मधेश परीक्षणको थलो बन्नुहुँदैन : मन्त्री थापा

सोमबार, २९ असार, २०८३
डिजिटल संस्करण

मधेश प्रदेश परीक्षणको थलो बन्न नहुने प्रदेश श्रम तथा यातायातमन्त्री शारदादेवी थापा बताएकी छिन् । मधेशका आठ जिल्लाका पत्रकारहरूको सहभागितामा आयोजित आचारसंहिताको प्रभावकारी कार्यान्वयनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री थापाले सरकार फेरबदल भइरहने विषयलाई इंकित गरी मधेश प्रदेशलाई प्रयोगशाला बन्न दिन नहुने बताएकी छिन् ।

मधेश सरकार मौसमी खेतीजस्तै भएको भन्दै उनले सरकार कति वेला फेरिने भन्ने टुंगो नरहेको बताएकी छिन् । मधेश प्रदेशको मिडिया काउन्सिलको आयोजनामा भएको कार्यक्रममा मन्त्री थापाले घरघरमा पत्रकार र पत्रिका पुगेको भन्दै आचारसंहिता पालना पत्रकार स्वयंले गर्नुपर्ने बताएकी छिन्। पत्रकारको कलमले नै समाजलाई समानतामा ल्याइदिएको भन्दै उनले जिम्मेवार भएर आचारसंहिता पालना गरी सशक्त पत्रकारिता गर्न आग्रह गरेकी छिन् । 

एक अलग प्रसंगमा उनले संघीयतामाथीि चौतर्फी आक्रमण भइरहेकोले सबै मिलेर संघीयता जोगाउनुपर्ने भन्दै संघीयताकै कारण न्यायमा महिला, दलित गरिबको पहुँच बढ्दै गएको बताइन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोजक केसी लामिछाने, केन्द्रीय सदस्यहरू राजेशकुमार कर्ण, राजकरण महतो, प्रदेश अध्यक्ष श्याम बञ्जरालगायतले पत्रकारले आचारसंहिता पालना गर्नमा विशेष ध्यान दिनुपर्ने बताए । बदलिँदै गरेको परिवेश, प्रविधिको प्रयोगको समयमा सत्य, तथ्य र नागरिकप्रति जिम्मेवार भएर पत्रकारिता गर्नुपर्ने उनीहरूले बताए । काउन्सिलका कार्यवाहक अध्यक्ष वन्दना झाले प्रदेशको पत्रकार र पत्रकारिताको हितका लागि सक्रियतापूर्वक काम गरिरहेको बताएकी छिन् ।

सुझावित समाचार