खाना खान पर्खिएर बसेका थिए परिवार, फर्किएनन् गणेश

शनिबार, २७ असार, २०८३
डिजिटल संस्करण

भक्तपुरको कमलविनायक बस्दै आएका गणेश नेपाली बुधबार श्रीमती र छोरासहित दाइ मदन नेपालीको बालाजुस्थित डेरामा पुगेका थिए । ‘बुधबार दिउँसो भाइबुहारी र छोरा मेरो रुममा आए, केहीबेरमा भाइ राइडरको काममा निस्कियो । बेलुकी यतै आयो, भाइलाई खसीको मासु खान साह्रै मन लागेको रहेछ । मासु महँगो ! किलोकै १४–१५ सय तिरेर खान नसकिने । खसीको खुट्टा लिएर आएको थियो । म खाना खाएर सुतिसकेको थिएँ,’ मृतक गणेशका दाइ मदनले सुनाए, ‘उसका लागि खाना बाँकी थियो, त्यही खाएर सुत, खसीको खुट्टा भोलि पकाउँला भनेर मैले भनेँ, त्यसपछि ऊ खाना खाएर सुत्यो । बिहीबार बिहान मैले नै ‘बाइकको किस्ता तिर्ने वेला आयो, पठाओ गर्न जाऊ’ भनेँ, ऊ जुरुक्क उठ्यो, त्यसपछि कोठाबाट निस्कियो, बिहानै छिमेकीलाई डिस्टर्ब हुन्छ भनेर बाइक स्टार्ट नगरी परसम्म हातले तान्दै लगेर मात्रै स्टार्ट गर्यो । त्यसपछि पठाओ एप अन गर्दै यात्रुहरू खोज्दै बाइक गुडायो ।’ उनी गएपछि मदनले अघिल्लो दिन भाइले ल्याएको खसीको खुट्टा कुकरमा सिट्ठी लगाएर पकाए ।

तर, १० बजेसम्म गणेश खाना खान आएनन् । पठाओ गर्दा ढिलो भयो होला भन्ने सोचेर मदनले फोन पनि गरेनन् । आफूहरूले खाना खाएर भाइलाई राखिदिए । त्यसपछि मदन केहीबेर ढल्किए । उनी निदाएछन् । दिउँसो १ः५० बजे मोबाइलमा घन्टी बज्यो । सेभ नभएको नम्बरबाट आएको फोन उनले उठाए । ‘तपाईंको मान्छे पेट्रोल छर्किएर घाइते हुनुभएको रहेछ, तुरुन्त वीर अस्पतालमा आउनुस्’ भनेर प्रहरीले बोलाए । मदनलाई सपनाजस्तै लाग्यो । डेराबाट हतारिँदै निस्किए । अस्पताल पुग्दा भाइको अवस्था चिन्ताजनक थियो । दाइलाई देखेपछि जलनले सिकिस्त बनेका गणेश अस्पतालको शङ्ढयाबाट केही शब्द बोले, ‘दाइ बाबाममीलाई ख्याल गर्नु, दाइ मेरो गल्ती थिएन है, मेरो गल्ती थिएन है, उनीहरूले ह्विल लक लगाए, ट्राफिक आएर हात हाल्यो,’ त्यसपछि गणेशको मुखबाट शब्द निस्किएनन् । 

मदनलाई यतिको बोलेको भाइको बोली फर्किन्छ होला, उपचार सम्भव हुन्छ होला भन्ने आस थियो । तर, शुक्रबार अस्पतालले गणेशलाई मृत घोषणा गरेपछि उनी विक्षिप्त छन् । पठाओ चलाउन एकाबिहानै निस्किएका पतिको मृत्युको खबरले उस्तै विक्षिप्त छिन् गणेशकी पत्नी । मुगुस्थित उनको घरपरिवारमा उस्तै सन्नाटा छाएको छ, गाउँ शोकमा डुबेको छ ।

सुझावित समाचार