विभाजनको रेखा कोरिएर पार्टी फुटको दिशामा अघि बढेपछि कांग्रेसको संस्थापन र इतर दुवै पक्ष एकता बचाउन ‘एक कदम ब्याक’ हटेर लचिलो बन्न तयार देखिएका छन् । सभापति गगन थापाको नेतृत्वमा पार्टी कार्यालय सानेपामा बुधबार बसेको पदाधिकारी बैठक र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा चुनदेवीस्थित सम्पर्क कार्यालमा बसेको इतर पक्षको बैठकले एकता कायम राख्न लचिलो बन्ने निर्णय लिएका हुन् ।
इतर पक्षले संस्थापनले एकता गर्न नचाहेको निष्कर्ष निकाल्दै सोमबार १५औँ महाधिवेशनको सम्पर्क कार्यालय खोलिसकेको छ । सो पक्षले ६ साउनमा तत्कालीन महाधिवेशन प्रतिनिधिहरूसहितको राष्ट्रिय भेला बोलाउने निर्णय लिएर दबाब सिर्जना गरेको थियो । इतर पक्षको दबाबसहितको गतिविधिको समीक्षा गर्दै संस्थापन पक्षको पदाधिकारी बैठकले उनीहरूकै मागबमोजिम सभापति थापाले नै पार्टी एकताका लागि निर्णायक वार्ता गरेर अन्तिम पहल लिने निर्णय लिएको छ ।
इतर पक्षले संस्थापनको निर्णयलाई सकारात्मक रूपमा लिएको सन्देश जाने गरी पार्टीभित्रको बहुमत–अल्पमतको पोजिसन स्विकारेर १५औँ महाधिवेशनमा सहभागी हुने, तर निष्पक्षताको सुनिश्चिततासहित नयाँ सहमति हुनुपर्ने निष्कर्ष निकालेको छ । चुनदेवी कार्यालयमा सोमबारबाटै खड्काको नेतृत्वमा बुधबारसम्म लगातार बैठक बसेको थियो ।
महामन्त्री गुरुराज घिमिरेले पार्टीलाई एकताबद्ध बनाएर १५औँ महाधिवेशनको तयारीका काम अघि बढाउन पदाधिकारी बैठकले सभापति गगन थापालाई अर्को पक्षसँग संवाद गर्ने जिम्मेवारी दिएको बताए । ‘पदाधिकारी बैठकले संवादमार्फत निकास खोज्ने निर्णय भएको छ । साथीहरूको मागलाई सम्बोधन गरेर १५औँ महाधिवेशनको तयारीमा एकताबद्ध बनाएर लैजाने गरी माग सुनेर विधानको परिधिभित्र रहेर अधिकतम सीमासम्म रहेर अघि बढ्ने निर्णय भएको छ,’ घिमिरेले भने ।
यसअघि खड्कासहित अर्का वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी एकता बचाउन आफूहरूका तर्फबाट गरिएको सहमतिको बुँदागत प्रस्तावलाई सभापति थापाले ‘रेस्पोन्स’ गरेर वार्ता र छलफलबाट हल गर्न नखोजेको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । थापाले पनि खड्का र कोइरालासहित नेताहरूलाई इन्गेजमा राख्न पहिले उपसभापति विश्वप्रकाश शर्मा र पछिल्ला दिनमा महामन्त्री घिमिरेलाई खटाउँदै आएका थिए । उनीहरूमार्फत संवाद चलिरहे पनि थापा सम्पर्कमा नआएपछि इतर पक्षले विभाजन निश्चित बन्दै गएको निष्कर्षसहित सम्पर्क कार्यालय खोलेर आन्तरिक तयारी बढाएको थियो ।
इतर पक्षका नेता तथा बागमती प्रदेशका पूर्वअर्थमन्त्री कुन्दनराज काफ्लेले पार्टी एकताका लागि सभापति थापाको बहुमत पकडलाई स्विकार्ने, तर पन्ध्रौँ महाधिवेशनको निष्पक्षता सुनिश्चितता गरे अरू कुनै पनि मागलाई अडानका रूपमा नराख्ने निचोड निकालिएको बताए ।
‘विशेष महाधिवेशन पक्षको गतिविधिले एकता अघि नबढेकाले फेरि संवाद गर्ने, तर १५औँ महाधिवेशनको निष्पक्षता सुनिश्चितताका लागि महाधिवेशन प्रभावित हुन सक्ने तयारीसँग जोडिएका अनुशासन समिति, क्रियाशील सदस्यता वितरण समिति, अधिवेशन आयोजक समितिलगायतमा सभापतिकै बहुमत कायम राखेर हाम्रो पक्षलाई अल्पमत संख्यासहित समेटेर सर्वसम्मतिमा मात्र निर्णय हुने सहमति भएको अवस्थामा एकतासहित अघि बढ्न अरू कुनै समस्या नहुने निष्कर्ष निकालिएको छ,’ उनले भने ।
काफ्लेले कांग्रेभित्र स्थापनाकालदेखि आजका दिनसम्म गुटहरू रहेकाले अहिले पनि गुटहरूले फरक–फरक बैठक बसेर निर्णयहरू गर्ने कुरा कुनै नौलो नभएकाले मुख्य कुरा महाधिवेशनको निष्पक्षता भएको प्रस्ट्याए । ‘बैठकमा कतिपय साथीहरूले पहिलेको केन्द्रीय सदस्य रहनुभएकाहरू सबै केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यमा समेटिनुपर्ने, कुरा उठाउनुभयो, कतिपयले पद संख्या ठुलो कुरा होइन, समय र परिस्थितिलाई हेरेर जे गर्दा पनि भयो, तर महाधिवेशन निष्पक्ष हुनुपर्ने धारणा राख्नुभयो,’ काफ्लेले भने, ‘कांग्रेसमा स्थापनाकालदेखि गुटहरू रहँदै आए पनि सबै गुटलाई सम्बोधन गरेर र समेटेर महाधिवेशनमा जाने र निष्पक्षता कायम गर्ने परम्परा रहँदै आएकाले अहिले माग राखेजस्तो देखिए पनि कांग्रेसको परम्परालाई सभापतिले गम्भीरतापूर्वक लिनुपर्छ, जिम्मेवारी उहाँकै हो ।’
महामन्त्री घिमिरेले सभापतिकै अग्रसरतामा संवादमा संलग्न नेताहरूले नै कुराकानी गरेर टुंगो लगाउने गरी बैठकले निर्णय गरेको जानकारी दिए । ‘छुट्टै कार्यदल बनाएर धारावाहिक बैठक राखरेर टुंगोमा पुगिँदैन भन्ने हाम्रो निष्कर्ष छ,’ उनले भने ।
शेखरले दिएको समय आज सकिँदै
नेता शेखर कोइरालाले एक हप्ताभित्र छलफलमार्फत टुंग्याएर पार्टी एकता बचाउन राखेको पाँचबुँदे मध्यमार्गी प्रस्तावको समयसीमा बिहीबार सकिँदै छ । महामन्त्री घिमिरेले कोइरालाको प्रस्तावलाई पदाधिकारी बैठकले अल्टिमेटमका रूपमा नभएर पार्टी एकता बचाउनुपर्ने सकारात्मक भावले प्रकट भएकाले सभापतिकै नेतृत्वमा छलफल गर्ने निर्णय भएको बताए ।
‘डाक्टरसापले पाँचबुँदे मध्यमार्गी प्रस्ताव राखेर एकता जोगाउन पुलको काम गर्नुभएको हो, उपसभापतिलाई तपाईंकै नेतृत्वमा सबै पक्ष समेटेर सहमतिको बुँदा तयार गर्ने गृहकार्य गर्नुस्, आवश्यक परे म पनि नाम दिन सक्छु भन्नुभएको थियो,’ कोइराललाई उद्धृत गर्दै उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने, ‘सभापतिसँग सल्लाह गरेर जवाफ दिन्छु भने पनि केही प्रगति नभएकाले उहाँहरूले त्यति गम्भीरतापूर्वक लिएजस्तो देखिएको छैन ।’ कोइराला अहिले कामको सिलसिलामा विराटनगरमै छन् । पार्टी एकताको सन्दर्भमा कुराकानी गर्नुपर्ने आवश्यकता देखिए उनी तत्काल काठमाडौं आउने मुडमा रहेकोसमेत थपलियाले बताए ।