गौमायाको सिने यात्रा : पम्फादेखि विष्णुसम्म

शनिबार, २७ असार, २०८३
डिजिटल संस्करण

कसैका लागि जीवन एउटा मात्रै परिचयमा सीमित हुन्छ । तर, केही मानिस भने आफ्नो मिहिनेतले एउटै जीवनमा दुई फरक परिचयलाई सँगसँगै अघि बढाइरहेका हुन्छन् । गौमाया गुरुङ त्यस्तै एक उदाहरणीय पात्र हुन् । क्यामेराका अगाडि उनी सुपरिचित अभिनेत्री हुन् भने आँखाका बिरामीका अगाडि डाक्टर ।

कक्षा १० सकेपछि गौमाया लन्डन पुगिन् । अप्टोमेट्रीमा स्नातकोत्तर अध्ययन पूरा गरिन् । त्यसपछि ‘हेल्थ प्राक्टिस्नर’का रूपमा काम सुरु गरिन् । विश्वविद्यालयमा अध्ययन गर्दा उनले सन् २०११ मा मिस युके नेपालमा सहभागी भइन् । ताज जितेपछि उनको चर्चा चुलियो । उनी विभिन्न क्षेत्रमा सक्रिय भइन् । कथा–कविता लेख्थिन् । कार्यक्रम सञ्चालन गरिन् । अभिनय र मोडलिङमा पनि आफ्नो उपस्थिति बलियो बनाउँदै लगिन् । तर, उनलाई सधैँ खड्किरह्यो नेपाली भाषा । लाहुरे पृष्ठभूमिका कारण उनको परिवार नै बेलायत पुग्यो । विदेशमा हुर्किंदा भाषा र संस्कृतिको अनुभव फरक भयो । त्यही क्रममा उनलाई नेपाली भाषाप्रति चासो बढ्यो । अंग्रेजी प्रभावबिच पनि मातृभाषाको महत्व उनले बुझिन् । मेघालयको प्रोजेक्टमा खासी भाषा सिक्दा पनि उनलाई आफ्नै भाषाको मूल्य अझ गहिरो रूपमा महसुस भयो ।

‘नेपाली भाषा सिक्ने मौका मिलेन । स्कुलमा पनि अंग्रेजी सिकाइयो । युके पुगेपछि भाषाको महत्व बल्ल थाहा पाएँ,’ उनी स्मरण गर्छिन् ।

नेपाली भाषा केवल बोलिचाली मात्रै होइन, संस्कृति हो भन्ने उनले महसुस गरिन् । विदेशमा बस्दा आफू अल्पसंख्यक भएको महसुस भयो उनलाई । त्यही अनुभवले भाषा र पहिचानबारे उनको बुझाइ फराकिलो बनायो । उनी भन्छिन्, ‘विदेशमा बसेपछि आफू माइनोरिटीमा परेको अनुभव गहिरो गरी भयो । जति राम्रो अंग्रेजी बोले पनि आफूलाई कहिल्यै ‘ब्रिटिस’ वा ‘इंग्लिस’ मानिँदैन भन्ने लाग्यो । त्यसपछि मनमनै सोचेँ, ‘म जहाँ गए पनि नेपाली हुँ ।’

त्यही अनुभूतिले गौमायालाई आफ्नो भाषा, संस्कृति र पहिचानप्रति गर्व लाग्न थाल्यो । नेपाली भाषा अझ राम्रोसँग बोल्न र बुझ्नुपर्छ भन्ने चेतना बढ्यो । अडियो बुकमार्फत उनले नेपाली पुस्तक सुन्न थालिन् । यसले उनको शब्दभण्डार र भाषाप्रतिको माया अझ गहिरो बनायो । ‘नेपाली भाषा मिठो भए पनि प्रयोग कम हुँदा यसको भ्यालु घटेजस्तो देखिन्छ । तर, विदेशमा बसेपछि झन् यसको महत्व बढी भयो,’ उनी भन्छिन् ।

कोभिड–१९ का वेला गौमायाले सामाजिक सञ्जाललाई फरक दृष्टिले हेर्न थालिन् । त्यसवेला धेरै मानिस सामाजिक सञ्जालमा नकारात्मक र विवादास्पद सामग्रीमा अल्झिरहेका थिए । यस्ता विषयबारे परिवारमा छलफल हुन्थ्यो । त्यही समयमा उनले उपयोगी र सकारात्मक सामग्री बनाउने सोच बनाइन् । युट्युबमा नेपालमा बोलेर घुमेको भिडियो बनाउने सोच बनाइन् । उनलाई सुरुदेखि नै यात्रा गर्न रुचि थियो । यही सोचबाट उनले आफ्नो साथीसँग मिलेर ‘खुला आकाश’ सुरु गरिन् । यात्रा र अनुभवमार्फत संसारका कथा दर्शकमाझ पुर्याउने उद्देश्य थियो । आफू पुगेका ठाउँहरू दर्शकलाई देखाउन थालिन् । ‘यात्राले समाज र संस्कृतिलाई फरक दृष्टिकोणबाट बुझ्न सिकायो । एउटा ठाउँमा सही लाग्ने कुरा अर्को ठाउँमा सही नहुन पनि सक्छ भन्ने चेतना यात्राले दियो । कोभिड सामान्य भएपछि फेरि आफ्नै पेसातिर फर्किएँ । त्यसपछि फिल्मको यात्रा सुरु भयो । फिल्ममै व्यस्त भएँ । तर, अझै विश्वका धेरै ठाउँ पुग्ने रहर छ,’ उनी भन्छिन् ।

फुर्सद मिल्दासम्म ट्रेकिङ जान्छिन् उनी । उनको योजना थियो, उमेर ३० नपुग्दै ३० वटा देश घुम्ने । तर, उमेरसँगै जिम्मेवारी थपियो । उनलाई लाग्यो, यात्रा संख्याका लागि होइन, अनुभवका लागि रहेछ । उनी भन्छिन्, ‘जीवनमा अनुभवका लागि कुनै देशको सीमा मात्रै पार गर्नुपर्दैन । जे खोजे पनि हामीभित्रै हुने रहेछ भन्ने महसुस भयो । यो कुरा बुझेपछि देश घुम्ने रेसतिर लागिनँ ।’ गौमायाले झन्डै ६० भन्दा बढी देशको भ्रमण गरिसकेकी छिन् ।

कोभिड मत्थर भएपछि उनी पुनः आफ्नो पेसा अप्टोमेट्रीमा फर्किइन् । त्यसपछि फिल्म यात्रामा पनि व्यस्त भइन् । घुम्ने रहर भने अझै कायमै छ । समय मिलेमा अहिले पनि एक्लै ट्रेकिङमा निस्कने गर्छिन् । उनमा अभिनयको भोक कायम नै थियो । सिनेमाप्रतिको रुचि पनि बाल्यकालदेखि नै थियो । स्कुलमा अंग्रेजी नाटकमा भाग लिन सहज हुन्थ्यो । तर, नेपाली भाषाको नाटक गर्न पाइँदैनथ्यो । तर, उनी सधैँ अभिनयको अवसर खोजिरहन्थिन् । स्कुलमा अंग्रेजी नाटकमा काम गर्दा दर्शकको तालीले आत्मविश्वास जगाउँथ्यो ।

अप्टोमेट्रिस्ट भएर काम गर्दा पनि उनको मन अभिनयमै थियो । लन्डनमा ९ देखि ५ बजेसम्म काम, त्यसपछि साँझ अभिनयको कक्षा, यो उनको दैनिकी बन्यो । विदेशको व्यस्त समय, थकानमा पनि उनी निरन्तर अभ्यास गर्थिन् ।

मिस युके नेपाल विजेता भएका वेला उनले वाचा गरेकी थिइन्, नेपालको ग्रामीण भेगमा नि:शुल्क आँखा शिविर आयोजना गर्ने । त्यसैले, उनले सन् २०१८ मा ‘ग्लासेस टु गोरखा’ कार्यक्रम सञ्चालन गरिन् । उनको समूहले गोरखा चिप्लेटी गाउँका ४५६ जनाको आँखा परीक्षण गरेको थियो । आवश्यक परेकालाई नि:शुल्क चस्मासमेत प्रदान गरेको थियो ।

उनले ‘गोर्खाः बिनिथ द ब्रेभरी’, ‘चुकुल’ फिल्ममा अभिनय गरिन् । एफएक्स टिभी र बिबिसीले निर्माण गरेको ‘ब्ल्याक नार्सिसस’ टेलिशृंखलामा पनि अभिनय गरिन् । त्यसपछि उनले मानसिक स्वास्थ्य, घरेलु हिंसा, लागुपदार्थ दुर्व्यसनीबारे सन्देशमूलक सर्ट फिल्म ‘माई हेयर माई लभ’, ‘डन्ट आस्क मी ह्वाई’, ‘स्टप अनसिइङ द सिन’मा पनि अभिनय गरिन् । केही म्युजिक भिडियोमा समेत अभिनय गरिन् । तर, उनलाई नेपाली फिचर फिल्ममा काम गर्नु थियो । भनेजस्तो फिल्म पाएकी थिइनन् । उनलाई ‘कबड्डी ४’ का लागि अफर आयो । कबड्डीमा उनको अभिनयले दर्शकको मन जित्यो । आत्मनिर्भर पम्फा पात्र धेरैले रुचाए 

उनलाई पटक–पटक दर्शकले सम्झिराख्ने पात्र पनि बनेको छ, पम्फा । गौमायाका लागि कबड्डी ४ की ‘पम्फा’ निकै प्रिय पात्र हो । दर्शकले पनि पम्फालाई अत्यधिक रुचाए । आजसम्म पनि धेरैले फिल्मका संवाद सम्झेर सुनाउने गर्छन् । उनले निकै मिहिनेत गरेर काम गरिन् ।

त्यसपछि उनले चलचित्र ‘फूलबारी’मा काम गरिन् । ‘फ्रूलबारी’बाट पनि धेरै सिकिन् । ‘कबड्डी ४’ को पम्फापछि मुख्य भूमिकाको अवसर पाउन उनले लामो समय कुर्नुपर्यो । त्यो अवधिमा धेरै अडिसन दिइन् । धेरै फिल्मबाट अस्वीकृति पनि भोगिन् । तर, अभिनयप्रतिको भोक भने घटेन ।

गौमायालाई ‘कबड्डी ४’पछि अभिनयमा फरक पात्र निभाउने रहर थियो । तर, उनले चाहेजस्तो अवसर भने सजिलै पाइनन् । सन् २०२० देखि २०२४ सम्म उनले निरन्तर अडिसन दिइरहिन् । धेरै फिल्ममा छनोट हुन सकिनन् । तर, उनीभित्र अभिनय गर्ने तीव्र इच्छा थियो । आफूलाई चुनौती दिने पात्र खोजिरहेकी थिइन् । कहिलेकाहीँ अस्वीकृतिले पीडा पनि दिन्थ्यो । विशेषगरी, विदेशका फिल्ममा छनोट नहुँदा उनी निराश हुन्थिन् । तर, त्यो निराशा लामो समय टिकेन ।

त्यही समयमा ‘सेप अफ द मोमो’को अडिसन आयो । निर्देशक त्रिवेणी राई नयाँ अनुहार खोजिरहेकी थिइन् । गौमायाले अडिसन दिइन् । त्यसवेला उनी आफूलाई अभिनयका लागि पूर्ण रूपमा तयार ठान्थिन् । तर, यो फिल्ममा पात्र निभाउनु गौमायाका लागि अभिनयको नयाँ पाठ थियो । फिल्म सिक्किमको परिवेशमा आधारित भएकाले त्यहाँको भाषा, लवज र ह्युमर समात्न उनलाई लामो समय लाग्यो । मिहिनेत सफल भयो । फिल्मले गौमायालाई ‘भेनिस’, ‘बुसान’, ‘मामी’जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवसम्म पुर्यायो । उनको चर्चा सर्वत्र भयो ।

उनले ‘महाजात्रा’, ‘महाभोज’, ‘अभिमन्यु’जस्ता फिल्ममा पनि अभिनय गरिन् । तर, आफूलाई फरक ढंगले प्रस्तुत गर्ने अवसरको खोजी जारी रह्यो । उनले अभिनय यात्रामा ‘टाइपकास्ट’ हुने समस्या पनि भोगिन् । ‘कबड्डी ४’ पछि उनलाई उस्तै प्रकृतिका पात्रका प्रस्ताव आउन थाले । तर, उनी आफूलाई एउटै ढाँचामा सीमित गर्न चाहन्नथिन् ।

यही खोजीले उनलाई निर्देशक दीपक रौनियार र आशा मगरातीसँग सहकार्य जुरायो । ‘राजागञ्ज’ (पूजा, सर) मा काम गर्ने अवसर पाइन् । उनका लागि यो फिल्मभन्दा पनि सिकाइको अवसर थियो । निर्देशक रौनियारले फिल्ममा आफ्नो सिन काटिन पनि सक्ने कुरा पहिले नै भनेका थिए । तर, त्यसले उनलाई फरक पारेन । उनी सिक्न चाहन्थिन् ।

‘राजागञ्ज’ले उनलाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवको संसारसँग परिचित गरायो । फिल्मसँगै उनी ‘भेनिस’, ‘बुसान’ र ‘मुम्बई फिल्म फेस्टिभल’सम्म पुगिन् । त्यहाँ उनले सिनेमालाई मनोरञ्जन मात्र होइन, विचार, संस्कृति र संवादको माध्यमका रूपमा बुझिन् । फिल्म महोत्सवहरूबाट उनले धेरै कुरा सिकिन् । विश्व सिनेमालाई हेर्ने दृष्टि फराकिलो बनाइदियो । यही यात्राले उनलाई सन् २०२४ मा विश्व प्रतिष्ठित बर्लिन फिल्म फेस्टिभलअन्तर्गतको ‘बर्लिनाले ट्यालेन्ट’सम्म पुर्यायो । बर्लिनाले ट्यालेन्टको एक्टर विधामा १३१ देशका तीन हजार ८३२ प्रतिस्पर्धीमध्ये नेपालबाट छनोट हुने उनी एक मात्र कलाकार थिइन् । त्यहाँ उनले विश्वका चर्चित फिल्मकर्मी र कलाकारसँग प्रशिक्षण लिइन् । बर्लिनालेले कथालाई फरक ढंगले भन्न सकिने रहेछ भन्ने बुझाइदियो । विझिन्न देशका कलाकारसँगको अन्तर्त्रियाले अभिनय र कलाप्रतिको दृष्टिकोण अझ फराकिलो बनायो ।

See More On

सुझावित समाचार