स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपालले नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइ (एफआइयू) सँगको सहकार्यमा एफएटिएफ मापदण्डअनुसार ‘एएमएल/सिएफटी/सिपिएफ अनुपालनको प्रभावकारिता अभिवृद्धि’ विषयक एकदिने कार्यशाला आयोजना गरेको छ । कार्यक्रममा नियामक निकाय, बैंक तथा वित्तीय संस्था, धितोपत्र बजारका मध्यस्थकर्ता, बिमा कम्पनी, सहकारी संस्था तथा अन्य प्रतिवेदन पेस गर्ने निकायका प्रतिनिधिलगायत एक सय ४० भन्दा बढीको सहभागिता थियो ।
कार्यशालाले सम्पत्ति शुद्धीकरण निवारण (एएमएल), आतंकवादी गतिविधिमा वित्तीय सहयोग रोकथाम (सिएफटी) तथा व्यापक विनाशकारी हतियारको विस्तारमा वित्तीय सहयोग रोकथाम (सिपिएफ)सम्बन्धी नेपालको संरचनालाई थप प्रभावकारी बनाउन ज्ञान आदान–प्रदान र सहकार्यको साझा मञ्च उपलब्ध गराएको बैंकले जनाएको छ ।
कार्यक्रममा स्ट्यान्डर्ड चार्टर्ड बैंक भारत तथा दक्षिण एसियाका वित्तीय अपराध अनुपालन (एफसिसी) प्रमुख जयराम मंगलानी तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक, भारतका एफसिसी अनुसन्धान तथा जोखिम विशेषज्ञ जयेश कदमले प्रशिक्षण दिएका थिए ।
छलफलका क्रममा नेपालको एफएटिएफ यात्रा, ग्रे–लिस्टमा समावेश हुनुको प्रभाव, अन्तर्राष्ट्रिय अनुभवबाट सिक्न सकिने पाठ तथा नेपालको एएमएल/सिएफटी/सिपिएफ संरचनालाई थप सुदृढ बनाउने व्यावहारिक उपायबारे विचार आदान–प्रदान गरिएको थियो । साथै, नेपाललाई एफएटिएफको ग्रे–लिस्टबाट सफलतापूर्वक बाहिर ल्याउने प्रयासमा यस्ता पहलले सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो ।