सन्तान हुर्काउने क्रममा नयाँ अध्यायको सुरुवात

शुक्रबार, ८ साउन, २०८३
डिजिटल संस्करण
  • सामाजिक उथलपुथल र अभावको सामना गरेका पुस्ताले आफ्ना सन्तानको सुरक्षा सुनिश्चित गर्नुलाई नै आफ्नो जीवनको मुख्य उद्देश्य ठान्छन्

केही साताअघिका दुई समाचार शीर्षकले अभिभावकत्व र पारिवारिक शिक्षाबारे चिरपरिचित बहसलाई पुनः ब्युँताएका छन् । जुन १५ मा संयुक्त अधिराज्यले १६ वर्षमुनिका बालबालिकाका लागि विभिन्न सामाजिक सञ्जाल एपमा प्रतिबन्ध लगाउने घोषणा गर्यो । प्रतिबन्ध लगाउने सरकारी कदमको उद्देश्य ‘बालबालिकालाई उनीहरूको बालापन फिर्ता गर्नू’ भनिएको थियो । महिनाको सुरुमा ‘एनभिडिअ’ (अमेरिकी बहुराष्ट्रिय प्राविधिक कम्पनी) का सिइओ जेन्सेन हुआङले ठट्यौली पारामा भने, ‘एसियाली आमाबाबुद्वारा हुर्काइसकेपछि जीवनको कुनै मोडमा तपाईंलाई एकपटक थेरापी चाहिन्छ । यो टिप्पणीले एउटा महत्वपूर्ण प्रश्न खडा गर्छ, कृत्रिम बुद्धिमत्ताको वर्तमान युगमा विशेषगरी एसियामा पारिवारिक शिक्षाले कस्ता चुनौतीको सामना गरेको छ ?

आजका बच्चा यस्तो संसारमा हुर्किरहेका छन्, जहाँ ‘प्रविधिले जीवनका हरेक क्षेत्रलाई ‘आक्रमण गरेको छ’ भन्ने बेलायतको मूल्यांकनले सबैभन्दा पछिल्लो पुस्ताको भविष्यलाई आकार दिने वातावरणलाई कब्जा गर्छ । केही दिनअघि सार्वजनिक भएको सिइओ हुआङको अभिव्यक्तिले एसियाली (विशेषगरी चिनियाँ) अभिभावकत्वमाथि तातो बहस सुरु गर्यो । सधैँझैँ विचारहरू तीव्र रूपमा विभाजित भए । तर, हुआङको प्रतिबिम्ब आफैँमा द्विपक्षीय थियो । यो केवल एसियाली अभिभावकत्वमाथि मात्र आलोचना थिएन ।

जीवनभर आलोचना भोग्नुपरेको कुरालाई ठट्यौली पारामा व्यक्त गर्दै (पूर्वी एसियाली अभिभावकले बच्चालाई कहिल्यै पूर्ण रूपमा राम्रो छ भन्दैनन् भन्ने प्रवृत्तिलाई संकेत गर्दै ) उनले त्यो पालनपोषणले आफूलाई कठोर बनाएको बताउँछन् । उनको विचारमा, एसियाली बच्चाहरू प्रायः वयस्क अवस्थामा असाधारण रूपमा लचिलो बनेर हुर्कन्छन् । एसियाली शैलीको अभिभावकत्व बालबालिकालाई देखावटी रूपमा गरिने प्रशंसाभन्दा फरक छ । उदाहरणका लागि चीनलाई लिन सकिन्छ । यो कुरा अस्वीकार्य छ कि भावनात्मक सञ्चारमा कमी हुँदा धेरै परिवारले कठोर मापदण्ड लागू गर्छन्, जसले गर्दा केही बालबालिकामा मनोवैज्ञानिक असर गर्छ । तैपनि, चिनियाँ परिवारले लगभग विश्वव्यापी रूपमा शिक्षालाई बच्चाको विकासको केन्द्रबिन्दु मान्छन् र प्रतिस्पर्धात्मक लाभ सुरक्षित गर्ने माध्यमका रूपमा गणित र भाषाजस्ता आधारभूत सिपमा जोड दिन्छन् ।

यो कठोरता र मापन गरिएको दबाबले लचिलोपनलाई बढावा दिन सक्छ, जुन विश्वव्यापी रूपमा पूर्वी एसियाली विद्यार्थीको निरन्तर उच्च शैक्षिक प्रदर्शनको पछाडि एक सम्भावित कारक हो । यो अभिभावकत्व शैलीका ऐतिहासिक र सांस्कृतिक सन्दर्भ छन् । कन्फ्युसियन परम्परामा जरा गाडेको र राष्ट्रिय मानसिकतामा सम्मिलित यो तरिका ‘रत्नलाई चम्काउन पालिस गर्नुपर्छ’ भन्ने विश्वासमा आधारित मूल्य प्रणाली हो । यो कठिनाइले आकार दिएको अभिभावकीय मानसिकताको दर्पण पनि हो ।

सामाजिक उथलपुथल र अभावको सामना गरेका पुस्ताले आफ्ना सन्तानको सुरक्षा सुनिश्चित गर्नुलाई नै आफ्नो जीवनको मुख्य उद्देश्य बनाए । उनीहरू प्रायः आफ्नो स्नेहलाई शब्दमा व्यक्त गर्दैनन्, बरु, सन्तानको शिक्षादीक्षामा आफ्नो सर्वस्व लगानी गरेर र त्यागको भावना देखाएर उनीहरू आफ्नो प्रेम प्रकट गर्छन् । दशकौँदेखि चिनियाँ अभिभावकको यो एउटा विशिष्ट पहिचान रहँदै आएको छ । स्पष्ट छ, एसियाली शैलीको अभिभावकत्वलाई सरासर अस्वीकार गर्नुहुँदैन । तर, हामीले यो तथ्यलाई पनि बेवास्ता गर्न मिल्दैन कि उदाउँदो एआई युगले अन्य ठाउँको तुलनामा यहाँ अझ जटिल चुनौती खडा गर्न सक्छ । एआईले बालबालिकाको सिक्ने र हुर्कने तरिकालाई पुनः आकार दिँदै जाँदा परम्परागत मोडेलका सीमितता बढ्दो रूपमा स्पष्ट हुँदै गइरहेका छन् । एआईसँग सम्बन्धित समस्याहरू (प्रविधिमा अत्यधिक निर्भरतादेखि भावनात्मक अलगावसम्म) पूर्वी एसियाली समाजमा बढ्दै जान सक्छ । उदाहरणका लागि यदि परम्परागत पूर्वी एसियाली पारिवारिक शिक्षाले क्षमताभन्दा ज्ञानमा धेरै झुकाव राख्छ भने यसलाई सच्याउनु तत्काल आवश्यक छ । एआईको विकल्पमा मानव शक्तिहरू– रचनात्मकता, कल्पना, पारस्परिक सिप सर्वोपरि हुन्छन् ।

ग्रेडले छोटो अवधिको नतिजा निर्धारण गर्न सक्छ, तर मानसिकताले जीवनभरका मार्गलाई आकार दिन्छ । अभिभावकले ‘स्कोर’प्रतिको आफ्नो अवधारणा त्याग्नुपर्छ र अन्वेषणलाई प्रोत्साहित गर्न समग्र विकास, नैतिक आधार, नवीन सोच र आलोचनात्मक सोधपुछलाई प्राथमिकता दिनुपर्छ । त्यसैगरी, एआईको उदयले च्याटबटसहित डिजिटल साथीत्वमा बालबालिकाको निर्भरतालाई बढावा दिने जोखिम बढाउँछ– जुन बेलायतको सामाजिक सञ्जाल प्रतिबन्धको सम्भावित कारण हो । सीमित रूपमा अभिझावक–बच्चा अन्तर्त्रिया हुन थालेको विषयलाई पनि समीक्षा गर्न आवश्यक छ ।

घर जीवनको पहिलो पाठशाला हो र अभिभावक बालबालिकाका पहिलो शिक्षक हुन् । चीनमा पारिवारिक शिक्षा एउटा निजी मामिलाबाट विकसित हुँदै राष्ट्रिय प्राथमिकताको विषय बनेको छ । सन् १९९६ को पारिवारिक शिक्षासम्बन्धी पहिलो पञ्चवर्षीय योजना र सन् २०१० को राष्ट्रिय पारिवारिक शिक्षा निर्देशिकादेखि लिएर सन् २०२१ मा जारी गरिएको ‘पारिवारिक शिक्षा प्रवर्द्धन ऐन’सम्म आइपुग्दा यससम्बन्धी चीनको दृष्टिकोण क्रमशः थप व्यवस्थित र संस्थागत हुँदै गएको छ ।

चाइना डेलीबाट

(सुचुन चाइना डेलीअन्तर्गतको चाइना वाच इन्स्टिच्युट’का प्रमुख अनुसन्धानकर्ता हुन्)

सुझावित समाचार