मुगु पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

सोमबार, २९ असार, २०८३
डिजिटल संस्करण

मुगु जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित आइतबार आयोजित एक कार्यक्रमबिच जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

जिल्लाका चारवटै पालिकामा रहेका १६ देखि २३ महिनासम्मका बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेको र कुनै पनि बालबालिका खोपबाट वञ्चित नरहेको पुष्टि भएपछि आगामी दिनमा पनि नियमित रूपमा खोप सेवा निरन्तर प्राप्त गराउने प्रतिबद्धतासहित घोषणा गरिएको हो।

जिल्लाको एक नगरपालिका, तीन गाउँपालिका तथा समग्र जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

जिल्ला खोप समन्वय समितिको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय मुगुको सहयोगमा आइतबार जिल्ला समन्वय समिति मुगुको सभाहलमा आयोजित कार्यक्रममा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो। कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति मुगुका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष मञ्जनबहादुर कार्कीले गरेका थिए।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति मुगुका प्रमुख तथा उपप्रमुख, छायानाथ–रारा नगरपालिकाका मेयर, निमित्त प्रमुख जिल्ला अधिकारी, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, चिकित्सक तथा स्वास्थ्यकर्मी, नेपाल पत्रकार महासंघका अध्यक्ष तथा विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मी, शिक्षक, जिल्लास्थित गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक अगुवा, महिला स्वास्थ्य स्वयंसेविका, विद्यार्थीलगायत विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो।

जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको अवस्थालाई निरन्तर कायम राख्न बालबालिकाले उमेरअनुसार पाउनुपर्ने १३ रोगविरुद्धका ११ प्रकारका खोप– बिसिजी, पोलियो, दादुरा–रुबेला, हेपाटाइटिस ‘बी’, जापानिज इन्सेफ्लाइटिस, रोटाभाइरस (झाडापखाला) र टाइफाइडलगायतका खोप सबै लक्षित बालबालिकासम्म नियमित रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको थियो। साथै, खोप कार्यक्रमलाई थप प्रभावकारी, नियमित र दिगो बनाउन कार्यक्रममा उपस्थित सम्पूर्ण सरोकारवालाले साझा प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरेका थिए।

सुझावित समाचार