कपिलवस्तुको शिवराज नगरपालिकाका ९७५ घरपरिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। आइतबार नगरपालिकाले गाउँ ब्लकअन्तर्गतका ९७५ परिवारलाई लालपुर्जा वितरण गरेको हो। योसँगै हालसम्म एक हजार ५७५ परिवार कानुनी रूपमा जग्गाधनी बनेका छन्।
वर्षौँदेखि आफ्नै जग्गामा कानुनी स्वामित्वविहीन भएर बसोबास गर्दै आएका वडा नं. १, ४, ६, ८ र ११ का लाभग्राहीलाई चन्द्रौटा दुर्गा मन्दिरपरिसरमा आयोजित विशेष कार्यक्रममा नगरप्रमुख अजय थापाले लालपुर्जा हस्तान्तरण गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख अजय थापाले भूमि अधिकार सुनिश्चित गर्नु स्थानीय सरकारको पहिलो दायित्व भएको प्रस्ट पारे। ‘लालपुर्जा केवल एउटा कागज होइन, यो नागरिकको अधिकार, सम्मान र भविष्यको सुरक्षा हो,’ थापाले भने। निर्वाचन आचारसंहिताका कारण केही ढिलाइ भए पनि अब बाँकी सबै योग्य लाभग्राहीलाई यथाशीघ्र लालपुर्जा वितरण गरिने उनको भनाइ छ।
नगरप्रमुख थापाले नगरपालिकाभित्र रहेका भूमिसम्बन्धी सबै समस्या चरणबद्ध रूपमा समाधान गर्ने उल्लेख गर्दै बाँकी लाभग्राहीको नापजाँच, अभिलेखीकरण तथा लालपुर्जा वितरण प्रक्रिया तीव्र गतिमा अघि बढाइएको जानकारी दिए। लालपुर्जा प्राप्त गरेपछि लाभग्राहीले आफ्नो जग्गामाथि पूर्ण कानुनी स्वामित्व कायम गर्न, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन, कृषि तथा व्यवसायमा लगानी गर्न, अंशबन्डा, नामसारी तथा सम्पत्ति हस्तान्तरण गर्न सक्नेछन्।