प्रधानमन्त्री बालेन र लगानीकर्ताबिच छलफल
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पुँजी बजारलाई मर्यादित र व्यावसायिक बनाउने गरी काम गर्न सरोकारवाला निकाय र लगानीकर्तालाई आग्रह गरेका छन् । सोमबार पुँजीबजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिसँग छलफल गर्दै उनले मनोबल बढाएर काम गर्नसमेत आग्रह गरे ।
प्रधानमन्त्रीले पुँजीबजारमार्फत उद्यमशीलता विकास र रोजगारी सिर्जना सरकारको मुख्य प्राथमिकता रहेको बताए । सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजीबजारलाई विशेष प्राथमिकता दिएको प्रधानमन्त्री शाहको भनाइ छ ।
उनले यस क्षेत्रका व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै नेपालको पुँजीबजारलाई व्यावसायिक र मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन् । यसबाट उद्यमशीलता फस्टाउने र रोजगारीका अवसर थपिने उल्लेख गर्दै प्रधानमन्त्री शाहले राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्ने, तर गल्ती गर्नेविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने चेतावनीसमेत दिएका छन् ।
छलफलका क्रममा पुँजीबजारका सरोकारवाला संस्थाका प्रतिनिधिले बजारको दिगो विकासका लागि कानुनी, नीतिगत, संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको सुझाव दिए । प्रधानमन्त्रीसँगको संवादले आफूहरू अझ बढी प्रोत्साहित भएको उल्लेख गर्दै उनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) प्रणालीमा सुधार गर्न, दोस्रो बजारमा माग र आपूर्तिको सन्तुलन मिलाई उचित मूल्य निर्धारण प्रणालीको विकास गर्न तथा दैनिक कारोबार रकमलाई ३० अर्ब रुपैयाँभन्दा बढी पुर्याउने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।
यसैगरी, बैंक तथा वित्तीय संस्थामार्फत मार्जिन कारोबारसँग सम्बन्धित ब्रोकर कम्पनीहरूलाई कर्जा प्रवाह सहज बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक कदम चाल्नुपर्ने लगानीकर्ताको भनाइ थियो । बैंक तथा वित्तीय संस्थाले धितोपत्रमा लगानी गरेपछि कम्तीमा ६ महिनासम्म बिक्री गर्न नपाउने विद्यमान व्यवस्था खारेज गर्न तथा सेयर धितो कर्जाको सीमालाई प्राथमिक पुँजीसँग आबद्ध गर्नुको सट्टा कुल कर्जाको पाँच प्रतिशत कायम गर्ने व्यवस्था मिलाउन पनि लगानीकर्ताले सुझाव दिएका छन् ।
अर्थ मन्त्रालयले व्यक्तिगत कारोबारमा हुने नोक्सानीमा समेत कर समायोजनको व्यवस्था गरिदिनुपर्ने, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता ठुला संस्थाहरूलाई दोस्रो बजारमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने, नेपाल स्टक एक्सचेन्जको रणनीतिक साझेदारसहित पुनर्संरचना गरिनुपर्ने र गैरआवासीय नेपालीलाई पनि नेपालको पुँजीबजारमा लगानी गर्ने मार्ग प्रशस्त गरिनुपर्ने माग पनि प्रधानमन्त्रीसमक्ष राखिएको थियो ।
उक्त छलफलमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका प्रतिनिधि सन्दीप जलान, नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, पुँजीबजार समितिका सभापति प्रियराज रेग्मी र लगानीकर्ता अम्बिकाप्रसाद पौडेल सहभागी थिए ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टले सरोकारवालाका सुझावलाई आत्मसात् गर्दै बोर्डले आर्थिक वर्ष ०८३/८४ को पुँजीबजार नीति तथा नेपालको पुँजीबजार मार्गचित्र २०८३ लागू गरिसकेको जानकारी गराए । ती नीतिहरूमा उल्लिखित कार्यक्रमलाई चरणबद्ध रूपमा कार्ययोजना बनाई कार्यान्वयनमा लगिसकिएको उनको भनाइ छ । त्यस्तै, नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले बैंक तथा वित्तीय संस्था, बिमा बजार एवं पुँजीबजार सुधारका लागि आवश्यक ऐनहरूको तर्जुमा तथा संशोधन प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।
नेप्से एक महिनायताकै उच्च विन्दुमा
- धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको समेत चासो र सक्रियताको सकारात्मक प्रभाव बजारमा, नेप्से २७०० विन्दुमाथि
नयाँ सरकार गठनयता अस्थिर बन्दै ओरालो लागेको धितोपत्र बजारले लय समात्ने संकेत देखाएको छ । नेपाल धित्रोपत्र बोर्ड र अर्थमन्त्रीले मात्रै नभई स्वयं प्रधानमन्त्रीले समेत सेयर बजार सुधारको लागि अग्रसरता देखाएपछि त्यसको प्रभाव बजारमा देखिएको हो ।
निरन्तर ओरालो लागिरहेको नेपाल स्टक एक्सचेन्च (नेप्से) परिसूचक सोमबार २७०० विन्दु नाघेको छ । पछिल्ला पाँच कारोबार दिन सेयर बजार लगातार बढ्दै आएको छ । सोमबार मात्रै ४१.७० अंक अर्थात् १.५५ प्रतिशतले बढेर नेप्से परिसूचक २७१९.२४ विन्दुमा कायम भएको छ । यो एक महिनायताकै उच्च हो । यसअघि १ असारमा नेप्से २७११.७६ विन्दुमा थियो ।
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सेयर बजारलाई गतिशील बनाउने व्यवस्था गरेको दाबी गर्दै आएको छ । तर, बजेट र मौद्रिक नीतिले पनि बजारमा सकारात्मक प्रभाव नपारेपछि नेप्से घटेर २५७० विन्दुसम्म ओर्लिएको थियो । निरन्तर बजार ओरालो लाग्न थालेपछि गत साता सेयर लगानीकर्ता नेपाल धितोपत्र बोर्ड नै घेराउ गर्न पुगेका थिए । धितोपत्र बोर्डले पुँजी बजार सुधारका लागि विभिन्न नीतिगत व्यवस्थता गर्ने प्रतिवद्धता व्यक्त गर्यो । लगत्तै बोर्डले धितोपत्र सुधारको मार्गचित्र समेत सार्वजनिक गर्यो ।
३२ असारमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग अर्थतन्त्रलाई गतिशील बनाउनेबारे छलफल गरेका थिए । उनले बजार बढाउने गरी लचिलो नीति लिन आग्रह पनि गरे । सोही दिन महिला उद्यमी महासंघका प्रतिनिधिसँगको छलफलमा पनि उद्यमशील विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका थिए । त्यसपछि शुक्रबार फुटवेयर एसोसिएसनका पदाधिकारी र सोमबार सेयर लगानीकर्ता तथा नियामक निकायका सरोकारवालासँग छलफल गरेका थिए । त्यसको प्रभाव बजारमा देखिन थालेको लगानीकर्ताको भनाइ छ ।
यसैबिच अर्थमन्त्रीको सचिवालयले समेत सामाजिक सञ्जालमार्फत लगानीकर्तालाई आश्वस्त पार्ने कोसिस गरेको थियो । सचिवालयले केही मानिसले लाभका लागि भ्रामक प्रचार गरेर लगानीकर्तालाई आतंकित बनाउने प्रयास गरिरहेको भन्दै त्यसमा सजग हुन आग्रह गरेको थियो । बोर्डदेखि अर्थ र प्रधानमन्त्रीसम्मको चासोले बजारमा सकारात्मक प्रभाव पारेको लगानीकर्ता बताउँछन् । नेप्सेका अनुसार सोमबार तीन सय ४३ कम्पनीका एक करोड २२ लाख ४५ हजार कित्ता सेयर पाँच अर्ब ५१ करोड २६ लाखमा किनबेच भयो । शुक्रबार नेप्से ७९ अंकले बढ्दा चार अर्ब ५७ करोडबराबरको सेयर कारोबार भएको थियो ।