नागरिक लगानी कोष र लमजुङको राइनास नगरपालिकाबिच नागरिक पेन्सन योजना सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र नगरपालिकाका नगर प्रमुख खड्गबहादुर गुरुङले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार नगरपालिकाले आफ्ना करार कर्मचारीलाई नागरिक पेन्सन योजनामा आबद्ध गराउनेछ । यसका लागि पालिकाको तर्फबाट दुई हजार पाँच सय रुपैयाँ र कर्मचारीको तर्फबाट पनि सोहीबराबरको रकम गरी प्रतिकर्मचारी मासिक पाँच हजार रुपैयाँ कोषमा जम्मा हुने बताइएको छ । सहभागी कर्मचारीले कोषको नियमानुसार एकमुस्ट वा ६० वर्ष उमेर पूरा भएपछि पेन्सन सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
पेन्सन लिन सुरु गरिसकेपछि सहभागीको मृत्यु वा वेपत्ता भएको अवस्थामा नियमानुसार पति वा पत्नीले सुविधा पाउने तथा दुवैको मृत्यु भएमा खातामा बाँकी रहेको रकम कानुनी हकवालालाई उपलब्ध गराइने उल्लेख छ ।
योजनामा सहभागी कर्मचारीको विवरण, केवाइसी र व्यक्तिगत खातासम्बन्धी अभिलेख नगरपालिकाले अद्यावधिक गरी कोषलाई उपलब्ध गराउनुपर्नेछ । कर्मचारीको रोजगारी समाप्त भएमा वा नगरपालिकाले योगदान जम्मा गर्न बन्द गरेमा सम्बन्धित व्यक्तिले आफ्नो खाता सञ्चालन गर्न वा बाँकी रकम फिर्ता लिन सक्नेछन् ।