‘सत्ताकै संरक्षण’मा मिडिया हाउसहरूका कार्यालयअगाडि अनधिकृत गाडी राखेर तर्साउने काम भएको भन्दै संसद्मा प्रश्न उठेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले दोषीमाथि कारबाहीको माग गरेका हुन् ।
कांग्रेस सचेतक निस्कल राईले गणेश नेपालीको आत्मदाहमा प्रश्न उठाउने प्रतिपक्षी दल, सञ्चारमाध्यम, सचेत नागरिक समाज तथा सर्वसाधारण नागरिकलाई सरकारले प्रतिशोध साध्न अघि बढेको टिप्पणी गरे । ‘१८२ सिटको बहुमतमाथि किन प्रश्न गरिस् भन्दै सरकार हाम्रा सभापतिज्यूको घरअगाडि गाडी लगेर पार्क गर्छ, त्यो पनि प्रहरी प्रशासनकै सहयोगमा । शंकास्पद लागेपश्चात् समुदायले प्रहरीबाट शान्ति सुरक्षा खोज्छ । विडम्बना, प्रहरी मूकदर्शक बन्छ र दिनभरि गाडी पार्कमै छोड्छ, बाटो जाम गराउँछ । आतंक सिर्जना गर्छ । समुदायले गाडीको मालिक चाहियो भनेपछि हतारमा प्रहरीले ‘हामी मिलाउँछौँ’ भन्दै गाडी लिएर जान्छ,’ राईले भने ।
आफ्ना सभापति गगन थापाका साथै कान्तिपुर, अनलाइनखबरलगायत सञ्चारमाध्यमअगाडि पनि गाडी छाडेको र त्यो पनि सत्तारूढ दलकै नेताको गाडी भएको उनले आरोप लगाए । ‘होल्डिङ सेन्टरमा सुकुमवासीमाथि भएको दमन होस्, गणेश नेपालीको मृत्युपछिको प्रश्नमाथिको बदला होस् वा सडकमा गाडी छोडेर सिर्जना गरिएको यो त्रास होस् । तीनवटै घटनाको धागो एउटै ठाउँमा गएर जोडिन्छ, प्रश्न सोध्नेलाई सजाय दिने प्रवृत्ति,’ उनले भने ।
एमाले सांसद गणेशसिंह ठगुन्नाले मिडिया क्षेत्र र राजनीतिक नेतृत्वको कार्यालय र घरमा सवारीसाधन तेर्स्याएर मानसिक त्रास फैलाउने काम भएको बताए । ‘हेर्दा यो सानो घटना भए पनि यसको संकेत पञ्चायतकालीन मण्डलेतन्त्रले फैलाएको राज्य आतंकको सुरुवातको झझल्कोका रूपमा याद आएको छ,’ उनले भने, ‘सरकारले यो कार्यमा संलग्नलाई कानुनबमोजिम कडा कारबाही गर्नुपर्छ ।’
नेकपाका रमेशकुमार मल्लले राज्य संरक्षित मान्छेबाट न्युरोडमा अस्तव्यस्त पार्किङ तथा मिडिया हाउसअगाडि र विपक्षी दलका सभापतिको घरअगाडि गाडी राखिएको देखिएको टिप्पणी गरे । ‘पाँच सय रुपैयाँ चिट काटेर उनीहरूलाई छोडेको सुनियो । राज्य आतंक आफैँले सिर्जना गर्ने, आफैँले त्यस्ता मान्छे परिचालन गर्ने, उनीहरूलाई पाँच सयको चिट काटेर घर पठाउने, यो कुनै हालतमा हुन सक्दैन । यिनलाई लाखौँको जरिवाना तिराउनुपर्दछ र ती गाडीहरू जफत गर्नुपर्दछ,’ उनले भने । सत्तारूढ दलले पनि यो विषयलाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ छ । ‘त्रास र सन्त्रासको माध्यमबाट राज्य सञ्चालन गर्न सकिन्छ भन्ने यदि सरकार सञ्चालकको टाउकोमा त्यो धारणा निर्माण भएको छ भने सर्वथा गलत छ,’ उनले भने ।
राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले घरको अगाडि पार्किङ गराएर राज्य आतंक सिर्जना गरिएको बताए । ‘घरको अगाडि पार्किङ गराएर जसरी आज राज्य आतंक सिर्जना गरिएको छ । यो इतिहासमा एउटा कालो अक्षरले लेखिनेछ,’ उनले भने ।
सत्तारूढ रास्वपाका सचेतक भन्छन्– सञ्चारमाध्यमलाई तर्साउने कुत्सित प्रयास गरियो
सत्तारूढ रास्वपा सचेतक प्रकाशचन्द्र परियारले गाडी राखेर सञ्चारमाध्यमलाई तर्साउने कुत्सित प्रयास भन्दै भर्त्सना गरेका छन् । ‘हिजो राजधानीका अग्रणी सञ्चारमाध्यमको मुख्य प्रवेशद्वारमा गाडीहरू पार्किङ गरेर भौतिक आवातजावत ठप्प पारी सञ्चारमाध्यमलाई तर्साउने जुन कुत्सित प्रयास गरियो, भर्त्सना गर्दछु,’ प्रतिनिधिसभा बैठकमा उनले भने, ‘सत्यसँग डराउनेहरू यस्तो हर्कत गर्छन् । तर, सत्यलाई ढाकछोप गर्नु भनेको हत्केलाले सूर्य छेक्नुजस्तै हो ।’ उनले पत्रकारिता थुप्रै आँधीबेहरी व्यहोरेर यहाँसम्म आइपुगेको बताए । ‘तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सेनाहरू समाचार कक्षभित्रै पसेर समाचार सेन्सर गर्थे । त्यतिवेला नझुकेको नेपाली सञ्चारमाध्यम आज सडकमा दुई–चार गाडी तेर्स्याएर तर्सिन्छ होला र ?’ उनले भने । उनले सबै सञ्चारगृहलाई निर्वाध काम गर्न पाउने सुरक्षित वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।
रास्वपा सभापति रवि लामिछानेले मिडिया हाउसअगाडि गाडी राख्ने घटनालाई गम्भीरतापूर्वक लिएको बताए । ‘यो अस्वाभाविक भयो । पार्टीले विज्ञप्ति निकालिसक्यो । छानबिन हुनुपर्छ । कारबाही हुनुपर्छ । हामीले भनेका छौँ, हामी त्यसमा अडिग छौँ । यो घटनालाई हेर्ने पार्टीको दृष्टिकोण स्पष्ट छ । रास्वपाकै नेता–कार्यकर्ता रहेछन् भने पनि कारबाही हुन्छ । जो भए पनि कारबाही हुन्छ,’ उनले भने ।