चीन–उत्तर कोरिया सम्बन्धका उतारचढाव

आइतबार, २८ असार, २०८३
डिजिटल संस्करण
  • चीन र उत्तर कोरियाबिचको सम्बन्ध शीतयुद्ध, चीनको आर्थिक खुलापन र प्योङयाङको आणविक हतियार विकासलगायत विभिन्न चरणबाट गुज्रिएको छ

चिनियाँ नेताहरू उत्तर कोरियासँगको सम्बन्ध कति घनिष्ट छ भन्ने जोड दिन ‘ओठ र दाँतजत्तिकै नजिक’ भन्ने गर्छन् । तथापि, बाहिरबाट द्विपक्षीय सम्बन्ध जति न्यानो देखिए पनि दुई देशको सम्बन्धलाई खासमा रणनीतिक आवश्यकताले जोडेको छ । जुलाई ११, १९६१ मा तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एनलाई र उत्तर कोरियाली नेता किम इल सुङले बेइजिङमा ‘मैत्री, सहयोग र पारस्परिक सहयोगको सन्धि’मा हस्ताक्षर गरेसँगै द्विपक्षीय सम्बन्धको जग बसेको थियो ।

६५ वर्षअघि लागू भएको यस सन्धिमा एक पक्षमाथि सशस्त्र आक्रमण भएमा अर्को पक्षले सहयोग गर्ने पारस्परिक रक्षाको प्रावधान पनि उल्लेख छ । उत्तर कोरियासँगको गठबन्धन चीनको हालसम्मको एक मात्र औपचारिक सैन्य गठबन्धन हो । यसले पनि सन्धिको महŒवलाई प्रकाश पार्छ । यस सन्धिमा हस्ताक्षर भएको वार्षिकोत्सवका अवसरमा यसै साता उत्तर कोरियाका प्रधानमन्त्री पाक थाए सोङ बेइजिङको तीनदिने भ्रमण गरे । तर, सन्धिमा हस्ताक्षर भएयता धेरै परिवर्तन भइसकेको छ । विगत ६५ वर्षमा चीन एक विपन्न कम्युनिस्ट राज्यबाट विश्वको दोस्रो ठुलो अर्थतन्त्र बनिसकेको छ । जबकि उत्तर कोरिया अझै पनि बाँकी विश्वबाट एक्लो र अत्यधिक प्रतिबन्ध सामना गरेको छ । परिवर्तनका बाबजुद चीन–उत्तर कोरिया सम्बन्ध शीतयुद्ध, चीनको आर्थिक खुलापन, सोभियत संघको पतन र प्योङयाङको आणविक हतियार विकासलगायतको चरणबाट गुज्रिएका छन् । यो सम्बन्ध उतारचढावपछि पनि टिक्न सफल भएको छ र दुवै देश यसलाई असफल हुन दिन सक्ने अवस्थामा छैनन् ।

स्थिरता चाहन्छ चीन
चीन–उत्तर कोरिया सम्बन्ध कोरियाली युद्धमा सबल थियो । युद्धका क्रममा सन् १९५० मा संयुक्त राज्य अमेरिका नेतृत्वको सेना चीनको सीमासम्म पुगेको थियो । बेइजिङले आफ्ना लाखौँ सैनिक उत्तर कोरियालाई सहयोग गर्न पठायो । चीनले आफूले पठाएको सैनिकलाई ‘स्वयंसेवक’ भनेको थियो । उनीहरूले चिनियाँ कमान्डमा लडे र ठुलो क्षति व्यहोरे । यो साझा इतिहास दुई देशको सम्बन्धको आधिकारिक कथ्यको केन्द्रविन्दुमा छ । र, यसैलाई इंगित गर्दै चिनियाँ र उत्तर कोरियाली नेताहरूले बारम्बार मित्रतालाई ‘रगतले जोडेको’ भन्छन् ।

चीन–उत्तर कोरियाबिच केही समनता अझै कायम छ । दुवै एकदलीय राज्य हुन् जसले अझै पश्चिमी शक्तिप्रति गहिरो शंका गर्छन् । दुवैले कोरियाली प्रायद्वीपमा अमेरिकी सेनाको उपस्थितिको विरोध गर्छन् । त्यस्तै, उनीहरू दुवैले आफ्नो सर्वोच्चता नस्विकार्ने देशहरूलाई नियन्त्रण गर्न वासिङटनले गठबन्धन, प्रतिबन्ध र सैन्य दबाब प्रयोग गर्ने गरेको आरोप लगाउँछन् । दुईबिच समानता यत्तिमै सीमित छ । पछिल्लो समय चीनले विदेशी लगानी, निजी उद्यम र विश्व व्यापारलाई अँगालेर उल्लेख्य प्रगति गरेको छ । बेइजिङले आफूलाई एक भरपर्दो अन्तर्राष्ट्रिय साझेदार र विपन्न देशको बाहुल्य रहेको ‘ग्लोबल साउथ’ क्षेत्रको नेताको रूपमा चित्रण गर्न थालेको छ । जबकि, उत्तर कोरिया धेरै हदसम्म बाँकी विश्वबाट अलग छ ।

प्योङयाङसँगको सम्बन्धमा चीनको प्राथमिकता एक बलियो राष्ट्र भन्दा पनि  स्थिर उत्तर कोरिया हो । बेइजिङ उत्तर कोरियाको वर्तमान कम्युनिस्ट सरकार ढलोस् भन्ने चाहँदैन । त्यहाँको सरकार ढलेमा ठुलो संख्यामा शरणार्थी चीनतर्फ पलायन हुन सक्छन् । अझ प्योङयाङ सरकार पतन भए कोरियाली प्रायद्वीप दक्षिण कोरियाको नेतृत्वमा एक हुन सक्छ । त्यसोभए १४ सय किमि लामो सिमानासम्म अमेरिका समर्थक सियोलको नियन्त्रण हुने उसको मुख्य चिन्ता छ । तर, चीन आणविक शक्तियुक्त उत्तर कोरिया पनि चाहँदैन । बेइजिङले विगतमा उत्तर कोरियाको आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमविरुद्ध संयुक्त राष्ट्र संघको प्रतिबन्धलाई समर्थन गर्ने गरेको इतिहास छ । तसर्थ, उत्तर कोरियाप्रति चीनको विरोधाभासपूर्ण नीति झल्किन्छ ।

विकल्प खोजिरहेको उत्तर कोरिया
सोभियत संघको पतनपछि दसकौँसम्म, चीन उत्तर कोरियाको एक मात्र कूटनीतिक साझेदार र संरक्षकजस्तो देखिएको थियो । तर, प्योङयाङले बेइजिङमाथिको पूर्ण निर्भरता कुनै बेला समस्या बन्न सक्ने मूल्यांकन गर्यो । यसैले पछिल्लो समय मस्कोसँगको उसको बढ्दो घनिष्टताले सन्तुलन परिवर्तन गरेको छ । सन् २०२४ मा उत्तर कोरिया र रुसले पारस्परिक रक्षा प्रावधानसहित एक व्यापक रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गरे । त्यसवेलादेखि, दुई देशबिचको सैन्य र राजनीतिक सहयोग उल्लेखनीय रूपमा गहिरिएको छ ।

बेइजिङका लागि भने नयाँ विकसित अवस्था उपयोगी र असहज दुवै छ । रुसले उत्तर कोरियालाई समर्थन गर्दा आफूमाथि आर्थिक सहायताको बोझ घट्ने चीनको अपेक्षा । साथमा भविष्यमा अमेरिकी प्रभाव रोक्नका लागि फराकिलो मोर्चा बन्ने चीनको आकलन छ । तर, मस्को र प्योङयाङबिचको घनिष्ठ सैन्य सम्बन्धले किमको आणविक महŒवाकांक्षालाई थप प्रोत्साहित गर्न सक्ने चिन्ता भने कायम छ । यसले उत्तरपूर्वी एसियामा थप अस्थिरता सिर्जना गर्न सक्छ । उत्तर कोरियाली सरकारमाथिको आफ्नो प्रभाव टुटेर प्योङयाङ पूरै रुसको हातमा पुगेको हेर्न चीन चाहँदैन । त्यसमाथि क्षेत्रीय सुरक्षा अवस्थाका कारण पनि बेइजिङ र प्योङयाङ प्राकृतिक साझेदार हुन् । विशेष गरी अमेरिकाले पछिल्लो समय दक्षिण कोरिया र जापानसँगको सैन्य सहयोगलाई बलियो लागेको सन्दर्भमा चीनलाई पनि उत्तर कोरियाको साथ आवश्यक पर्छ ।

टोकियोले पछिल्लो समय रक्षाखर्चमा उलेख्य वृद्धि गरिरहेको छ । चीनले जापानको सैन्य विकासमा दोस्रो विश्वयुद्धकालीन विस्तारवादी जापानको सम्भावित उदयको छनक पाउन थालेको छ । उता दक्षिण कोरियामा अझै पनि दसौँ हजार अमेरिकी सेना बसिरहेका छन् । वरिपरिको देशमा अमेरिकी सैन्य उपस्थितिलाई चीनले आफूलाई घेर्ने अमेरिकी प्रयास मान्छ । उत्तर कोरियाले भने छिमेकी देशमा भइरहेका पछिल्ला सैन्य गठबन्धन र वृद्धिलाई युद्धको तयारी मान्न थालेको छ । 
खतराबारे चीन र उत्तर कोरियाको समान धारणा नभए पनि उनीहरूबिच धेरै विषयमा कुरा मिल्छन् । यसले गर्दा बेइजिङले प्योङयाङसँग अझै बलियो गठबन्धन रहेको देखाउन चाहेको छ, भलै प्योङयाङले अन्यत्र पनि सम्बन्ध विस्तार गरिरहेको किन नहोस् ।

आवश्यकतासँग जोडिएको सम्बन्ध
चीन–उत्तर कोरिया गठबन्धन आगामी दिनमा विगतको ६५ वर्षजस्तै रहला भन्न सकिँदैन । उत्तर कोरियाले पछिल्लो समय मस्कोसँगको सम्बन्धलाई सुदृढ पार्ने र दक्षिण कोरिया तथा अमेरिका दुवैसँग दूरी बनाएर पनि बढी आत्मविश्वासी बन्दै गएको छ । विश्वमा चीनको शक्ति बढ्दै गएको भए पनि उसलाई कोरियाली प्रायद्वीपमा सिर्जना हुन सक्ने अस्थिरताले ठुलो घाटा पुर्याउनेछ । यस मूल्यांकनका आधारमा चीनको रणनीतिक परिवर्तन दिनप्रतिदिन स्पष्ट हुन थालेको छ । विगतमा, बेइजिङले सार्वजनिक रूपमा उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र परीक्षणप्रति निराशा व्यक्त गर्दै प्योङयाङलाई वार्तामा फर्कन आह्वान गर्थ्यो । तर, पछिल्लो आणविक परीक्षणका विषयमा चीन उत्तर कोरियाप्रति मौन रहन थालेको छ ।

प्योङयाङको पछिल्लो भ्रमणमा चीनका राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाको आणविक हतियारबारे उल्लेखसमेत गरेनन् । बेइजिङ उत्तर कोरियाको आणविक कार्यक्रमबारे नकारात्मक टिप्पणी गरेर प्योङयाङलाई भ्लादिमिर पुटिनतर्फ धकेल्न अनिच्छुक रहेको हुन सक्छ । चीनले एकातर्फ आफ्नो कूटनीतिक प्रभाव कायम राख्ने र अर्कोतर्फ विश्व व्यवस्थामा अमेरिका र उसका  सहयोगीको प्रभाव कम गर्नेतर्फ ध्यान दिएको हुन सक्छ ।

(यु चिनियाँ लेखक तथा भिडियो पत्रकार हुन्)
अलजजिराबाट

सुझावित समाचार