देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ। गुल्मीमा असार २२ गते बिहान करिब २:३० बजे रेसुंगा नगरपालिका– ८, गजुरास्थित तम्घास–रेसुंगा सडकखण्डमा रेसु‌ंगा पोखरीबाट तम्घासतर्फ आउँदै गरेको लु.१ज १५२८ नम्बरको सफारी जिप अनियन्त्रित भई सडकछेउको बिरुवाको जालीमा ठोक्किएपछि पल्टिएको थियो।

दुर्घटनामा जिपमा सवार ६ जनामध्ये चारजना घाइते भएका थिए। घाइतेमध्ये रेसुंगा नगरपालिका– २, बाघमारे घर भई हाल वडा नं. ८ बसपार्क बस्दै आएका १६ वर्षीय सुदीप नेपालीको उपचारका क्रममा बिहान ६:५० बजे रुरु प्राथमिक स्वास्थ्य केन्द्र, रिडीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

रौतहटमा असार २२ गते दिउँसो करिब १:३० बजे राजपुर नगरपालिका– ६, अकोलवास्थित खेतमा नम्बर नखुलेको स्वराज ट्र्याक्टर खेत जोत्ने क्रममा दुर्घटना भएको छ। ट्र्याक्टरचालकलाई पछाडिबाट पानी दिन गएका स्थानीय शेख एमामुलका १४ वर्षीय छोरा अतिक रहमानकाे ट्र्याक्टरको रोटाभेटरमा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

नुवाकोटमा असार २२ गते राति करिब ८:३० बजे विदुर नगरपालिका– ४, बट्टार बजारमा बा.४७प १६३४ नम्बरको मोटरसाइकलले पैदलयात्री ५५ वर्षीय प्रेमप्रसाद रिजाललाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका रिजाललाई त्रिशूली अस्पतालबाट थप उपचारका लागि काठमाडौंस्थित ग्रान्डी अस्पताल रेफर गरिएकोमा राति ११:२० बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी सप्तरीमा असार २२ गते राति करिब ९:३० बजे सुरुंगा नगरपालिका– ८, पाटन टोलस्थित भित्री सडकमा स.९प ४९१४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई निर्माणाधीन पुलमा ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका ३५ वर्षीय चालक शशिकान्त चौधरीलाई उपचारका लागि सप्तऋषि अस्पताल, लहान लगिएकोमा राति १०:१४ बजे चिकित्सकले मृत घोषणा गरेका छन्।

प्रहरीले सबै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

सुझावित समाचार