नयाँ पुस्ताका लागि मार्गदर्शक गुरुपूर्णिमा

बुधबार, १३ साउन, २०८३
डिजिटल संस्करण
  • आधुनिक शिक्षाले बरालिएका नयाँ पुस्तालाई सही जीवनमार्ग, संस्कार र मूल्यबोधतर्फ डोर्याउने प्रेरणाको पर्व हो– गुरुपूर्णिमा

हाम्रो देश नेपाल ऋषिमुनिहरूको हजारौँ वर्षको साधना र ज्ञानबाट निर्मित स्वतन्त्र सनातनी देश हो । यिनै बौद्धिक साधकको निरन्तर साधनाबाट विश्वकै सर्वप्राचीन शैक्षिक परम्पराको विकास हाम्रो परम्परामा भएको थियो । गुरुकुल परम्पराको विकास साधना, समर्पण र सेवाभावलाई केन्द्रमा राखेर भएको हुँदा यसले सधैँ ‘सर्वे भवन्तु सुखिनः’ र ‘परोपकार पुण्याय’जस्ता महानतम् विचारलाई अंगीकार गर्छ ।

गुरुकुल परम्पराले सर्वदा वेद र पुराणलाई केन्द्रमा राखेको छ । वेद ज्ञानको भण्डार हो । यसले ज्ञानको निष्पक्ष वकालत गर्छ । यता पुराणले भने वेदको ज्ञानलाई कथा, व्यावहारिक घटना र सामाजिक परिवेश सुहाउँदो तरिकाबाट मानवलाई सुशिक्षित गराउँछ । वेद संरक्षण तथा संवर्द्धनमा महर्षि वेदव्यासको अद्वितीय योगदान छ । उनले वेदका मन्त्रलाई कार्यगत आवश्यकताका आधारमा चार भागमा विभाजन गरेका छन् । वेदकै ज्ञानलाई वेदव्यासले सामाजिक परिवेश सुहाउँदो र सरल तरिकाले समेटेर अठार पुराण लेखेका छन् । शास्त्रीय ज्ञानलाई समाजमा ल्याउन वेदव्यासले पुर्याएको योगदान अद्वितीय छ । 

पूर्वीय अध्ययन परम्परा, विशेषगरी गुरुकुल परम्परामा वेदव्यास, कश्यप, गौतम, याज्ञवल्क्यलगायत अनेकौँ ऋषि तथा महर्षिको विशिष्ट योगदान छ । पूर्वीय परम्परा गुरुकुलीय परम्परा हो । यसमा चेतनाको उपासना र संरक्षण गरिन्छ । यस परम्पराका हरेक महापुरुषले गुरुकुलमा शिक्षा लिएका छन् । कृष्ण, रामदेखि लिएर सिद्धार्थ गौतम (पछि भगवान् बुद्ध)ले पनि ज्ञानप्राप्तिका लागि तत्कालीन आचार्यबाटै प्रारम्भिक शिक्षा र साधनासम्बन्धी मार्गदर्शन प्राप्त गरेका थिए । यसरी गुरु–शिष्य परम्पराका रूपमा संस्थापित गुरुकुल परम्पराले वर्तमान ज्ञान, दर्शन र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ ।

हामीले यही परम्पराको सम्झना र आचार्यहरूको सम्मानका लागि हरेक वर्ष आषाढ शुक्ल पूर्णिमालाई गुरुपूर्णिमाका रूपमा मनाउँदै आएका छौँ । यस वर्ष मलमास परेकाले गुरुपूर्णिमा आज (१३ साउन) परेको छ । गुरुपूर्णिमा व्यास पूर्णिमाका नामले पनि चिनिन्छ । वेदका विभाजक तथा पुराण र महाभारतका रचयिता कृष्ण द्वैपायन व्यासको जन्मदिन पनि यसै दिन भएकाले यसको महत्व झनै उच्च रहेको छ । वेदको विभाजन र पुराणको रचनाका माध्यमबाट समाजमा ज्ञानको परम्परा संरक्षण गरेको हुँदा वेदव्यासलाई गुरुकुल परम्परामा सबैका गुरुका रूपमा यस दिन श्रद्धापूर्वक वेदव्यासको तस्बिर र मूर्तिमा पूजा गर्ने गरिन्छ ।

वैदिक शिक्षाको उद्देश्य केवल जीविकोपार्जनका लागि ज्ञान हासिल गर्नु मात्र नभई चरित्र निर्माण, आत्मअनुशासन, संस्कार, सेवा, आत्मबोध तथा जीवनको समग्र विकास गर्नु हो । यस परम्परामा गुरु र शिष्य एउटै आश्रममा बसेर शिक्षा ग्रहण गर्थे, जसले गर्दा शिष्यले केवल शास्त्रीय ज्ञान मात्र होइन, जीवन जिउने सही कला, नैतिकता, अनुशासन र व्यावहारिक सिपसमेत सिक्थे । जसरी अग्निको सम्पर्कमा आउने सबै कुरा अग्निमय हुन्छ, त्यसरी नै आचार्यको सान्निध्यमा आउने व्यक्तिमा पनि ज्ञान, चरित्र र संस्कारको ज्योति प्रज्ज्वलित हुनुपर्छ भन्ने विशिष्ट मान्यता गुरुकुल परम्परामा रहेको छ । गुरुकुलीय शिक्षा प्रणाली विश्वकै सबैभन्दा पुरानो, समृद्ध र प्रतिष्ठित शिक्षा प्रणालीमध्ये एक हो । गुरुकुल प्रणालीमा विद्यार्थी (शिष्य)ले गुरुको आश्रममा बसेर शिक्षा प्राप्त गर्नुका साथै प्राकृतिक र शान्त वातावरणमा आत्मबोधको अभ्यास, अनुशासन, सेवा, आत्मनिर्भरता र संस्कारको शिक्षा सिकिरहेको हुन्छ ।

गुरु र शिष्यको सम्बन्ध केवल शिक्षा लिने र दिने मात्र नभई समाजका लागि आदर्श व्यक्तित्व निर्माण गर्नु, समाजको मार्गदर्शक, संरक्षक र जीवनद्रष्टा उत्पादन गर्नु पनि हो । गुरुकुलमा गुरु–शिष्यबिच गहिरो विश्वास, सम्मान र आत्मीय सम्बन्ध रहेको हुन्छ, जसले गर्दा विद्यार्थीको व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका रहन्छ । मौखिक माध्यमबाट गुरुले पाठ सुनाउने र शिष्यले त्यसलाई कण्ठस्थ गर्नु गुरुकुलको विशिष्ट परम्परा हो । यसले गर्दा जुनकुनै अवस्थामा पनि शास्त्र चिन्तन नछुट्ने हुँदा यो परम्परा हजारौँ वर्षसम्म गुरुशिष्य परम्पराका रूपमा हस्तान्तरण हुँदै आएको छ ।

प्राचीन शिक्षाको पाठ्यक्रम अत्यन्त व्यापक थियो । यसमा वेद, उपनिषद्, वेदांग, आयुर्वेद, गणित, खगोलशास्त्र, दर्शन, साहित्य, संगीत, नृत्य, कला तथा नैतिक शिक्षालगायत विषय समावेश थिए । शिक्षा प्रणालीको मुख्य उद्देश्य केवल रोजगारी वा जीविकोपार्जन मात्र नभई आत्मसाक्षात्कार र जीवनको वास्तविक उद्देश्यको बोध गराउनु हुन्थ्यो । सत्य, अहिंसा, करुणा, संयम र धर्मपालनजस्ता गुणको विकासमा पनि सनातनी गुरुकुल परम्पराको उत्तिकै महत्व रहँदै आएको छ । गुरुकुल परम्परामा शिक्षालाई फगत जागिरका लागि होइन, शिक्षा जीवनका लागि हुनुपर्छ । शिक्षाले सानो घेरामा स्वार्थी समूहसँग बसेर सामान्य फाइदा लिन सिकाउनु हुँदैन, बृहत्तर संसारको समृद्धि र उन्नतिका लागि चिन्तन गर्न सिकाउनुपर्छ ।

आधुनिक शिक्षण विधिले व्यक्तिलाई व्यक्ति र स्वार्थकेन्द्रित बनाउन सिकाउँदै छ । यसैको दुष्परिणाम हो, आधुनिक समयमा देखा परेका नकारात्मक भावनायुक्त अतृप्त र अव्यस्थित जनशक्तिको उत्पादन । त्यसैले शिक्षालाई परम्परा, संस्कृति र संस्कारको संगम बनाउने गरी परिवर्तन गर्न आवश्यक छ । आधुनिक शिक्षाले बरालिएका नयाँ पुस्तालाई सही जीवनमार्ग, संस्कार र मूल्यबोधतर्फ डोर्याउने प्रेरणाको पर्व हो– गुरुपूर्णिमा ।

(ज्योतिष तथा वास्तुविद् रिजाल दक्षिण एसियाली ज्योतिष महासंघका पूर्वमहासचिव हुन्)

सुझावित समाचार