जाजरकोटको भेरी नगरपालिकाले असारको अन्तिम दिन ९५ करोडको बजेट पारित गरेको छ। जनप्रतिनिधिबिच लामो समयसम्म देखिएको विवाद अन्ततः सहमतिमा टुंगिएपछि नगरपालिकाले बजेट पारित गरेको हो।
आर्थिक वर्ष ०८३/८४ का लागि ९५ करोड ९४ लाख ५४ हजार ८८३ रुपैयाँबराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए। बुधबार सम्पन्न नगरपालिकाको १९औँ नगरसभाले नीति तथा कार्यक्रमसहित आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो। नगरप्रमुख घर्तीको अध्यक्षतामा बसेको नगरसभामा उपप्रमुख सीता जैसीले बजेट प्रस्तुत गरेकी थिइन्।
उपप्रमुख जैसीका अनुसार बजेटको मुख्य स्रोत संघीय, प्रदेश तथा नगरपालिकाको आन्तरिक आम्दानी रहेको छ। संघीय सरकारबाट वित्तीय समानीकरण, ससर्त, समपूरक, विशेष अनुदान तथा राजस्व बाँडफाँट गरी ५७ करोड ४२ लाख ४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी कर्णाली प्रदेश सरकारबाट वित्तीय समानीकरण, ससर्त, विशेष, पूरक अनुदान तथा राजस्व बाँडफाँट गरी नाै करोड १२ लाख ८० हजार रुपैयाँ प्राप्त हुने जनाइएको छ।
यस्तै, नगरपालिकाको आन्तरिक स्रोतबाट दुई करोड २७ लाख ८० हजार रुपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट एक करोड ११ हजार रुपैयाँ तथा सामाजिक सुरक्षा भत्ताका लागि करिब १६ करोड रुपैयाँ व्यवस्था गरिएको छ।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र बजेट ल्याउनुपर्ने व्यवस्था रहे पनि जनप्रतिनिधिबिचको विवादका कारण भेरी नगरपालिकाले तोकिएको समयमा बजेट ल्याउन सकेको थिएन। अन्ततः असार ३० गते सबै पक्षबिच सहमति जुटेपछि बजेट सार्वजनिक गरिएको हो।
नगरप्रमुख घर्तीले सुरुवाती चरणमा केही जनप्रतिनिधिको बुझाइमा फरक परे पनि अन्ततः स्रोत निर्धारण समितिको निर्णयअनुसार वडाबाट आएका योजना समेटेर बजेट तयार गरिएको बताए। उनले भने, ‘सुरुमा केही जनप्रतिनिधिहरूको बुझाइमा फरक परे पनि अन्तिममा स्रोत निर्धारण समितिको निर्णयबमोजिम नै बजेट सार्वजनिक गरिएको हो। भेरी नगरपालिकाले शान्तिपूर्ण वातावरणमा सर्वसम्मत रूपमा बजेट पारित गरेको छ।’
नगरसभाबाट नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित भएपछि नगरप्रमुख घर्तीले जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, सरोकारवाला निकाय तथा सम्पूर्ण नगरवासीप्रति धन्यवाद व्यक्त गरेका छन्। उपप्रमुख जैसीले पनि लामो छलफल र विवादपछि सहमतिमै बजेट पारित भएको बताइन्।