सिराहाको पहिलो साक्षर पालिका बन्यो लहान

बुधबार, २४ असार, २०८३
डिजिटल संस्करण

जनसंख्या र भूगोलको हिसाबले सिराहाको ठुलो लहान नगरपालिकालाई जिल्लाकै पहिलो साक्षर पालिका घोषणा गरिएको छ। नगरपालिकाको सभाकक्षमा बुधबार दिउँसो आयोजित समारोहबिच मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले नगरपालिका क्षेत्रमा स्थायी बसोवास गर्ने जनसंख्यामध्ये ९६ प्रतिशत साक्षर भएकाले राष्ट्रिय साक्षरता मापदण्डअनुसारको सूचकहरुमध्ये आधा सूचकमा आधारमा साक्षर पालिका घोषणा गरेका हुन्।

नगर क्षेत्रका १५ देखि ६० वर्ष उमेर समूहका जनसंख्या ९५ प्रतिशतभन्दा माथि भए साक्षर घोषणा गर्न सकिने आधार पूरा भएकाले नगरपालिकाको साक्षर घोषणा समन्वय समितिको ८ असारको सिफारिस तथा ११ असारको १८औँ नगरसभाको निर्णयबमोजिम साक्षर नगर घोषणा गरिएको हो।

नगरका शिक्षा शाखा प्रमुुख अमिरी यादवका अनुसार आर्थिक वर्ष २०८१/ ०८२ मा २, ३, ४, ५, ६, ७, ८, १४ र २१ गरी नौ वटा वडा साक्षर घोषणा भइसकेको जानकारी दिँदै त्यसबाहेक बाँकी १, ९, १०, ११, १२, १३, १५, १६, १७, १८, १९, २०, २२, २३ र २४ नं. वडाहरू सम्बन्धित वडा क्षेत्रमा पर्ने सामुदायिक विद्यालय तथा वडा कार्यालय र सामुदायिक सिकाइ केन्द्रको सहकार्यमा साक्षरता अभियान सञ्चालन गरिएको बताए। नगर क्षेत्रमा स्थायी बसोवास रहेका एक लाख दुई हजार ३१ जनसंख्या रहेको उल्लेख गर्दै उनले १५ देखि ६० वर्ष उमेर समूहका ६३ हजार दुई सय १८ मध्ये ६० हजार छ सय ९० जनसंख्या (९६%) साक्षर भएकाले साक्षर नगरपालिका घोषणा हुन सफल भएको औँल्याए।

सूचना प्रविधिमैत्री शिक्षामा जोड
साक्षर नगर घोषणा गर्दै मन्त्री सिंहले बजारको माग र आवश्यकताअनुसार सामुदायिक विद्यालयमा सूचना प्रविधिमैत्री शिक्षामा जोड दिंदै प्रदेश सरकारले खस्किँदो शिक्षाको अवस्था उकास्न सीमित स्रोत साधनको बाबजुद मुख्य आवश्यकता र प्राथमिकता निर्धारण गरी काम थालेको बताए। 

‘त्यसका लागि दलित समुदायका चार हजार मुसहर, डोम, बाँतरसहित सीमान्तकृत समुदायका विद्यार्थीलाई छात्रावाससहित पढ्ने व्यवस्था, पाँच सय स्वयंसेवक शिक्षक भर्ना गरिने बजेटमा व्यवस्था गरिएको छ,’ उनले भने, ‘प्रदेशअन्तर्गतका हरेक जिल्लामा नमुनाको रूपमा अंग्रेजी माध्यममा पठनपाठन, छोरी बुहारीलाई उच्च शिक्षामा छात्रबृत्ति, जिल्ला जिल्लामा दुई–दुईवटा नमुना विद्यालय सञ्चालन, कम्प्युटर, गणित, विज्ञान प्रयोगशाला निर्माणसहित सञ्चालन गरिनेछ।’ प्रदेशअन्तर्गतका ८७ वटा सामुदायिक विद्यालयमा नमुना भान्सा कार्यक्रम सञ्चालन गरिने उनले बताए। 

जिल्ला समन्वय समिति सिराहाका प्रमुख दिनेशकुमार महतोले विद्यालयका शिक्षक, विद्यार्थी र सामुदायिक सिकाइ केन्द्रको सहकार्यमा जिल्लाकै पहिलो साक्षर नगरपालिका घोषित हुँदा गर्व लागेको बताए। नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैताले डिजिटल युगमा साक्षरता भनेको लेख्न पढ्न मात्र नभई आलोचनात्मक चेतनाको समेत विकास भएको उल्लेख गर्दै त्यसले सुशासन, पारदर्शिता र दिगो विकासमा सहयोग पुग्ने  बताए।

समारोहमा नगरप्रमुख महेशप्रसाद चौधरीले नगरपालिकाले शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताए। आगामी आवको बजेटमा विशेष अनुदानअन्तर्गत प्राप्त हुने एक करोड ७५ लाख रुपैयाँ बजेट पनि सामुदायिक विद्यालयको सूचना प्रविधिसम्बन्धी पूर्वाधार, शैक्षिक सामग्री र गुणस्तरीय शिक्षामा लगानी गरिने उल्लेख गर्दै उनले साक्षर घोषित नगरपालिकाको दिगोपनाका लागि सबैको सहयोग र सहकार्यको अपेक्षा गरे। 

सुझावित समाचार