एक सर्वसाधारण घाइते भएपछि चोक, बजार क्षेत्रमा ठुलो संख्यामा नेपाली सेनासहितका सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

See More On

सुझावित समाचार