ठट्टाको विषय होइन भारतको ‘साङ्लो राजनीति’

भारतको भिडभाडपूर्ण र अस्थिर राजनीतिमा कक्रोचलाई अब केवल अर्को एउटा ‘भाइरल लहर’का रूपमा मात्र हेर्न सकिने अवस्था छैन

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

भारतमा ‘कक्रोच जनता पार्टी’ (सिजेपी) भाइरल भएको दुई महिनापछि यसका समर्थक जोखिमपूर्ण अवस्थामा पुगे । प्रहरीले दिल्लीको जन्तरमन्तरमा सिजेपीले आयोजना गरेको धर्नास्थलबाट शिक्षाविद् तथा अभियन्ता सोनाम वाङचुकलाई बलपूर्वक हटाएर उनको इच्छाविपरीत अस्पताल पुर्यायो । उनी आफ्नो अनिश्चितकालीन अनशनको २१औँ दिनमा थिए ।

सोनामलाई हटाएपछि प्रदर्शनकारी सो स्थानमा भेला भए भने सिजेपीका संस्थापक अभिजित दीपकेले आमरण अनशन सुरु गरे । विश्वविद्यालय प्रवेश परीक्षाको प्रश्नपत्र चुहिएका कारण देशभर आक्रोश फैलिएको र भारतको प्रतिस्पर्धात्मक परीक्षा प्रणालीमा व्यापक जवाफदेहिताको अभाव देखिएकाले शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने भन्दै प्रदर्शनकारीले सोमबार भारतीय संसद्तर्फ मार्च गरे । यहाँसम्म कि प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामाको मागसमेत उठेको छ ।

मुख्य न्यायाधीश सूर्यकान्तले बेरोजगार युवालाई ‘साङ्ला’ भनी गरेको टिप्पणीले देशभर आक्रोश निम्त्याएपछि मे महिनाको मध्यतिर सिजेपीको उदय भयो । त्यसयता, यस ‘पार्टी’ले भारतका युवामाझ ठुलो अनलाइन समर्थन जुटाएको छ र व्यापक विरोध प्रदर्शन आयोजना गरेको छ ।

सोनामलाई नियन्त्रणमा लिनुअघिसम्म राज्यको प्रतिक्रिया न खुला स्वीकारोक्तिको थियो, न त पूर्ण दमनको । बरु यो एक सन्तुलित नियन्त्रणको रणनीति थियो, सीमित दायराभित्र विरोध प्रदर्शनलाई अनुमति दिने, उनीहरूको विस्तारलाई प्रहरीमार्फत नियन्त्रण गर्ने र गठबन्धन आफैँ टुक्रिने प्रतीक्षा गर्ने । तर, सोमबारको संसद् मार्चले भने सत्तामा रहेकाहरूलाई सशंकित वा विचलित बनाएको देखिन्छ ।

भारतको भिडभाडपूर्ण र अस्थिर राजनीतिमा कक्रोचलाई अब केबल अर्को एउटा ‘भाइरल लहर’का रूपमा मात्र हेर्न सकिने अवस्था छैन । अर्थात्, सामाजिक सञ्जालबाट उदाएको, सडकमा छोटो समय देखिएको र देखापरेजति नै छिटो ओझेल पर्ने युवा समूहका रूपमा मात्र यसलाई लिन मिल्दैन । कक्रोचले लामो यात्रा तय गरेको छ । यसले समाजमा व्याप्त एउटा भावनालाई प्रतिनिधित्व गर्छ ।

साङ्लो भनेको फोहोरी, छिछि तथा दुरदुरको पात्र हो । यो आफैँमा कुरूप र हास्यपूर्ण प्राणी हो । यसलाई मार्न गाह्रो हुन्छ । यो विष, अन्धकार र घृणाबाट बच्छ । जब मालिकले दाबी गरेजस्तो घर सफा हुँदैन, तब कक्रोच देखिन्छ । धेरै युवा भारतीयका लागि (विशेषगरी बेरोजगारी, परीक्षा–पत्र चुहावट र बढ्दो लागतको सामना गरिरहेकाहरूका लागि) साङ्लो प्रतिबिम्ब बनेको छ । साङ्लोले त्यस्तो भारतको प्रतिनिधित्व गर्छ, जहाँ युवाका अनगिन्ती सपना चकनाचुर भएका छन् ।

‘साङ्लो–राजनीति’को उदय त्यस्तो समयमा भयो, जब मोदीको भारतीय जनता पार्टी (भाजपा) ले विशाल स्रोत–साधन, कल्याणकारी कार्यक्रम, हिन्दु राष्ट्रवाद र विपक्षीको विभाजनलाई मतमा परिणत गर्ने क्षमतासहितको एक सशक्त चुनावी संयन्त्र सञ्चालन गरिरहेको छ । तैपनि, विरोधाभासपूर्ण रूपमा भाजपाको जनमत अझै पनि ‘निकै ठुलो अल्पमत’कै रूपमा सीमित छ । सन् २०२४ को आमनिर्वाचनमा यस पार्टीले देशभरका मतदातामध्ये एकतिहाइभन्दा केही बढीको मात्र समर्थन प्राप्त ग¥यो । 

अर्को शब्दमा भन्नुपर्दा मतदान गर्नेमध्ये दुईतिहाइले मोदीको नेतृत्वको भाजपाको पुनः निर्वाचित हुने प्रयासलाई समर्थन गरेनन् । भाजपाको शक्ति कुनै वास्तविक वा तथ्यांकमा बहुमतमा होइन, बरु विभिन्न पक्षको संयोजनमा आधारित छ, क्षेत्रीय तथा जातीय गठबन्धन, विपक्षी दलमा हुने दलबदल र विभाजन ।

सिजेपीको उपस्थिति यस्तो समयमा भएको छ, जहाँ माथिल्लो तहबाट हेर्दा चुनावी राजनीति स्थिर देखिए पनि तल्लो तहमा भने यसप्रति अविश्वास व्याप्त छ । रोजगारीको अभाव र परीक्षा व्यवस्थापनमा देखिएको गडबडीका कारण युवा आक्रोशित छन् । साथै, सिजेपीले जनमत त्यस्तो समयमा बटुल्दै छ, जतिवेला जनआक्रोश व्यक्त गर्ने परम्परागत लोकतान्त्रिक माध्यम, जस्तै– राजनीतिक दल, निर्वाचन, सञ्चारमाध्यम र स्वतन्त्र संस्थाहरू विकृतिको चपेटामा पर्ने जोखिममा छन् ।

त्यसपछि अर्थतन्त्रको कुरा आउँछ । कोभिड–१९ महामारीले भारतीय अर्थतन्त्रलाई मन्दीतर्फ धकेलेपछि ८० करोडभन्दा बढी भारतीय सरकारबाट प्राप्त हुने खाद्य सहयोगमा निर्भर छन् । बहुसंख्यक गरिब जनताका लागि खाद्य सहयोगले भोक मेटाउने र घरपरिवारको गुजारा चलाउने काम गर्छ, साथै दैनिक जीवनमा राज्यको उपस्थितिलाई महसुस गराउँछ । तर, यस्तो न्यूनतम कल्याणकारी व्यवस्थाले कुनै सामाजिक सम्झौतालाई भने प्रतिविम्बित गर्दैन । यसले महामारीका वेला उजागर भएका संरचनागत अस्थिरता वा जोखिमलाई सम्बोधन गर्न नसकिएको विफलतालाई नै दर्साउँछ ।

भारतले विद्यालय तथा उच्च शिक्षाको दायरा त बढाएको छ, तर शिक्षाका माध्यमबाट स्थिर रोजगारी भने सिर्जना गर्न सकेको छैन । यसैकारण प्रश्नपत्र चुहावट, भर्ना प्रक्रियामा हुने ढिलाइ र परीक्षा रद्द हुने घटनाले यति धेरै आक्रोश पैदा गर्छन् । परीक्षा भनेको केबल एउटा परीक्षा मात्र होइन; मध्यमवर्गीय परिवारका लागि यो सामाजिक स्तर उकास्ने वा जीवनस्तर सुधार्ने एउटा माध्यम वा प्रयास हो । आफ्ना छोराछोरीले राम्रो तलबसहितको सम्मानित जागिर पाउन सकून् भन्ने सम्भावनाका लागि अभिभावकले बचत गर्छन्, ऋण लिन्छन्, जग्गा बेच्छन् र महँगो कोचिङ शुल्कसमेत तिर्छन् ।

यसैकारण साङ्लोको प्रतीकले धेरै महत्व बोकेको छ । यसले आकांक्षा र अवहेलनाबिच फसेकालाई सम्बोधन गर्छ । मोदी युगले सामाजिक मेलमिलापविनै चुनावी सफलता हासिल गर्ने कलामा निपूणता हासिल गरेको छ । यसले लाखौँ भारतीय युवालाई सताइरहने एउटा प्रश्नको भने जवाफ दिएको छैन– एकाधिकारवादी पुँजी वा विश्वव्यापी अवसरको पहुँचबाहिर रहेकाहरूका लागि कस्तो भविष्य बाँकी छ ?
अलजजिराबाट (चन्द्र अशोका विश्वविद्यालयमा राजनीतिशास्त्र अध्यापन गर्छन्)

सुझावित समाचार