विश्वकप फुटबल : बेल्जियमको सामना गर्दै स्पेन

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण

गोल्डेन जेनेरेसन भनिएको बेल्जियमको वर्तमान टोलीले शुक्रबार राति पूर्वविजेता स्पेनविरुद्ध क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दै छ । चालू विश्वकपमा स्पेनले अहिलेसम्म गोल व्यहोरेको छैन । १६ वर्षअघि दक्षिण अफ्रिकामा भएको विश्वकप च्याम्पियन शैलीकै झझल्को दिने गरी स्पेनले प्रदर्शन गरिरहेको छ ।

युरोपकै बलियो फुटबल टोली मानिने बेल्जियम पनि स्पेनलाई कडा टक्कर दिने प्रयासमा छ, तर विगतको नतिजा हेर्दा बेल्जियम निर्णायक क्षणमा चुक्दै आएको छ । युरोपेली शीर्ष डिभिजनका क्लबमा आफ्ना खेलाडीले दबदबा बनाउँदै आएको बेल्जियमले ठुलो अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन ।

सन् २०१८ मा भएको विश्वकपमा तेस्रो स्थान हासिल गर्नु नै उसको अन्तर्राष्ट्रिय फुटबलकै ठुलो उपलब्धि हो । यस अवसर गुमाउँदा बेल्जियमले केभिन डी ब्रुएना, रोमेलु लुकाकु, गोलरक्षक थिबाउट आन्द्रो ट्रोसार्डजस्ता खेलाडी अर्कोपटक आयोजना हुने ठुलो प्रतियोगितामा गुमाउने पक्का छ । समूह चरणमा कठिन मोडमा रहेको बेल्जियमको कमब्याक उत्कृष्ट भयो ।

प्रशिक्षक रुडी गार्सियाको प्रशिक्षणमा रहेको बेल्जियमले आयोजक अमेरिकाविरुद्ध ४–१ को जित निकाली क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । राउन्ड अफ ३२ मा उसले सेनेगलविरुद्ध ३–२ को संघर्षपूर्ण जित निकालेको थियो । समूह चरणमा इजिप्टसँग १–१ र इरानसँग गोलरहित बराबरी खेल्दा अन्तिम खेलमा न्युजिल्यान्डलाई ५–१ ले हराउँदै बेल्जियमले नकआउटमा स्थान बनाएको हो । लुकाकुले सर्वाधिक तीन गोल गरेका छन् ।

अपराजित स्पेनको टिकी–टाका शैली
स्पेनिस प्रशिक्षक लुइस डीले युवा खेलाडीलाई विश्वास गरेका छन् । कप्तान रोड्री, पेड्री, यामिन लामिन, एलेक्स बाइना, डानी ओल्मो, माइकल ओयर्जाबालले अहिलेसम्म प्रशिक्षकलाई निराश बनाएका छैनन् । २९ वर्षीय स्ट्राइकर ओयर्जाबालले स्पेनका लागि चार गोल गरिसकेका छन् । स्पेनले पोर्चुगलजस्तो उपाधि दाबेदारलाई १–० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । स्पेनले यसपटक पूर्ण रूपमा भिसेन्ट डेलबोस्कीले सन् २००८ देखि २०१२ सम्म अपनाएको टिकी–टाका शैलीलाई पछ्याइरहेको छ । वर्तमान प्रशिक्षक लुइसले पनि यसै शैलीको मद्दतमा विपक्षीमाथि दबाब दिन सफल भएका छन् ।

प्लेयर्स टु वाच

रोड्री (स्पेन)
दोस्रोपटक उपाधि जित्ने अभियानमा रहेको स्पेनी कप्तानी म्यानचेस्टर सिटीका अट्याकिङ मिडफिल्डर रोड्री निकै भरपर्दा खेलाडी हुन् । उनले एकपटक बालोन डि’अर उपाधिसमेत जितिसकेका छन् । केही समय उनी एसिएलको चोटका कारण मैदानबाहिर रहे । तर, चोटमुक्त भएर उनी उत्कृष्ट कमब्याक गर्न सफल भए । स्पेनको मिडफिल्ड बलियो हुनुका पछाडि पनि रोड्रीको अनुभवलाई मान्न सकिन्छ । मैदानको मध्यभागमा रहेर उनले अट्याकर र डिफेन्डरलाई उत्तिकै साथ दिँदै विपक्षीमाथि दबाब बनाएका छन् । जसकारण स्पेनको यो दुई पक्षका खेलाडीले ढुक्कसाथ प्रतिस्पर्धा गरिरहेका छन् । चालू विश्वकपमा रोड्रीले सर्वाधिक ५२६ पास खेलेका छन् ।

चार्ल्स डे केटेलारे (बेल्जियम)
चार्ल्स बेल्जियमका चर्चित युवा खेलाडी हुन् । इटालियन सिरी ‘ए’ क्लब एटलान्टाबाट व्यावसायिक फुटबल खेल्ने २५ वर्षीय चार्ल्सले बेल्जियमको अट्याक सम्हालिरहेका छन् । रोमेरो लुकाकुजस्ता अनुभवी खेलाडीको स्थान उनले लिएका छन् । अमेरिकाविरुद्ध अन्तिम १६ को खेलमा उनले दुई गोल गरेपछि बेल्जियमले ४–१ को सानदार जित निकालेको थियो । विश्व नम्बर एक स्पेनिस डिफेन्डरविरुद्ध चार्ल्सलाई फेरि आफूलाई प्रमाणित गर्ने अवसर जुरेको छ । स्पेनविरुद्ध जित निकाल्न सफल भए बेल्जियम फुटबलका लागि उनी नयाँ स्टार बन्नेछन् । 

सुझावित समाचार