- सन् २००६ को विश्वकपको प्रिक्वार्टरफाइनलमा फ्रान्सले स्पेनलाई ३–१ ले पाखा लगाएको थियो, दुई दशकपछि स्पेनलाई सो हारको बदला लिने अवसर जुरेको छ ।
२३औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल मंगलबार रातिबाट सुरु हुँदै छ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल पूर्वविजेता फ्रान्स र स्पेनबिच हुँदै छ । यो खेल विश्वकपकै हाइभोल्टेजका रूपमा लिइएको छ । स्पेन सन् २०२४ को युरो विजेता र फ्रान्स विश्वकपकै साबिक उपविजेता हो । यी दुवै टोली उत्कृष्ट फर्ममा छन् । फ्रान्स र स्पेनले विपक्षीमाथि एक पक्षीय दबाब राख्दै सेमिफाइनल स्थान पक्का गरेका छन् ।
दुई युरोपेली राष्ट्र स्पेन र फ्रान्स विश्वकपमा २० वर्षपछि आमनेसामने हुन लागेका छन् । फ्रान्स र स्पेन पछिल्लोपटक सन् २००६ मा जर्मनीले आयोजना गरेको विश्वकपमा प्रतिस्पर्धा भएको थियो । सो खेलमा फ्रान्सले स्पेनमाथि ३–१ को जित निकालेको थियो । २० वर्षअघि भएको विश्वकपको प्रिक्वार्टरफाइनलमा स्पेनलाई पाखा लगाउँदै फ्रान्सले फाइनल यात्रा तय गरेको थियो । जिनेदिन जिदान प्रेरित रहेको फ्रान्सले फाइनलमा इटालीविरुद्ध खेलेको थियो ।
तर जिदानले उपाधि भिडन्तमा रातो कार्ड व्यहोरिएपछि फ्रान्सले इटालीसँग फाइनल गुमायो । विश्वकपको सेमिफाइनल उनीहरूबिच पहिलोपटक भेट हुन लागेको हो । समग्र अन्तर्राष्ट्रिय फुटबलमा दुईबिच ३८ खेल भएका छन् । स्पेन र फ्रान्सबिच अन्तिमपटक गत वर्षको ६ जुनमा नेसन्स लिगको सेमिफाइनलमा खेल भएको थियो । स्पेनले ५–४ ले नतिजा आफ्नो पक्षमा पारेको थियो ।
आक्रामक र टिकिटाका शैली
स्पेन र फ्रान्सबिचको खेल शैलीले समर्थक उत्साहित हुनेछन् । फ्रान्सले अहिलेसम्म काउन्टर र आक्रामक खेलमा विपक्षीलाई दबाब राखेको छ । फ्रान्स आक्रामक बन्दा स्पेन भने प्रावधिक रूपमा खेल खेल्न रुचाउँछ । स्पेन अहिले १६ वर्षअघि दक्षिण अफ्रिकाले आयोजना गरेको विश्वकपमा टिकिटाका शैलीलाई अपनाइरहेको छ । स्पेनले धेरैपछि यो शैलीलाई अपनाएको थियो । टिकिटाका शैलीमै स्पेनले सन् २००८ देखि ०१२ सम्म विश्व फुटबलमा राज गरेको थियो ।
त्यसवेला स्पेनले सन् २००८ र ०१२ मा युरोकप जितेको थियो । सन् २०१० मा उसले विश्वकप उपाधि पहिलोपटक जित्यो । चालू विश्वकपमा स्पेनले यस शैलीमा प्रतिस्पर्धा गरिरहेको छ । बल पोसेसनमा पकड बनाएर विपक्षी पोस्टमा हाबी हुनुका साथै गोल गर्नेलाई टिकिटाका भनिन्छ । फ्रान्स भने यसको विपरीत छ । छोटो समयका लागि बल होल्ड गर्दै आक्रामक रूपमा विपक्षी डिबक्ससम्म बल लैजाने फ्रान्सको शैली हो । यो रणनीतिमा कप्तान एम्बाप्पे र डेम्बेलेको भूमिका निर्णायक हुन सक्छ । फ्रान्सको स्पिड खेलमा स्पेनको डिफेन्स व्यस्त हुनेछन् । स्पेनले प्राविधिक रूपमा खेल नियन्त्रणमा राख्दै फ्रान्सको पोस्टमा गोल गर्ने योजना बनाउनेछ ।
स्पेनको बलियो डिफेन्स तोड्ने योजना फ्रान्सको
स्पेनले चालू विश्वकपमा क्वार्टरफाइनलमा बेल्जियमसँगको खेल गोल व्यहोरेको थियो । स्पेनले समुह चरणका तीन र दुई नकआउट चरणमा गोल व्यहोर्नु परेको थिएन । स्पेनका गोलरक्षक उनाई सिमोनले कीर्तिमानी रूपमा ६०९ मिनेटसम्म क्लिन सिट राखेका थिए । विश्वकपमा यो एउटा रेकर्ड हो । स्पेनको अपराजित यात्रामा गोलरक्षक सिमोनको योगदान धेरै छ ।
स्पेनका गोलरक्षक सिमोनको तथ्यांकअनुसार ६ खेलमा विपक्षी टोलीहरूले उनीनविरुद्ध मात्र एक गोल गरेका छन् । स्पेनको रक्षापंक्ति निकै बलियो रहेकाले फ्रान्सले थप मिहिनेत गर्नुपर्छ । यद्यपि, फ्रान्सको फाइनल थर्डका खेलाडी स्पेनको डिफेन्स भत्काउन तयार छन् । फ्रान्सले क्वार्टरफाइनलसम्म प्रतियोगितामै सबैभन्दा बढी १६ गोल गरिसकेको छ ।
यसैगरी, फ्रान्सका गोलरक्षक माइक मेग्नन पनि प्रतियोगिता उत्कृष्ट फर्ममा छन् । उनलाई उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने ‘गोल्डेन ग्लोभ’को दाबेदार रूपमा हेरिएको छ । फ्रान्सले ६ खेलमा मात्र दुई गोल खाएको छ । उनले फ्रान्सको अग्रतालाई जोगाउन धेरै बचाउ गरेका छन् । स्पेनको रक्षापंक्ति भत्कियो उनी गोल्डेन ग्लोभ जित्ने सूचीको शीर्ष स्थानमा पुग्नेछन् ।
हेड टु हेडमा स्पेन बलियो
चालू विश्वकपको हाई भोल्टेज खेलमा स्पेन र फ्रान्सबिच सेमिफाइनलमा प्रतिस्पर्धा हुँदै छ । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता उनीहरू पहिलोपटक प्रतिस्पर्धा लागेका होइनन् । विश्वकपका पूर्वविजेता स्पेन र फ्रान्सले यसअघि पनि विश्वकपमा प्रतिस्पर्धा गरिरहेका छन् । हेड टु हेडमा स्पेन बलियो देखिन्छ । अहिलेसम्म ३८ भेटमा स्पेन १८ खेलमा विजयी भएको छ । फ्रान्सले स्पेनविरुद्ध १३ खेलमा निकालेको छ । यी दुईबिच सात खेल बराबरीमा सकिएको छ । सन् २०२४ र सन् २०२५ मा स्पेनले फ्रान्सलाई हराएको थियो ।