आधुनिक कतारको जग बसाउने अमिर

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण
  • सेख हमादको शासनकालमा कतारको जिडिपी विश्वमा कहिल्यै नदेखिएको स्तरमा झन्डै २४ गुणामाथि बढोत्तर भयो

कतारका पूर्वअमिर सेख हमाद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा आइतबार निधन भयो । सन् १९९५ देखि २०१३ बिच कतारको शासन चलाउँदा सेख हमादले आफ्ना देशलाई मध्य आयको मुलुकबाट विश्वको सबैभन्दा धनी र प्रभावशाली राष्ट्रमध्ये एकमा परिणत गर्न निकै ठुलो भूमिका खेलेका थिए । अर्थात् करिब अठार वर्ष लामो शासनकालमा उनले कतारलाई आजको आधुनिक रूप दिएका हुन् । उनले आफ्नो शासनकालमा राजनीतिक, आर्थिक र सामाजिक सुधारको महत्वाकांक्षी परियोजनालाई अगाडि बढाए । 

हमादको १८ वर्षे शासनकालमा कतारको कुल गार्हस्थ उत्पादन (डिजिपी) विश्वमा कहिल्यै नदेखिएको स्तरमा झन्डै २४ गुणामाथि बढोत्तर भयो । यसमा उनकै शासनकालमा पत्ता लागेर उत्खनन सुरु भएको ‘नर्थ फिल्ड’ ग्यास भण्डारणको पनि ठुलो सहयोग रह्यो । त्यस ग्यास भण्डारणका कारण कतार सन् २००६ सम्ममा विश्वको सबैभन्दा ठुलो ‘तरल प्राकृतिक ग्यास (एलएनजी) निर्यातकर्ता बनिसकेको थियो । खलिफा अल थानीको नेतृत्वमा ऐतिहासिक छोटो समयमा कतारको एलएनजी उत्पादन क्षमता प्रतिवर्ष सात करोड ७० लाख टन पुगिसकेको थियो ।

विकास, सुधार योजना र शिक्षा कार्यक्रममा क्रान्तिकारी परिवर्तन ल्याउन सेख हमादले आफ्नो देशको विशाल प्राकृतिक ग्यास भण्डारको उचित प्रयोग गरे । सेख हमादले आफ्नो कार्यकालमा सुरुवात गरेको दूरगामी प्रभाव पार्ने कदममा ‘कतार फाउन्डेसन’को स्थापना पनि एक रह्यो । ग्यास आयको ठुलो हिस्सा जम्मा हुने यो फाउन्डेसनले अहिले विश्वभर लगानी विस्तार गरेको छ ।

हाल कतारको सफ्ट पावरको एक अंश बनेको अलजजिरा उनकै शासनकालमा सन् १९९६ मा सुरु भएको भयो । विकासका अतिरिक्त उनले देशको कानुनी सुधारमा पनि ध्यान दिए । यसैअनुरूप सन् २००४ मा कतारले पहिलो स्थायी संविधान कार्यान्वयनमा ल्यायो । संविधानअनुरूप नगरपालिका चुनाव सुरु भयो, जसमा अरबी देशमा कमै देखिने महिलालाई मतदान गर्ने र उम्मेदवारका रूपमा उभिने अधिकार दिइयो । उनको नेतृत्वमै सन् २०१० मा कतारले सन् २०२२ मा फिफा विश्वकप फुटबल आयोजना गर्ने अधिकार हासिल गर्यो । १२ वर्षपछि उनका छोरा तमिम बिन हमाद बिन खलिफा अल थानीको नेतृत्वमा विश्वकपको सफल आयोजना हुँदा यो कुनै अरब देशमा आयोजना हुने पहिलो फुटबल विश्वकप बन्यो । जनवरी १९५२ मा दोहामा जन्मिएका सेख हमादले कतारको सशस्त्र सेनाका कमान्डर बन्नुअघि बेलायतको स्यान्डहर्स्टस्थित ‘ब्रिटिस रोयल मिलिटरी एकेडेमी’बाट स्नातकसम्म अध्ययन गरेका थिए । सन् १९७७ मा युवराज र रक्षामन्त्री घोषित गरिएका सेख हमादले जुन २७, १९९५ मा औपचारिक रूपमा अमिरका रूपमा सत्ता ग्रहण गरे ।

पिता खफिला बिन हमाद अल थानीको सुस्त सुधारबाट अधैर्य भएर पितालाई सत्ताच्युत गरेका थिए हमादले । तर, पछि आफूले गर्न सक्ने काम गरेपछि जुन २५, २०१३ मा आफैँले छोरा सेख तमिम बिन हमाद अल थानीलाई राजकाज सुम्पिएर अवकाशको जीवन रोजे ।

सेख हमादले कूटनीतिक मध्यस्थकर्ताका रूपमा कतारको भूमिकालाई व्यापक विस्तार गरिदिएका थिए । उनी आफ्नो शासनकालमा सुडानको डार्फर क्षेत्रको दशकौँ लामो द्वन्द्वमा मध्यस्थता गर्नेदेखि लेबनानी द्वन्द्व मिलाउनेसम्म र प्यालेस्टिनी समूह हमास तथा फताहबिचको विभाजन कम गर्नेसम्म सक्रिय रहे । सेख हमादले गद्दी त्याग्नुअघि कतारले अमेरिकाको अनुरोधमा आफ्नो भूमिमा तालिबानका लागि औपचारिक कार्यालय खोल्न सघाएको थियो । यही कदमले वासिंटन र तालिबानबिच वार्ताको मार्गप्रशस्त गर्दै अन्ततः २०२१ मा अमेरिकाको अफगानिस्तानबाट फिर्तीसम्म पुर्यायो ।

उनकै शासनकालमा उत्तर अफ्रिकी अरब देशबाट अरब वसन्तका रूपमा परिचित लोकप्रिय विद्रोह उठ्यो । उनी सो विद्रोहको पक्ष लिने थोरै अरबी राज्य प्रमुखमध्ये एक थिए । यही सथर्मनका कारण कतारी टेलिभिजन अलजजिराले सरकारी प्रसारण प्रतिबन्धलाई अस्वीकार गर्दै लोकतन्त्र पक्षधर प्रदर्शन विश्वलाई देखायो । सिरियामा सेख हमादले सुरुमा तत्कालीन राष्ट्रपति बसर अल–असदलाई सरकारविरोधी प्रदर्शनबिच सत्ता त्याग्न मनाउने प्रयास गरेका थिए । तर, पछि सिरिया सेनाले प्रदर्शनकारीको हत्या गर्न थालेपछि कतारले दमास्कससँगको कूटनीतिक सम्बन्ध नै तोड्यो । उता लिबियामा कतारले नेटो सैन्य मिसनलाई समर्थन गर्यो, जसले अन्ततः दशकौँ पुराना शासक मुअम्मर गद्दाफीलाई अपदस्थ गर्यो ।

तर, उनको हृदयको सबैभन्दा नजिकका मुद्दामा प्यालेस्टिनी मुक्ति संघर्ष पनि एक थियो । यही भएर उनले गरेका अन्तिम औचापरिक भ्रमणमा एक गाजापट्टीको भ्रमण थियो । त्यस भ्रमणका क्रममा उनी गाजापट्टी जाने पहिलो राष्ट्र प्रमुखसमेत बनेका थिए । सोही भ्रमणको सम्मानमा गाजा र दक्षिणी लेबनानका केही स्थानको नाम सेख हमाद राखिएका छन् । सेख हमादको प्रभाव कतारको सिमानाभन्दा धेरै टाढासम्म फैलिएको थियो, त्यसैले उनको जीवनजस्तै उनको निधन पनि मध्यपूर्व क्षेत्र र बाहिर पनि महसुस गरिनेछ । 

(राजनीति, प्रविधि, विज्ञान, जलवायु परिवर्तन आदिबारे लेख्ने समिम सन् २०२३ मा पुलिट्जर सेन्टर फेलो रहेकी थिइन्)
(अलजजिराबाट)

सुझावित समाचार