गण्डकी प्रदेश प्रमुखले फिर्ता पठाए गाँजा विधेयक

आइतबार, १० साउन, २०८३
डिजिटल संस्करण
गण्डकी प्रदेश प्रमुखले फिर्ता पठाए गाँजा विधेयक

प्रदेश प्रमुख डिल्लीराज भट्ट

गाँजाखेतीलाई वैधानिकता दिन गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयक प्रदेश प्रमुखले फिर्ता गरेका छन् । २५ असारको प्रदेश सभा बैठकले ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेपछि सभामुख कृष्णप्रसाद धितालले प्रमाणित गरेर प्रमाणीकरणका लागि प्रदेश प्रमुख कार्यालय पठाएका थिए । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रमाणीकरण नगरी प्रदेश सभामै फिर्ता पठाएका हुन् ।

सभामुखले प्रमाणित गरेर प्रदेश सभा सचिवालयले ३० असारमा प्रमाणीकरणका लागि विधेयक पठाएकोमा प्रदेश प्रमुख भट्टले संविधानको धारा २०१ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि सन्देशसहित प्रदेश सभामा फिर्ता पठाएका हुन् । प्रदेश प्रमुख कार्यालयले विधेयक शुक्रबार फिर्ता पठाएको प्रवक्ता प्रवीण पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संघीय कानुनसँग बाझिएकाले विधेयक फिर्ता पठाएको प्रदेश प्रमुख कार्यालयले फिर्ता पठाएको स्रोतले बतायो ।

यसअघि २५ कात्तिक ०८२ मा प्रदेश सभा बैठकमा टेबुल भएको विधेयक आठ महिनापछि पारित भएको थियो । प्रदेशको भौगोलिक विशेषता, जमिनको उर्वरता र बालीगत उपयुक्तता तथा व्यावसायिक सम्भाव्यताका आधारमा प्रदेशमा उपलब्ध जमिनमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि व्यवस्थित रूपमा गाँजाखेती गर्न अनुमति प्रदान गरी रोजगारी र आयआर्जनमा अभिवृद्धि गर्ने उद्देश्यसहित गण्डकीले विधेयक पारित गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

पारित विधेयकमा खेती गरिएको गाँजाको कटान, भण्डारण, प्रयोग र बिक्री–वितरण गर्नुअघि गाँजामा रहेको रासायनिक पदार्थ टेट्राहाइड्रोक्यानिबिनोल अर्थात् टिएचसीको मात्रा ०.३ प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था गरिएको छ । 

विधेयकमा गाँजाको बोटको पात, फूल, बीउ वा फल जुन शब्दले गाँजा जातको भाँगवा सिद्धको पात, फूल, बीउ वा फल वा गाँजाको बोटबाट प्राप्त गरिएको प्राकृतिक खोटो, लिस्सा, चोप वा गाँजाको निस्सार वा निष्कर्षलाई ‘गाँजा’ भनिएको छ भने लागुऔषधको रूपमा प्रयोग हुन सक्ने गाँजाको चोप, खोटजस्ता पदार्थबाहेकका गाँजाको बोटबाट औद्योगिक कच्चा पदार्थ तथा औषधीजन्य कच्चा पदार्थको रूपमा प्रयोग गर्न सकिने गाँजाको डाँठ, बोक्रा, पात, फूल, फल, निस्सार वा जराजस्ता पदार्थलाई ‘गाँजाजन्य पदार्थ’, औषधि व्यवस्था विभागमा दर्ता भएको औषधि उद्योग वा कम्पनीले औषधि निर्माण गर्ने प्रयोजनका लागि उत्पादित एवं सम्बन्धित चिकित्सा परिषद्मा दर्तावाल चिकित्सकले सिफारिस गरेका आधारमा औषधि वा चिकित्सकीय उपयोगका लागि प्रयोग गरिने गाँजा वा सोको भागसमेतलाई ‘औषधिजन्य प्रयोजन’ भनिएको छ । 

सुझावित समाचार