- सिरियाको नवगठित संसद् आवश्यक मात्रामा बलियो नहोला, तर यो रबर स्ट्याम्प पनि होइन
जुलाई १२ मा सिरियाको नयाँ संसद् (जनसभा)को पहिलो बैठक बस्यो । उसो त भन्नेहरूले सिरियाको नयाँ संसद् लोकतान्त्रिक व्यवस्थापिका नभएको बताइरहेका छन्, जुन दाबी सही छ । तर, साथमा यो असद परिवारको ६० वर्षे शासनकालकोजस्तो ‘रबर स्ट्याम्प’ पनि होइन । खासमा नयाँ संसद् एउटा नियन्त्रित राजनीतिक खुलापनतर्फको अर्को एक पाइला हो । यसले वर्तमान शक्तिशाली राष्ट्रपतिलाई प्रतिद्वन्द्वी नबनाई देशलाई अहिलेको नाजुक संक्रमणबाट निकास दिए पनि धेरै हुन्छ ।
खासमा अहिलेको सिरियाली संसद् पुनर्स्थापित भन्न अलि मिल्दैन । ६० वर्ष लामो अन्तरालपछि संसदीय राजनीतिलाई लगभग सुरुवातबाटै सुरु गर्नुपरेको छ । नत्र, असद परिवारको ६ दशकभन्दा लामो शासनमा विधायिका भनेको राष्ट्रपतिले पहिल्यै निर्णय गरिसकेको कानुनलाई अनुमोदन गर्ने निकाय बनेको थियो ।
कतिपयले सिरियाको संसद्लाई अर्थहीन भन्न सक्छन् । त्यस्तो तर्क गर्नेसँग केही बलिया तर्क पनि हुनेछन् । विशेषतः अहिलेको संसद्का २१० सदस्यमध्ये एकतिहाइ अर्थात् ७० जनालाई राष्ट्रपति अहमद अल साराले प्रत्यक्ष नियुक्त गरेका हुन् । बाँकी १४० पनि सारा आफैँले चुनेको एक उच्च निर्वाचन समितिको डिजाइनमा बनेको इलेक्ट्रोल कलेजमार्फत अप्रत्यक्ष चुनिएका हुन् । अर्थात्, सांसद चुनिँदा कुनै आममतदान गरिएन । त्यस्तै, उम्मेदवारलाई दलबाट नभई व्यक्तिगत रूपमा मात्र उम्मेदवार बन्न पाउने भनिएको थियो । परिणामस्वरूप अहिले संसद्को प्रतिनिधिको जनतासँग पातलो सम्बन्ध मात्रै कायम छ । धेरै सिरियालीले त सांसद घोषित भएपछि मात्र आफ्नो क्षेत्रको सांसदको नाम सुन्न पाए । संक्षिप्तमा यो एक कमजोर संसद् हो, जसको बनोट नै राष्ट्रपति पदसँग नजिक रहेर काम गर्ने खालको छ । तथापि, कमजोर भनेको अर्थहीन होइन । यो कुरा संसद्को पहिलो बैठक बस्नुअघि नै को सभामुख हुने भन्ने प्रतिस्पर्धाका क्रममा प्रतिबिम्बित भएको थियो । त्यसका लागि सांसदबिच समूह र गठबन्धन बनेको देखियो । केही भौगोलिक क्षेत्रका आधारमा गोलबन्द भए भने कोही इस्लामवादी र उदारवादीका रूपमा वैचारिक रूपमा विभाजित भए । तीनजना सभामुखका प्रतिस्पर्धीबाट अब्दुल हमिद अकिल अल अवाकले कुल २०५ मध्ये ९९ मत हासिल गरेर जित निकाले । त्यस्तै, मुङ्ढयाद अल कब्लावीले ७५ र तेस्रो उम्मेदवारले ३१ मत ल्याए । दलविहीन संसद् भए पनि सभामुखका लागि भएको निर्वाचनका क्रममा पक्षधरता र वैचारिक शिविर निर्माण भएको छ । यो समूहले पछि कानुन बनाउँदा राजनीतिक दलको जस्तै चरित्र देखाउन सक्छ ।
जे भए पनि सिरियामा अहिले शक्तिको अर्को एउटा शिविर तयार भएको छ । अहिले यो कमजोर छ, तर पनि यो अस्तित्वमा आएको छ । संसद्को पहिलो बैठकका दुई साना विवरणले पनि यो अर्थहीन छैन भन्ने देखाउँछ । पहिलो, संसद् बैठक दिनभरजसो देशको सरकारी टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो । सांसदका तर्कवितर्क, अन्योल र विवादित मत जनताले प्रत्यक्ष देख्न पाए । पुरानो शासनकालमा संसद् भनेको सांसदहरू शासनप्रति प्रतिबद्ध छन् भन्ने देखाउने मञ्च थियो । तर, आइतबार सिरियालीले आफ्ना सांसदले एक–अर्कासँग असहमति राखेको देखे । दोस्रो, राष्ट्रपति सारा बोल्दा देखियो । उनी बोल्दा विगतका राष्ट्रपतिका हरेक वाक्यमा बज्ने ताली बजेन । अहिलेको संसद्मा २२ सदस्य मात्र महिला छन्, जसमध्ये पनि १५ जना राष्ट्रपतिबाट नियुक्त भएका हुन् । सांसद सदस्यमा न्यून संख्या भए पनि दुईजना उपसभामुख पदका लागि भएको मतदानमा महिला सांसद म्याडोना बिसारा दोस्रो उपसभापति चुनिएकी छन् । जितपछि बोल्ने क्रममा उनले महिला अधिकारमाथि आफ्नो रुचिबारे बोलिन् । कमजोर समावेशिताको सही आरोपबिच पनि यो उल्लेखनीय उपलब्धि हो ।
संविधान निर्माण नभएसम्मका लागि कम्तीमा ३० महिनाका लागि भनेर गठित यो सांसद के भएमा सफल मानिनेछ ? उदार लोकतन्त्रमा प्रवेश गरिसकेका देशमा जस्तो यो मन्त्रीका कामकारबाहीमाथि प्रश्न गर्न सक्ने वा राष्ट्रपतिका कामकारबाही अवरुद्ध गर्ने अधिकार भएको संसद् होइन । यस्तोमा अहिलेका लागि सबैभन्दा यथार्थपरक सफल परिणाममा मौन रूपमा प्रकट हुनेछ । एक महिनाभित्र संसद्ले आफ्नो कामकारबाहीसम्बन्धी संहिता तयार पार्ने कार्यतालिका छ । यसका समितिले मन्त्रीलाई बोलाउन थाल्छन् । हुनत मन्त्रीले आफ्नो कुरा मात्र राख्ने भनिएको तर बिस्तारै सुनुवाइ शिष्टाचारबाट निगरानीमा परिणत हुन सक्छ । सांसदले जब बजेट उनीहरूले मात्र अनुमोदन गर्न सक्छन् भन्ने थाहा पाउँछन्, उनीहरूलाई थप शक्तिको महसुस हुनेछ । बिस्तारै सांसद आफ्ना निर्वाचन क्षेत्रमा जाने, जनतासँग समय बिताउने गर्न थालेपछि ती क्षेत्रका माग राजधानी आइपुग्नेछ । अहिले एकजना पनि सांसदको नाम भन्न नसक्ने मानिसले भोलिका दिनमा राज्यप्रतिको गुनासो गर्ने वेला आफ्ना सांसदलाई सम्झिन थाल्नेछन् । हुन त यत्तिले नै सिरियालाई लोकतान्त्रिक देश बनाउनेछैन । तैपनि, बिस्तारै संसदीय अभ्यास भने विकास हुँदै जानेछ । यही नै नयाँ संसद्को विरासत हुनेछ ।
(लेखक हार्वर्ड केनेडी स्कुलका ‘मिडलइस्ट इनिसिएटिभ’का वरिष्ठ अनुसन्धान फेलो हुन्)
फरेन पोलिसीबाट